सरकारी अस्पतालमा अग्रिम हाजिरी निजीमा डिउटी गर्छन् वरिष्ठ डाक्टर



बाँके ।

भेरी अस्पताल, नेपालगञ्जमा वरिष्ठ डाक्टरले अग्रिम हाजिरी गर्ने गरेको खुलासा भएको छ । सरकारी अस्पतालमा जागिर खाने वरिष्ठ डाक्टरले ‘डिउटी’ भने आफ्नो निजी अस्पताल वा क्लिनिकमा गर्ने गरेका हुन् । आफ्नो निजी अस्पताल वा क्लिनिकबाट फुर्सद मिलाएर सरकारी अस्पतालमा आउने डाक्टरले अग्रिम हाजिरी गर्ने गरेको फेला परेको छ ।

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले असार २० गते अस्पताल आएर असार २९ गतेसम्मको अग्रिम हाजिरी गरेका छन् ।
आफ्नै अस्पतालमा समय दिने डा. नागले भेरीमा राम्ररी डिउटी नगर्ने कुरा धेरै पहिलादेखि नै उठेको थियो । वरिष्ठ डाक्टरलाई भेरीमा हप्तामा दुई दिन मात्रै पालो पर्ने गर्दछ । त्यही डिउटीमा पनि डा. नागले लापरबाही गर्ने गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । समितिले डा. नागलाई राम्ररी डिउटी नगरेको भन्दै २०७८ साउन २२ गते कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा लेखी पठाएको थियो । स्वास्थ्य मन्त्रालयले त्यसको सुनुवाइ नै गरेन ।

असार २० गते फेरि २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखी पठाएको छ । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ ।भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रूपमा रहेको छ । यहाँका सबैजसो वरिष्ठ डाक्टरको कि त अस्पताल छ, अस्पताल नभएकाहरू क्लिनिकमा डिउटी गर्ने गर्दछन् । भेरी अस्पतालको डिउटी समयमा पनि प्रायः बसेको पाइँदैन ।अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालको विकृतिलाई सुधार्नतिर लागेको बताउनुभयो ।
अस्पतालभित्र बिचौलियाको बिगबिगी नै रहेको छ ।

डाक्टरले औषधी वा ल्याब टेस्टका लागि लेखेको पर्चीलाई बिरामीको हातबाट तानेर बिचौलियाले आफ्नो अनुकूलको क्लिनिक वा ल्याबमा पठाउने गर्दछन् । कोठाबाट डाक्टरले पनि आफू अनुकूलको क्लिनिकको नाम लेखेर पठाउने गर्दछन् । केही दिनअघि अस्पताल प्रशासनको अनुरोधमा प्रहरीले पाँच जना बिचौलियालाई पक्राउ गरेको थियो । अस्पतालमा चोरीको अवस्था त्यस्तै छ । अस्पतालभित्रबाटै मोटरसाइकल चोरी हुने गरेका छन् । बिरामी वा कुरुवाका मोबाइल र झोला त आँखा झिमिक्क गर्नेबित्तिकै गायब हुने अवस्था रहेको छ ।

सेवा विस्तार गर्दै गएको भेरीमा रहेको विकृतिलाई सुधार्न माथिबाट पनि पहल भएको पाइएको छैन । अस्पताल विकास समितिले हिम्मत गरेर डिउटीमा नआउने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्दा माथिबाट नै सुनुवाइ हुने गरेको छैन । अहिले फेरि अग्रिम हाजिरीको विषयलाई जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालयमा कारबाहीका लागि पठाइएको छ । यसको सुनुवाइ हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी रहेको छ । काम गर्ने डाक्टरलाई पालेर राख्नु कदापि राम्रो होइन । तलब खाएपछि काम गर्नुपर्छ । सिनियरको नाममा घमण्ड गर्नेलाई कारबाही गर्नुपर्दछ । भेरीमा अरू डाक्टरले पनि अग्रिम हाजिरी गर्ने गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्