युवा साथीहरुलाई ‘यस ब्रह्माण्डमा एउटा भ्वाङ पार्न’ आह्वान



मैले ९ वर्ष लगाएर २२ औं प्रयासमा, सरकारी सेवा प्रवेशको ३५ बर्से उमेर हद पार गर्नै लाग्दा यसै वर्ष लोकसेवाको अधिकृत परीक्षामा नाम निकालें– नेपाल विद्युत् प्राधिकरणको प्रशासकीय अधिकृत (सातौँ) तहमा । विगत ५ महिनादेखि म कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको प्रशासन प्रमुखको रुपमा कार्यरत थिएँ । ०७८÷१२÷२४ गते उक्त पदबाट राजीनामा गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको मेयर पदमा चुनाव लड्ने निर्णय गरेको छु ।

मैले तलब, भत्ता, ईपीआर, ओभरटाइम गरी महिनामा लगभग ७० हजार रुपियाँ बुझ्ने गरेको छु । सञ्चयकोष, अवकाश कोष, आवास तथा विद्युत् सुविधा गरी लगभग २५ हजार बराबरको थप सुविधा पनि मैले पाउने गरेको छु । मेरो जीवन एकदमै सहज तरिकाले चलिरहेको छ । मेरो वर्तमान पनि सुनिश्चित छ र भविष्य पनि । तर म र मेरो परिवारभन्दा पनि मेरो गाउँ र नगरप्रतिको जिम्मेवारीबोधले गर्दा मैले यो अस्वाभाविक निर्णय लिएको छु ।

यो निर्णय गर्दा मलाई केही डर पनि लागेको छ र केही अत्यास पनि । तर डर र अत्यासको अगाडि टिक्नु नै साहस हो । फेरि कुनै चीजले साँच्चै अत्याउँछ भने त्यो एकपटक परख्नै पर्ने चीज हो । मेरो लागि जीवन कि त रोमाञ्चक यात्रा हो, कि त केही पनि होइन । त्यसैले मैले यो साहस गरेको हुँ । म यो संसारमा एउटा अस्तित्व मात्र भएर बस्न चाहन्न । म त वास्तविक अर्थमा बाँच्न चाहन्छु । मेरो गाउँ र नगर बनाउने सपनाले मलाई जीवित भएको महसुस गराउँछ ।

त्यसैले म मेरो सपना पछ्याउन निस्केको हुँ ।मलाई कि त फूल बनेर फक्रिनु छ, कि त सुगन्ध छरेर सिद्धिन म तयार छु । यो निर्णय लिएर मैले जीवनलाई एउटा बृहत् कोणबाट हेर्ने प्रयास मात्र गरेको हुँ । संसारप्रतिको दृष्टिकोण जति व्यापक हुन्छ, वैयक्तिक समस्याहरु त्यति नै गौण हुन्छन् । इच्छा जति कम हुन्छ, त्यति नै ज्यादा हुन्छ इच्छाशक्ति । त्यसैले हाम्रो प्रयास सधैँ व्यक्तिगत इच्छा र आवश्यकता घटाउने र समाजप्रतिको जिम्मेवारी बढाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मलाई लाग्छ । रामले राज्य नत्यागेको भए, यो संसारमा मर्यादा भन्ने कुराको अस्तित्व कहाँ हुन्थ्यो र ? सिद्धार्थ गौतमले राजकाज नत्यागी बुद्धत्व कसरी प्राप्त गर्न सक्थे र ? उनीहरुले पाइसकेको ऐश्वर्य त्यागे र त युग–युगान्तरसम्म संसारले उनीहरुको कृति गाइरहेछ ।

अनि चुनाव हारियो भने नि ?

सबै युद्धहरू जित्नकै लागि लडिँदैनन् भन्ने म जान्दछु । केही युद्धहरु यसकारण पनि लडिन्छन् कि संसारले थाहा पाउनु जरुरी हुन्छ कि– कोही बदलावको पक्षमा एक्लै युद्धमा भिडिरहेको थियो । म पनि यो चुनाव नजित्न सक्छु । सोचेजति भोट नपाउन सक्छु । तर सही सोच र असल नियतको मापन कहिल्यै संख्याले हुँदैन । यसको मापन त दृढताबाट हुन्छ, म दृढ छु । यो निर्णयबाट मैले के पाउँछु वा के गुमाउँछु भन्ने बारे मलाई रत्तिभर चिन्ता छैन । मसँग त केवल मेरो गाउँ र नगर बदल्ने आशा छ । भावी सन्ततिको भविष्य उज्ज्वल हुनेछ भन्ने विश्वास छ । जबसम्म आशा हुन्छ, तबसम्म हारिँदैन भन्ने कुरा मैले बुझेको छु ।
म एउटा किसानको छोरो हुँ । जमिनसँग जोडिएको छु । खसे पनि जमिनमै खस्नेछु । त्यसले मलाई कुनै पीडा हुनेछैन । मेरो आवश्यकता बिहान–बेलुकाको दुई छाक खाना न हो । त्यति आवश्यकता पूरा गर्न म मेरो पुख्र्यौली बारीमा हलो चलाऊँला । यो देश बदलिएन भने, मेरा सन्ततिले अझै बढी दुःख पाउने छन् । के भो त, उनीहरुलाई दुई गाँस खान र परिश्रम गर्न सिकाउन म पनि दुखै गरुँला ।

बनेपा बदल्ने सपना:

२३ वर्षअघि म घरबाट ५ किमि टाढा बनेपा बजारमा अवस्थित स्कूल जान्थेँ । नजिकै राम्रो सामुदायिक विद्यालय नहुनुको बाध्यता थियो त्यो । बनेपा बजार र पुण्यमाता खोलाको फोहोर देखेर मेरो आँखा बिझाउँथ्यो । बसपार्कको गन्धले मलाई रिँगटा लाग्थ्यो । प्राचीन नगर बनेपाका प्राचीन सम्पदा चण्डेश्वरी र उग्रचण्डी (नाला भगवती) माताको संरक्षणमा गरिएको उपेक्षा देखेर म चकित पर्थेँ । चर्कंदो द्वन्द्वबीच गाउँका युवाहरु गाउँघर नै रित्तिने गरी विदेशिएको देखेर म नरमाइलो मान्थेँ ।

सामुदायिक विद्यालयहरुको दुरावस्था । राजधानीसँग जोडिएको तर स्वास्थ्यसेवामा जनताको पहुँच सहज नभएको अवस्था । नगरमा व्याप्त भ्रष्टाचार, घूससोरी, कमिसनखोरी, नातावाद, कृपावादको चर्चा गल्ली–गल्लीमा सुन्दै म हुर्किएँ । २३ वर्षपछि म वयष्क भएर फर्केको छु तर बनेपा उस्तै छ । बनेपाको फोहोर उस्तै छ । बिहे गरेको पर्सिपल्ट दुलही छोडेर विदेशिनुपर्ने युवाको कथा उस्तै छ । चाडबाडमा सन्तानलाई सम्झेर आँसु खसाल्नुपर्ने आमाबुबाको व्यथा उस्तै छ । सामुदायिक विद्यालयहरुको दुरावस्था उस्तै छ । उपचार गर्न नसकेर÷नपाएर मर्नुपर्ने जनताको बाध्यता उस्तै छ ।

उपेक्षित उग्रचण्डी र चण्डेश्वरी माताको चित्कार उस्तै छ । नगरपालिकाको पुरानो ढर्रा उस्तै छ । सरकारी रवैया उस्तै छ । कुशासन उस्तै छ । भ्रष्टाचार, घूसखोरी, कमिसनखोरी, नातावाद, कृपावादको संस्कार अझै झाँगिएको छ । जनप्रतिनिधिले आफ्नो ठाउँमा बजेट पार्न पहल गर्नेबाहेक अन्य काम नदेखेपछि व्यवस्थित र सन्तुलित पूर्वाधार विकास हुने त कुरै भएन । यो सब टुलुटुलु हेरेर सुविधाभोगी जीवन बिताउने सामथ्र्य ममा छैन । यही अवस्थालाई बदल्न म फर्केको हुँ ।म बनेपालाई एउटा यस्तो नगर बनाउन चाहन्छु, जसलाई आफैंले प्रत्येक दिन हेर्दा आँखा नबिझाओस्, जसलाई सम्झिँदा बनेपावासीको छाती गर्वले ढक्क फुलोस् । यही हो मेरो सपना । म मेरो यही सपना पूरा गर्न फर्केको हुँ ।

देश बददिएको हेर्ने सपना:

हामी नेपालीलाई एउटा भ्रम छ कि– एकदिन एउटा चामत्कारिक नेता आउनेछ र हाम्रो देशलाई सम्पूर्ण दुःख–कष्टबाट मुक्त गर्नेछ । त्यो भ्रममा हामी नपरौं । यो देश त्यसरी कहिल्यै बदलिने छैन । यो देश कमी–कमजोरीसहितका तपाईं–हामी जस्तै हाडछाला भएका युवाहरु मिलेरै बदलिने छ ।वर्षौं राजनीतिक दलको झोला बोक्ने प्रणालीबाट कुनै अलौकिक नेताको उत्पति हुनै सक्दैन । भए पनि त्यस्तो नेतृत्वलाई फुल्नै नदिई निमोठिनेछ । उसलाई छिर्के हानिनेछ । त्यसैले अब हामीले फरक कोणबाट सोच्नुपर्ने बेला आएको छ । पानीमा पौडिने माछाले रुख कहिल्यै चढ्न सक्दैन, लाख कोशिश गरे पनि । व्यक्तिगत, दलगत, समूहगत लाभ–हानि हेर्ने नेतृत्वले समग्र देशको स्वार्थ सोच्नै सक्दैन । ‘के सही’ भन्दा पनि ‘को सही’ भन्ने झिनाझम्टीमा लागिरहने साँघुरो सोच भएका नेताले यो देश बदल्नै सक्दैन । यो कुरा हामी बुझौं । यो देश बदल्ने सबैभन्दा राम्रो अवसर ३० वर्षअगाडि थियो । दोस्रो राम्रो अवसर यही वर्ष हो– २०७९ साल । मेरो पुस्ताका युवाहरुको लागि यो देश बदल्ने पहिलो र अन्तिम अवसर नै यही हो ।

हामी हाम्रा सन्ततिको लागि कस्तो देश छोडेर जान चाहन्छौँ ? के हामी यो संसारमा आफ्नो पाइला छोडेर जान चाहन्नौँ ? के हाम्रो जीवन त्यस्तो पदचाप छोड्न लायकको छैन ? हामी र हाम्रो भविष्य भयानक हुनुअघि नै यो देशलाई बदल्नु जरुरी छ । हामीले हरेक दिन गाँस, बास र कपासको चिन्ता गरेका छौं । हरेक दिन बाँच्नको लागि संघर्ष गरेका छौं । केही तयारी मर्नको लागि पनि त गरुँ । मर्ने तयारीबाटै त शुरु हुन्छ वास्तविक जीवन । यो संसारमा आफ्नो निशानी त छोड़ूँ । भावी सन्ततिको लागि बस्नलायक देश त बनाइदिऊँ । सबै मानिस मर्छन् तर सबै वास्तविक रूपमा बाँच्दैनन् । आउनुस्, हामी हाम्रो आफ्नो वास्तविक जीवन बाँचौं । सार्थक जीवन बाँचौं । कसैको गुलाम बनेर होइन, आफ्नै मर्जीको मालिक बनेर बाँचौं ।

जब जीवन सुविधाजनक हुन्छ, तब त्यसबाट निस्कन गाह्रो पर्छ । सुनको पिँजडामा सबै कुरा प्राप्त गर्दै गर्दा हामी त्यहीँ रमाइरहेका हुन सक्छौं । तर हामी पिँजडाभित्र कैद हुन जन्मेका होइनौं । हामी त खुल्ला आकाशमा स्वतन्त्र र निर्भिक उडान भर्न जन्मेका हौं । त्यसैले हामी सुविधाभोगी नबनौं । सुविधाका जन्जिरहरु तोडौं र खुल्ला आकाशमा उडौँ ।यदि यो देश बदल्ने नै हो भने, कम्तीमा पनि आफ्नो दैनिक जीवनयापन सहज हुने र गाँस, बास र कपासको जोहो गर्न धौधौ नहुने युवाहरुले यत्ति साहस गर्नै पर्छ । यो देशमा बदलावको जग हाल्न ७५३ वटै स्थानीय तहको नेतृत्वको लागि ७५३ जना साहसी युवाहरु अगाडि आउनु जरुरी छ । युवाहरुले आफ्नो विवेक प्रयोग गर्नु जरुरी छ । र, युवाहरुले परिवर्तनको पक्षमा मत दिने साहस गर्नु जरुरी छ ।

यो पटकको स्थानीय तहको चुनावमा ७५३ वटै स्थानीय तहको नेतृत्वको लागि देशैभरि स्वतन्त्र उम्मेदवारहरु उठौं । पुरानो राजनीतिक ‘सिन्डिकेट’ तोडौं । विकल्प कुर्दै नबसौं । आफैँ विकल्प बनेर हेरौं । विकल्प बन्न साहस गर्ने युवाहरुलाई मत दिने साहस गरौँ । हामीले हाम्रो राजनीतिलाई मात्रै हैन, समाजलाई पनि नयाँ बाटो लानु छ । देशमा आशा जगाउनु छ । अरुलाई सत्तोसराप गर्ने राजनीति होइन, विकासको मोडलबारे छलफल गर्ने राजनीति गर्नु छ । देशको प्रणाली बदल्नु छ । थिति बसाल्नु छ । त्यसको लागि आवश्यक एकमात्र योग्यता हो– इमानदारिता ।

कसैले नहेरेको बेलामा पनि सही कुरा गर्न सक्नु नै इमानदारिता हो । इमानदारिता भनेको सर्वोच्च नीति हो । इमानदारिता ‘ब्रान्ड’ हो । इमानदारिताले मात्र बदलिने छ यो देश । हामी यो चुनावमा पहिलो पाइला चालौं । बाटो आफैँ देखिँदै जानेछ । सही बाटो हिँडेको खण्डमा एउटा अलौकिक शक्तिले हामीलाई डो-याउनेछ । यति विश्वास गरौँ– जसको मति र गति सही छ, उसको रथ आज पनि श्रीकृष्ण भगवान्ले चलाउनुहुन्छ ।आज त हामी सबै नालीमै छौं तर हामीमध्ये केहीले आकाशमा झिलमिल ताराहरु देखिरहेका छौं । हामीलाई विश्वास छ– यो कालो रात सकिनेछ, घाम लाग्नेछ, उज्यालो हुनेछ, हामी डुबेको हिलोमैलो हट्नेछ । र, यो देशको दुर्दशाको अन्त्य हुनेछ । त्यसैले युवा साथीहरु ! आउनुस्, यो ब्रह्माण्डमा भ्वाङ पार्ने गरी जाग्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्