बिमा बापतको रकम पाउनै हम्मे



हेटौंडा ।

हेटाैंडा सामुदायिक आँखा अस्पताललाई स्वास्थ्य बिमा बोर्डले समयमै स्वास्थ्य बिमाबापत् भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउन ढिला गरेको मात्र होइन, रकम उठाउनै सास्ती भएको गुनासो गरिएको छ ।

स्वास्थ्य बिमा बोर्डमार्फत् अस्पतालले करिब ३ करोड भुक्तानी पाउन बाँकी छ । अस्पतालले नगद खर्च गरेर स्वास्थ्य बिमाका बिरामीको उपचार गराइरहँदा बिमामार्फत् आउने रकम समयमै आउन नसक्दा अस्पताल सञ्चालनमा समस्या रहेको अस्पतालका प्रशासकले गुनासो गरेका छन् ।
स्वास्थ्य बिमा बोर्डबाट रकम निकासा गर्नु निकै झन्झटिलो बनेको बताउँदै अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले सरकारलाई प्रक्रिया सहज हुने गरी लागु गर्न सुझाउनुभएको छ ।

नेपाल आँखा कार्यक्रमअन्तर्गत सञ्चालित हेटौंडा सामुदायिक आँखा अस्पतालमा दैनिक ३ सय बिरामीको उपचार भइरहेको छ । अस्पतालमा स्वास्थ्य बिमामार्फत् दैनिक करिब १ सय ५० जनाले उपचार गराइरहेका छन् ।लामो समयसम्म बिमाबाट भुक्तानी नभएपछि हेटाैंडा सामुदायिक आँखा अस्पताल सञ्चालनमा आर्थिक भार थपिएको अस्पतालका प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । स्वास्थ्य बिमा बोर्डले किस्तामा रकम पठाउने प्रक्रियाले अस्पताल सञ्चालनमा अप्ठेरो परेको उहाँको अनुभव छ ।

‘कागजपत्र प्रोसेसको समस्या, समयमै सफट्वेयर नचल्ने समस्या, किस्तामा रकम भुक्तानी गर्ने प्रक्रियाले स्वास्थ्य बिमा लागु भएका अस्पताललाई समस्यामा पारेको छ,’ उहाँले स्वास्थ्य बिमाले बिरामीको चाप बढे पनि बिमाका ५ बिरामी जाँच गर्दा बिमा नभएका १० बिरामी जाँच गर्न सकिने बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य बिमा झन्झटिलो हुँदै गएको र यसलाई सरकारले सरल र सहज बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्