खोटाङमा आँखा रोगको भयावह अवस्था



खोटाङ ।

खोटाङमा आँखासम्बन्धी समस्याको भयावह अवस्था सिर्जना भएको छ । बालबालिका, घरेलु तथा मझौला उद्योगमा काम गर्ने श्रमिक, सञ्चारकर्मीलगायतमा आँखासम्बन्धी बढी समस्या देखिएको हो ।

पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभर १ हजार ५ सय ४२ जना दृष्टिविहीन रहेको नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसँजुले बताउनुभयो । हाल २ हजार ६ सय २२ जनामा मोतिविन्दुको समस्या भई अप्रेसन गर्नुपर्ने र ५ हजार ३ सय ८१ जनाले तत्काल चस्मा लगाउनुपर्ने अवस्था रहेको अध्यक्ष कसँजुको भनाइ छ । जिल्लाबाट चस्माका लागि रिफर गरिएको संख्या मात्र २७ हजार रहेको उहाँले सुनाउनुभयो ।

२०७१ सालमा खोटाङ समाज हङकङको सहयोगमा निर्माण भई सञ्चालनमा आएको दिक्तेल आँखा उपचार केन्द्रमा हाल दैनिक २० देखि ३० जना आँखाका रोगी उपचार तथा परामर्शका लागि पुग्ने गरेका छन् । समस्या हुनेहरुमा आँखा चिलाउने, रातो हुने, दुख्ने, पोल्नेदेखि दृश्य नै गुमिरहेकाहरु हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । उपचार केन्द्रमा विशेष गरी न्यून दृष्टि भएर पावर चस्मा लगाउनुपर्ने अवस्थाका बढी आउने गरेको जनाइएको छ ।

कम्प्युटर तथा मोबाइलका कारण बढी बच्चाहरुमा आँखाको समस्या हुने गरेको पाइएको छ । मोबाइलमा गेम खेल्ने तथा मनोरञ्जनात्मक सामग्रीहरु हेर्न रुचाउने कारण ८ देखि १० बर्ष उमेर समूहका बालबालिकामा आँखाको समस्या बढ्दै गएको उपचार केन्द्रले उल्लेख गरेको छ ।

यस्तै, कुनै बस्तुमा केन्द्रित भई काम गर्नुपर्ने भएकाले घरेलु तथा साना उद्योगका श्रमिक, कारागारमा रही सीपयुक्त काम गर्ने कैदीबन्दीलगायतमा पनि आँखाको समस्या बढी पाइने गरेको छ । कम्प्युटर तथा मोबाइलमा अधिकांश समय काम गर्नुपर्ने भएकाले जिल्लाका अधिकांश सञ्चारकर्मीहरुमा पनि आँखाको समस्या बढेको पाइएको छ ।ग्रामीण भेगका नागरिकमा पनि अधिकांश आँखाको समस्या भए पनि जाँच गराउन चासो नदिनाले आँखाको बिरामी अझै बढी रहेकोे नेत्रज्योति संघ खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्