नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो



एजेन्सी ।

सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी मुलुक नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

मङ्कीपक्सबारे सार्वजनिक पछिल्लो विवरणमा नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी)ले भनेको छ, “नाइजेरियामा जनवरीदेखि ११० जनामा मङ्कीपक्सका शङ्कास्पद विरामी भेटिएको र कूल १२ राज्यमा यो अवधिमा ३१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

उक्त रिपोर्टअनुसार नाइजेरियामा मङ्कीपक्स प्रकोपको खतरा धेरै भएको कारण मे महिनादेखि राष्ट्रिय आकस्मिक परिचालन केन्द्रलाई सक्रिय बनाइएको छ ।

मङ्कीपक्सका लक्षणहरूमा अचानक ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, घाँटी र बङ्गारामुनि ग्रन्थी बढ्ने त्यसपछि अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्ताङ्ग र शरीरको अन्य भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पीप जम्ने समस्या देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभरका विभिन्न देशहरूमा अचानक मङ्कीपक्स देखा पर्दा यो भाइरस पश्चिम र मध्य अफ्रिकी देशहरूभन्दा बाहिर केही समयदेखि फैलिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्