हेटौंडामा पनि हैजा



हेटौंडा ।

संघीय राजधानी काठमाडौंपछि वागमती प्रदेशको राजधानी हेटौंडामा पनि हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हेटौंडाका एक व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले हैजा परीक्षणका लागि पठाइएका २ नमुनामध्ये एकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ‘दुईमध्ये एक नमुनामा हैजा पुष्टि भएको बुझिएको छ,’ उहाँले भन्नुभयो – आधिकारिकरूपमा कुन व्यक्तिलाई लागेको हो, पुष्टि भएको छैन, हामी बुझ्दैछौं ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हेटौंडा उपमहानगरपालिका र चाँगुनारायण नगरपालिकाका १–१ जनामा हैजा संक्रमण देखिएको बताउनुभएको छ । उहाँका अनुसार हेटौंडाका संक्रमितको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र दुवाकोटका संक्रमितको टेकु अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको उहाँले बताउनुभयो ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाका बिरामी भेटिएका छन् । पिउने पानीबाट हैजाको प्रकोप फैलिएका कारण जनमानसले पिउने पानी उमालेर मात्र पिउनका लागि जनस्वास्थ्य विज्ञलगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको छ । हेटौंडामा हैजाका बिरामी भेटिएको खबरपछि हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले हेटौंडा अस्पतालमा हैजा रोग परीक्षण नगरिएको बताउनुभयो । उहाँले अन्यत्र बसोबास गर्ने हेटौंडाका मानिसमा भएको हुनसक्ने बताउनुभयो ।

हैजा गम्भीर खालको झाडापखाला हो । समयमा उपचार गरिएन भने बिरामीको केही घण्टामै ज्यानैसमेत जान सक्छ । भिब्रिओ कालेरा नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । खानपान र सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकामा मात्र देखिएको हैजा संक्रमण हेटौंडामा पनि देखिएको हो । यसअघि काठमाडौं उपत्यकाका बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजा संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्