काठमाडौं सोधेर प्लेन चढ्न एअरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य



डोटी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त भएको बताउनुभएको छ ।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्नु हुँदै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरूले प्लेन आउने नआउने विषयमा काठमाडौंबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त भएको बताउनुभयो ।उहाँले भन्नुभयो– ‘जहाज सञ्चालन कम्पनीले जहाँबाट बेस लिएको छ, यहीँबाट पहिलो उडान भर्नुपर्ने नियम लागु गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुने छ, जहाज आउने नआउनेबारे काठमाडौंमा सोध्नुपर्ने छैन ।

आज असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीले आफ्नो पहिलो उडान भर्नुपर्ने निर्णय लागु भएको जानकारी गराउनु हुँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताउनुभयो ।उहाँले भन्नुभयो– ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि समस्या थियो, जहाज टाँसिएर पार्किङ हुँदा ठोकिएको खण्डमा ठूलो र्दुघटना हुन सक्ने भएकाले जहाज सञ्चालक कम्पनीले बेस लिएका ठाउँबाट पहिलो उडान भर्न र नाइट स्टपका लागि पनि त्यहीँ जान हामीले निर्णय गरेका छौँ, अब गेटा विमानस्थलमा पनि नाइट स्टपका लागि जहाज पार्किङ हुने छन् ।

मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको जानकारी गराउनुभयो ।ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्नसमेत निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।सुदूरपश्चिममा पर्यटन प्रवद्र्धन तथा यहाँको विकासका लागि भए पनि गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन जरुरी भएको समेत मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन र प्रचार प्रसारका लागि भए पनि यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन जरुरी छ, ।क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको होे । गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने २५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि शुरू भएको छ ।

मन्त्री आलेकै पहलमा यसवर्ष पनि उक्त विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि १ अर्ब पाँच लाख बजेट विनियोजन भएको गेटा विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्