मुगुमा बिरामीको संख्या बढ्न थालेपछि औषधोपचारमा समस्या

अस्पताल व्यवस्थापन समितिविहीन



मुगु ।   

मुगु जिल्ला अस्पतालमा हिजोआज बिरामीको संख्या बढ्न थालेपछि औषधोपचारमा समस्या देखिएको छ । झाडापखाला, पेट दुख्ने‚ ज्वरो आउने, श्वासप्रश्वासलगायत रोगका बिरामीले अस्पताल शय्या भरिएका छन् । दैनिक ६० देखि ७० जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

गर्मीका कारण मौसमी रोगका बिरामीको संख्या हिजोआज वृद्धि भएको उनले बताए । उपचार गर्न आउने बिरामीलाई औषधिको कमी र चिकित्सकको समस्या हुन नदिइएको उनको भनाइ छ ।

जिल्ला अस्पतालमा ज्वरो‚ झाडापखालाजस्ता रोगका बिरामी बालबालिकाको संख्या पनि उत्तिकै छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा अपरेसन गर्नु पर्ने र जटिल प्रकृतिका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला‚ प्रदेश अस्पताल सुर्खेत, नेपालगञ्ज भेरी अस्पताल रिफर गर्ने गरिएको छ ।७० प्रकारको अैाषधि नि:शुल्क जिल्ला अस्पतालमा पाईने भनेपनि धेरै ईमेरजेन्सि अैषधिको समेत अभाव रहेको छ।

जिल्लाको एक मात्र १५ शय्याको अस्पताल डेढ वर्षदेखि अस्पताल व्यवस्थापन समितिविहीन अवस्थामा छ । समितिको पदावधि सकिएको डेढ वर्षसम्म पदाधिकारी चयन नहुँदा अस्पताल प्रशासन सञ्चालन गर्न मुस्किल भएको छ । जिल्ला अस्पताल बयब्थापन बिहिन हुँदा अैाषधि लगायत बिरामिलाई उपचारको समेत अभाव भएको सोरुगाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही बताउँछन् ।

कर्णाली प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले समितिको अध्यक्ष सिफारिस गर्नुपर्ने नियम भएपनि डेढ वर्षसम्म मन्त्रालयले वास्ता नगर्दा जिल्ला अस्पातल व्यवस्थापन समितिविहीन बनेको हो । डेढ वर्षदेखि समितिको कार्यालयमा ताला लगाइएको छ ।

डेढ वर्षसम्म अस्पताल व्यवस्थापन समितिविहीन हुँदा कामकाज प्रभावित भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमेश गौतमले बताए । प्रदेश मन्त्रालयले पनि समिति गठनमा ध्यान नदिएको उनले जनाए ।

 

 

प्रतिक्रिया दिनुहोस्