निसास्सिएको बच्चालाई ‘कुलिङ्ग थेरापी’

नेपालमै पहिलो पटक धुलिखेल अस्पतालले शुरु गरेको उक्त प्रविधिबाट तीन वर्षमा सय बच्चाको उपचार



काभ्रे ।

नेपालमा पहिलो पटक तीन वर्ष अघि धुलिखेल अस्पतालमा शुरु भएको जन्मँदै श्वास नफेर्ने बच्चा (निसास्सिएको) लाई ‘कुलिङ्ग थेरापी’ प्रभावकारी बनेको छ । धुलिखेल अस्पताल पछि एक महिना अघि शिक्षण अस्पताल महाराजगञ्जले पनि सोही प्रविधीबाट निसास्सिएको बच्चाको उपचार शुरु गरेको छ ।

‘जन्मदा श्वास फेर्न नसकेको बच्चा काम्ने, लुलो हुने, सुस्त मनस्थितीको हुने, पढ्न र बुझ्नमा समस्या हुने, छारे रोगको समस्या लगायतका असरहरु देखिन्थ्यो’– धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ प्रोफेसर डा. श्रृजना डंगोलले भन्नुभयो–‘२०१२ मा अमेरिकाको अध्ययन पश्चात धुलिखेल अस्पतालमा तीन वर्ष अघि शुरु गरिएको कुलिङ्ग थेरापीले उक्त समस्या हुने बच्चाहरुको सहज उपचार शुरु भएको छ ।

त्यसरी उपचार गरिएका बच्चाहरुको नियमित परिक्षणका क्रममा त्यस्ता समस्या देखिएका छैनन ।’ मेशिनबाट गरिने उक्त उपचारबाट ९५ प्रतिशत बच्चाहरुमा सफल भएको छ । केही केही बच्चाहरुको शरिरको अवस्था अनुसार बीचमै त्यो उपचार प्रणाली हटाईएको डा. प्रधानले बताउनु भयो । बच्चा जन्मेको ६ घण्टा भित्र उक्त प्रविधिमा जोडन सकियो भने मात्रै कुलिङ्ग थेरापी उपयुक्त हुन्छ ।

डा.श्रृजना डंगोल कुलिङ्ग थेरापीका बारेमा जानकारी गराउँदै

बच्चा जन्मदा श्वास नफेरेको अवस्थालाई बच्चा निसास्सिएको भनिन्छ । कुनै कुनै बच्चा आमाको पेट भित्र नै निसास्सिने गरेका छन् । अधिकांश बच्चा जन्मँदा निसास्सिने गरेका छन् । यस्तो अवस्थामा पुरानै शैलीले पम्प अथार्त अरु बैकल्पिक विधीबाट बच्चालाई श्वास फेर्न सहज बनाउने गरिएको थियो । त्यसो गर्दा बच्चाहरु लुलो हुने, काम्ने, छारे रोग लाग्ने, बुझाई र सुनाईमा कम हुने, सुस्त मनस्थितिका हुने लगायतका असरहरु देखिन्थे ।

बच्चा जन्मने वितिक्कै श्वास फेर्नु पर्छ । पहिलो रुवाईमा फोक्सो फुल्छ । फुलेको फोक्सोमा अक्सिजन पुगेसँगै शरिरका सबै अगंहरुमा अक्सिजन सहितको रगत फैलन्छ र सबै अंगहरु सक्रिय हुन पुग्छन् । बच्चाले श्वास फेर्ने ढिला ग¥यो भने शरिरका अंगहरु निश्क्रिय हुन गई समस्या देखिन पुग्छ ।

‘बच्चालाई आमाको पेटमा हुँदा अक्सिजन आवश्यक हुँदैन’–बाल रोग विशेषज्ञ प्रा.डा.श्रृजना डंगोलले भन्नुभयो–‘जन्मदा धेरै समय लागेको बच्चा वा कुनै कुनै बच्चा आमाको पेट भित्रै निसास्सिन सक्छ । त्यसो हुँदा बच्चाका विभिन्न अंगमा असर पु-याउँछ ।’ त्यहि असर पर्न नदिन धुलिखेल अस्पतालले तीन वर्ष देखि शुरु गरेको कुलिङ्ग थेरापी शुरु गरेको डा. डंगोलले बताउनु भयो ।

के हो कुलिङ्ग थेरापी ?

डा. श्रृजना डंगोलले २०१२ मा अमेरिकामा अध्ययन गरेर फर्केसँगै यो प्रविधिबाट बालबालिकाहरुको उपचार गर्ने योजना बनाउनु भएको थियो । अमेरिका लगायतका विकसित देशमा यो विधिबाट बालबालिकाहरुको उपचार हुँदै आएको छ । महङ्गो मेशिन र त्यसका लागि आवश्यक पर्ने पुर्वाधार लगायतका कारण धुलिखेल अस्पतालमा तत्काल सम्भव भएन । २० लाख रुपैया पर्ने मेशिन लगायतका केही प्राविधिक ब्यवस्थापन पछि अस्पतालले तीन वर्ष अघि उक्त प्रविधिबाट उपचार शुरु गरेको थियो ।

यो प्रविधि अनुसार बच्चा निसास्सिएको जन्मेको अवस्थामा तत्कालै मेशिनको माध्यमबाट थेरापीमा राखिन्छ । कुलिङ्ग थेरापी भनेको बच्चालाई ७२ घण्टासम्म चिसो बनाएर राख्ने उपचार प्रणाली हो । मेशिनले ब्लाङ्गकेटलाई चिसो बनाउँछ । त्यहि ब्लाङ्गकेटमा बच्चालाई राखिन्छ । ३२ देखि ३४ डिग्री चिसोमा बच्चालाई ७२ घण्टा राखेसँगै उक्त समस्या निको हुन्छ । मेशिनको माध्यमबाट तापक्रम अटोमेटिक मिलाउने हुँदा कुनै न कुनै बच्चालाई अक्सिजनको मात्रा नपुगेको अवस्थामा मुटुको धडकन कम भएमा, सेतो रगत कम हुन गएमा त्यो प्रविधिको उपचार प्रणालीबाट हटाईन्छ ।

‘१ सय जनामा ५ जनालाई यस्तो समस्या देखिएको छ’–डा. डगोलले भन्नुभयो–‘अधिकांश बच्चाहरुलाई राम्रो भएको छ । अहिले पनि हामी एक सय जना बालबालिकाहरुसँग नियमित सम्पर्कमा छौं, यो विधिका कारण उनीहरुमा  कुनै समस्या देखिएको छैन।’

धुलिखेल अस्पतालले शुरु गरेको तीन वर्ष पछि यो प्रविधि शिक्षण अस्पतालमा शुरु भएको छ । नेपाल सरकारले यो सेवालाई विमामा समावेश गरेको छ । विमामा नभएकाहरुका लागि पनि महङ्गो नभएको डा. डंगोलले बताउनु भयो । बच्चा जन्मेको ६ घण्टा भित्र अस्पताल ल्याई पु¥याउन सम्भव भयो भने बच्चाहरुमा हुने समस्या निराकारण गर्न सकिने उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्