हुम्लामा आँखा शिविरसँगै नाम्खामा आँखा उपचार केन्द्र स्थापना



काठमाडौं ।

तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्यालको प्राविधिक टोलीबाट हुम्ला सिमीकोटमा,याल्बाङ, नाम्खामा चारदिने आँखा शिविरमा ८ सय ५२ जनाको आँखा परिक्षण गरेको छ ।

आँखा शिविरमा तिब्बत चीन सिमाना यारी, लीमी भ्याल्ली देखी स्याडा, सर्केघाट गाँउहरु सम्मका स्थानियवासीले सेवा लिएका थिए । सो शिविरमा सेवा लिएका मध्ये ७२ वर्षिय यारी निवासी खेम्चोक लामा विगत ५ वर्ष देखी अन्धकारमय जिवन जिउदै आएकोमा शल्यक्रिया पछि पुनः दृष्टि प्राप्त गरि नयाँ संसार देखाउँने चिकित्सकलाई मुक्त कण्ठले स्यावासी दिँदै फर्किनुभएको प्रतिष्ठानले जनाएको छ ।

आँखा शिविरमा लामा सहित १ सय ७ जनामा मोतिविन्दु र अन्य ४ जनामा आँखाको शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको तिलगंगा प्रतिष्ठानले जनाएको छ । शिविरमा उपस्थित भएका मध्ये सिमिकोटका ४८ र नाम्खाका ६३ जनाको शल्यक्रिया सहितको आँखा शिविर सम्पन्न भएको प्रतिष्ठानले जनाएकोछ ।

सिमीकोट शिविरको लागि स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल सिमीकोट, नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालबाट संचालित आँखा उपचार केन्द्र हुम्ला र नेपाल रेड्क्रस सोसाइटीको विशेष सहयोग रहेको थियो भने उक्त शिविरमा प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित कार्यालय प्रमुखहरुद्धारा निरीक्षण समेत भएको थियो ।

च्यसैगरी याल्बाङ, नाम्खामा नाम्खा गाउँ पालिकाको आयोजनामा आँखा शिविर सम्पन्न भएको थियो । शिविर संचालन अगावै नाम्खा गाँउ पालिकाका नेत्र सहायक र कार्यालय सहायकबाट १७ दिन पालिकाको विभिन्न गाउँहरुमा पुगी मोतिविन्दुका बिरामी छनौट शिविर संचालन गरिएको थियो ।

छनौट भएका मोतिविन्दुका बिरामीहरु शिविरमा ल्याउने र लाने काम नाम्खा गाँउ पालिकाले गरेको थियो भने आवश्यक परेका बिरामीको खाना र बस्न स्थानीय विद्यालय सहयोगी संस्था हिमालयन चिल्ड्रेन सोसाइटीले आवश्यक सहयोग गरेको थियो । उक्त शिविरहरुको लागि सेवा फाउन्डेसन नेपालबाट पनि सहयोग प्राप्त थियो ।

नाम्खामा आँखा उपचार केन्द्र
नाम्खा गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको सहकार्य र सेवा फाउन्डेसनको सहयोगमा याल्बाङ, नाम्खा गाउँपलिकामा जेष्ठ २९, २०७९ देखि आँखा उपचार केन्द्र स्थापना भएको छ ।

आँखा शिविरसंगसंगै नाम्खा आँखा उपचार केन्द्र समुद्घाटन भएको छ । शिविरबाट पुनः दृष्टि प्राप्त गरेको सेवाग्राही खेमजोक लामा, तिलगंगा आँखा प्रतिष्ठानको नेत्र विशेषज्ञ प्रा. डा. गोविन्द पौड्याल, नाम्खा गाउँ पालिकाको प्रमुख कार्यकारी अधिकृत धर्मराज न्यौपाने र सम्बन्धित् वडा अध्यक्ष लाटर लामाबाट संयुक्त रुपमा आँखा केन्द्रको उद्घघाटन भएको थियो । यस आँखा केन्द्रले सो क्षत्रको जनतालाई निरन्तर सेवा प्रदान गर्नेछ तिलगंगाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो आँखा केन्द्र तिलगंगा आँखा प्रतिष्ठान र सेवा फाउन्डेसन को सहयोगमा संचालित सवैभन्दा दुर्गम क्षेत्रमा रहेको आँखा उपचार केन्द्र हो भने नाम्खा गाउँपलिका एकीकृत स्वास्थ्यसेवा प्रणालीको आँखा सेवा संचालन गर्ने हुम्ला जिल्लाको पहिलो गाउँपलिका भएको पति विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्