१० कोरोना संक्रमित थपिए



काठमाडौं  । 

पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४, भक्तपुरमा १ र ललितपुरमा २ गरी उपत्यकामा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

पाँच हजार २ सय २६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमणमुक्त भएका छन् । हाल काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७५ रहेको बताइएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ । यही अवधिमा थप ८६ हजार १ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिले ३२ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ भने देशभर २ सय ६० जना होम आइसोलेसनमा, एक जना संस्थागत आइसोलेसनमा र एक सय ६ जना क्वारेन्टिनमा रहेका छन् । आईसीयू र भेन्टिलेटरमा भने कोही पनि संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा (लु) बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ ।

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्