वृषोत्सर्ग : एक असहज संस्कृति



सन् १९६२तिरको कुरा हो । केही साथीहरुका साथ म बनारसको एउटा संस्कृत महाविद्यालयमा पढ्थेँ । विद्यालयमा पाका गुरुहरु हुनुहुन्थ्यो ।एकदिन एकजना गुरुले एउटा घटना–कथा सुनाउनुभयो । कथा यस्तो थियो– सन् १९३६।०३७तिरको घटना हो । त्यसताका नेपालमा राणाहरुको शासन थियो ।

नेपालीहरु धार्मिक रुढिमा बढी नै विश्वास गर्थे । काशीमा मर्दा मुक्त भइन्छ भन्ने मान्यता नेपालीहरुमा व्यापकजस्तै थियो । धेरै बूढाबूढीहरु काशीवास आउँथे । कति तन्नेरी बालविधवाहरु पनि आउँथे । बूढापाका पण्डितहरु पनि मृत्युको प्रतीक्षामा काशी बस्न आउँथे । काशी नगरी बूढाबूढी र विधवानारीहरुले भरिएजस्तो देखिन्थ्यो ।यसै त काशी विद्याको केन्द्र मानिन्थ्यो ।

मन्दिरहरुको शहर मानिन्थ्यो । विद्यार्थी र गुरुहरुको काशीमा कमी हुन्थेन । किसिम–किसिमका भक्तहरु र जोगी–संन्यासीहरुको अखडा नै थियो काशी । काशी जसकसैका लागि पनि बाँच्न र दिन बिताउन सजिलो ठाउँ थियो । दानदातव्य र सदावर्त काशीको संस्कृति नै थियो । जस्तै अकिञ्चन पनि यहाँ जसोतसो सास टिकाएर बाँच्न सक्थ्यो ।

यसैबीच काशीवासी दुई नेपाली विधवा महिलाहरुले बेग्लाबेग्लै यज्ञमण्डप रचाएर रामघाटमा एकैदिन दुई जीवन वृषोत्सर्गको आयोजना गरे । पुरेत पण्डित प्रायः नेपालबाटै आएका थिए । विधिपूर्वक जीवितवृषोत्सर्गका विधिहरु सम्पन्न गराइयो । दुईवटा लायकका बहर गोरुहरु यज्ञमण्डपमा ल्याइएका थिए । तिनलाई विधिपूर्वक पूजा गरी डामेर सडक–गल्लीमा विचरण गर्न छाडा छोडियो ।

वृषोत्सर्ग सकेर महिलाहरुका नेपाली नातेदारहरु र पुरेतपण्डितहरु नेपाल फर्किए । दिनहरु बित्दै गए । वर्षहरु बित्दै गए । काशी नगरी पूजा, पाठ, अध्ययन, अध्यापन, भोजनदानक्षेत्र, विद्यालय, छात्रावास, दानदातव्य, धर्मशाला रसदावर्तको सधैँजस्तै आफ्नो लयमा व्यस्त रहँदै गयो । दशाश्वमेधघाट,विश्वनाथगल्ली, ज्ञानवापी चौकबजार,कचौडीगल्ली,ठठेरीबजार सबै आ–आफ्ना लयमा लहरिँदै थिए । जनवरीको महिना थियो । त्यसदिन आकाश केही खुलेजस्तो थियो । ने

पालबाट कोही परिचित आएको छ कि, भेटिन्छ कि जस्तो लागेर मनको नियास्रो मेटाउन ती दुई विधवा महिलाहरु दूधविनायकबाट भैरोनाथ गल्लीतिर लागे । गल्लीको एउटा साँगुरो मोडमा पुगेका थिए । अगाडि एउटा अजङ्गको साँढे आइरहेको देखयो । पछाडितिर भाग्न ती महिला मोडिएका मात्रथिए, पछाडिबाट पनि त्यस्तै अजङ्गको साँढे त्यतै आइरहेको देखियो । कता भाग्ने ? कसरी भाग्ने? अत्यासको अवस्था बन्यो । गल्लीका दुवैतिर घर थिए । कुनै घरको ढोका खुल्ला थिएन । उक्लेर जोगिने ठाउँ पनि कतै थिएन । साँढेले साँढेदेखेपछि युद्धको गर्जन आदानप्रदान हुनु स्वाभाविकै थियो ।

आखिर ती दुई महिलाहरु भाग्न, जोगिन खोज्दाखोज्दै क्रुद्ध साँढेहरुको युद्धमा होमिन पुगे । गल्लीमा रक्तमुछेलरुपमा ती दुई महिलाले जिन्दगी बिसाए । तिनीहरुको आर्तनाद सुनेर तिनीहरुलाई बचाउन प्रयास गर्ने कोही भएन ।गल्लीका दुईतिरका घरका झ्यालहरुबाट कतिपय महिलाले यो हाहाकारमय घटना प्रत्यक्ष देखेका थिए । बचाओ भनेर कराएका पनि थिए ।तिनीहरुको आवाज पनि सुनसान गल्लीमा कता हरायो कता ।

साँढेहरुको आपसी युद्धबाट ती काशीवासी बिचरा महिलाहरुलाई बचाउन कोही अघि सरेन ।पछि थाहा भयो, ती दुवै साँढे वर्षौँअघि तिनै दुई महिलाले जीवित वृषोत्सर्गका क्रममा छाडेका साँढे नै थिए । आफैँले छाडेका साँढेहरुबाट तिनीहरुको देहान्त भएको थियो । काशीका कतिले भने ती विधवा महिलाहरु मुक्त भए । काशीको मरण, त्यो पनि विश्वनाथ बाबाका वाहन साँढेबाट । यो त गजबको संयोग हो भन्नेहरु पनि सुनिए । कतिले यसमा टिम्पणी गर्न चाहेनन् । त्यति बेलाका नेपालीहरुमा समष्टिमा यसको के–कस्तो असर प¥यो, यतातिर त्यसको चर्चा सुनिएन । काशीवासीहरुका लागि यो एउटा बिर्सिनसक्नुको घटना बन्यो । नेपाली विद्यार्थी भेटेपछि काशीका बूढापाकाहरु आज पनि यस घटनाको बखान गर्न अघिसर्छन् ।

हामी अध्यापकहरुमा पनि यो प्रवृत्ति छ ।यति भनेपछि त्यति बेला ती पाका गुरुले विश्राम लिनुभएको थियो । अहिले म वर्षौँअघि काशीमा सुनेको ती उन्मत्त साँढेका अत्याचारका घटना कथा सम्झँदैछु ।मलाई लाग्छ, कुनै कालखण्डमा प्रचलित जीवित वृषोत्सर्गको त्यस धर्म–संस्कृतिले नेपालमा आज निर्वाचनको अवतार लिएको छ ।विगतको काशीको साँढे संस्कृति नाम बदलेर आज नेपाल पसेको छ । मतदाताका रुपमा आज नेपाली जनता एक–एक साँढेका नामनिशानामा छाप ठोक्दै निर्वाचन नामक कर्मकाण्डका माध्यमबाट जीवित वृषोत्सर्ग गरिरहेकाछन् । साँढेबाट चेपिनकै लागि साँढे छोडिरहेका छन् ।

नेपालका रैथाने सनातन,बौद्ध र बोनमध्येको एउटा सनातन धर्ममाप्रचलित एउटा रैथाने संस्कृति नै हो जीवित वृषोत्सर्ग । यसलाई आपैmँले आफ्नो किरिया गरेको पनि भन्ने चलन छ । हाम्रो मुलुक नेपालमा आजको निर्वाचनको विम्ब रैथाने धर्म–संस्कृतिमा खोज्नुपर्दा सबैभन्दा मिल्दोजुल्दो विम्ब प्रचलित धार्मिक कर्मकाण्ड जीवित वृषोत्सर्ग नै अगाडि आइपुग्छ ।सनातन धर्म परम्परामा छोरा नभएका बूढाबूढीले र बालकैमा विधवा भएकी महिलाले गच्छेले भ्याए÷पाएसम्म परिबन्धमिलाएर जीवित वृषोत्सर्ग गर्थे । जसरी पनि स्वर्ग त जानै प¥यो । किरिया नभए स्वर्ग कसरी जाने ? मानिसहरु स्वर्ग जानुपर्ने बाध्यतावश वृषोत्सर्ग गर्थे ।

वृषोत्सर्गको कर्मकाण्ड परिचालनका लागि आचार्य र तिनका सहयोगी ब्राह्मण पुरेतहरु चाहिन्थे । विधिविधानले कर्मकाण्ड गर्ने र वृषोत्सर्ग गर्ने काम तिनै ब्राह्मण पुरेतहरुद्वारा हुन्थ्यो । संस्कृतभाषामा वृष शब्दको अर्थ गोरु हो । उत्सर्गको अर्थ त्याग गर्नु हो । यसरी वृषोत्सर्गको नेपाली अभिप्राय साँढे छोड्नु हो । साँढेको तात्पर्य छाडा गोरु हो । वृषोत्सर्गमा डामेर छोडेको साँढे यत्रतत्र सर्वत्र स्वच्छन्द विचरण गर्न पाउँथ्यो । त्यति बेलाको धर्म–संस्कृतिले भन्थ्यो– साँढेलाई छेकथुन गर्न हुँदैन । धपाउन हुँदैन । किसानको बालीमा पसे पनि, सडकमा ढसमस्स बसे पनि साँढे सम्मानित थियो । सडकमा अलमस्त हिँड्न पाउँथ्यो । गाईको पछि लागेर बटुवाहरुलाई भागाभाग बनाउन पाउँथ्यो । तरकारी बारीमा पसेर बिमाख बनाइदिन पाउँथ्यो ।

बजारमा पसेर तरकारी र अनाजका बोरामा मुख गाड्न र खान पाउँथ्यो ।साँढेलाई शिवको वाहन भनिन्थ्यो । पिट्नु, लघार्नु वर्जित थियो । सडक गाईका पछि साँढेहरु दगुरेर सडक–गल्लीलाई त्राहिमाम बनाइदिन सक्थे । यो हाम्रो काठमाडौं उपत्यकाले पनि वर्षौँसम्म भोगेको संस्कृति थियोे । महाकवि लक्ष्मीप्रसाद देवकोटा र कवि भीमनिधि तिवारीले तत्कालीन नेपाली साँढेका महिमा र चमत्कारी लीलासम्बन्धमा सटिक रुपमा लेख्नुभएको आज पनिहामी पढ्न पाउँछौँ ।

साँढेहरु भीमकाय हुन्थे । रिसाउन जान्दथे । आक्रमण गर्न पनि जान्दथे । भारतको वाराणसीमा त साँढेलाई विभीषिकाका रुपमा चित्रण गरिन्थ्यो । काशीका बूढापाकाहरुले नयाँ पुस्तालाई शिक्षा दिन एउटा नीतिपद्य नै बनाएका थिए ।

‘राँड साँढ भाँड सिँढी संन्यासी,
इनसे बचे तो सेवे काशी ।’

अर्थात् ‘बालविधवाहरु, साँढेहरु, अश्लील नृत्यमण्डलीहरु, गङ््गाकिनारका सिँढीहरु र चेला खोजिहिँड्ने संन्यासीहरु काशीका पाँच प्रमुखखतराहरु हुन् । काशीबाट धर्म–संस्कृति, विद्याज्ञानको र मोक्षको लाभ लिन चाहनेले यी खतराहरुबाट जोगिनुपर्छ । अन्यथा बर्बाद हुनसकिन्छ ।’

अहिले काशीमा त्यति बेलाकाजस्ता साँढे नहोलान् । काठमाडौंमा त साँढेहरु त्यति बेलाका जस्ता सम्मानित जीव छैनन् । कानुनीरुपमा पनि काठमाडौंमा साँढे छोड्न बन्देज गरिएको छ । तिनको उपस्थितिनै पनि दुर्लभ हुँदैगएको छ । बरु हिजोका ती छाडा साँढेहरुका स्थानमा आज सत्ता–सम्पत्तिका लागि विभिन्न पार्टीका आवरणमा राजनीति गरिहिँड्ने नेताहरु र कार्यकर्ताहरु स्थापित हुन आइपुगेकाछन् ।
ज्यूँदैमा आफैंले आफ्नो किरिया गर्ने

सनातनीहरुको कर्मकाण्ड जीवित वृषोत्सर्गको ठाउँ अहिले समय–समयमा गरिने निर्वाचनको कर्मकाण्डले लिएको छ । स्थानीय, प्रादेशिक र सङघीय तहमा गरिने यी निर्वाचनका कर्मकाण्डहरु र तिनबाट छाप लाएर छाडिने भयङ्कर वृषभहरुले जनजीवन अस्तव्यस्त बनाउन सकेका छन् । मुलुक आज साँढेका चरीचरनमा परिणत भएको छ ।

पहिलेका साँढेहरु गोरुबाट चयन गरिन्थे । गोरु अपेक्षाकृत सीधासाधा जन्तु मानिन्थ्यो । साँढे नबनाइएका गोरुहरु किसानका खेतबारी जोत्ने भरपर्दा सहयोगी हुने गर्थे । मूर्ख मनुवालाई गाली गर्नुपर्दा ‘गोरु’ भनिन्थ्यो । तिनै मूर्ख गोरुहरुका बीचबाट साँढेको चयन हुन्थ्यो । अहिलेका साँढेहरु पढेगुनेका विद्वान्, बुद्धिजीवी, भयङ्कर दाउपेच–प्रवीण, हुनेखाने परिवारका सिङ्गुलै मान्छेबाट चयन हुन्छन् । गाह्रो छ । आज सर्वसाधारण जनतालाई आफैंले छाप ठोकेर छोडेका नेता–कार्यकर्ताहरुबाट जोगिन गाह्रो छ ।वृषोत्सर्ग नगरौँ त संस्कार–संस्कृतिका डण्ठेले ठोक्छन्, गरौँ तआफैंले छाप लाएर छोडेका साँढेले ठोक्छन् । आज हामीजनतालाई वृषोत्सर्ग संस्कृतिको दुष्प्रभावबाट जोगिएर बाँच्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्