हिमाल सफाइ अभियान : नेपालको सम्मान



  • प्रकाश शर्मा

हिमाल, नेपालको अमूल्य खजाना । जसको मोल अनमोल छ । जसको सुन्दरता अद्वितीय छ । जसको रुप अद्भूत छ । जो तरल छ, बाफ छ अनि छ ठोस । तर छ बेजोड । जो आफैँमा पूर्ण छ, भरिपूर्ण छ, अनि सम्पूर्ण छ । सेता चमचम चम्किरहेका हिमशृङ्खला, जसमा इतिहास, भूगर्भ अनि संस्कृति मिसिएको छ । जो मुलुकको ढाल बनेर सिमानामा उभिएको छ । जसको उचाइले राष्ट्रलाई विश्वमाझ उचो बनाएको छ । जसका बाहुबाट प्रवाहित जल प्राणीजगत्को अमृत बनेको छ । जसबाट बहने वायु प्राण बनेको छ । त्यसैले हिमाल हामी नेपालीको मान र नेपालको सम्मान बनेको छ ।

हिमाल हामी नेपालीको राष्ट्रिय सम्पत्ति हो । जसलाई देखाएरै मात्र पनि हामीले बर्सेनि करोडौं राजस्व भित्र्याउँछौँ । विश्वका १० उच्च शिखरमध्ये नेपालमा मात्र ८ शिखर छन् । यी शिखर हामी नेपालीका लागि प्रकृतिको अनुपम वरदान साबित भएका छन् । संसारभरका साहसिक पर्वतारोहीहरुको अन्तिम अनि एउटै लक्ष्य हो सर्वोच्च शिखर सगरमाथाको आरोहण, जो हाम्रै देशको शान हो । पछिल्लो तीन दशक हाम्रा हिमचुचुराहरुको आरोहणमा विश्वभरका आरोहीको उत्साह उल्लेखनीय रुपमा वृद्धि भएको देखिन्छ । जो मुलुकको समृद्धिको लागि हितकर छ ।

पर्वतारोहीको आरोहणले राजस्वमा तथा पर्यटन व्यवसायमा उल्लेखनीय प्रगति भएसँगै समस्या पनि उब्जिएको छ । त्यो हो अव्यवस्थित फोहोर । नियामक निकायको ध्यान नपुग्दा सानो समस्याले विरालल रुप लिन पुगेको छ । सन् १९५० को दशकदेखिको फोहोर क्रमिकरुपमा थुप्रिँदै जाँदा हिमशृङ्खलाहरुको प्राकृतिक सुन्दरता यति बेला गम्भीर खतरामा पुगेको छ । आरोहण गर्दा लगाउने पोशाक, जुत्ता, अक्सिजन, प्लास्टिक, डिस्पोजेबल मेडिकल, खपत गरिएको क्यानको डिब्बा, एल्युमिनियम भर्याङ तथा दिवङ्गत आरोहीका शव हिमालमा बर्सेनि थुप्रिँदै गएपछि सेता हिमालहरु बिस्तारै–बिस्तारै फोहोरका पहाड बन्दै गएका हुन् । दशकौंदेखि हिमाली भेगलाई व्यावसायिक अभियानका रुपमा प्रयोग गरियो तर सरसफाइमा कत्ति पनि चासो राखिएन । त्यसैले संसारको सबैभन्दा अग्ला हिमचुचुराहरु अहिले संसारको सबैभन्दा ठूला फोहोरका रुपमा परिणत हुने तरखरमा देखिन्छन् ।

यदाकदा हिमाल सफाइ अभियानको विषय नउठेको भने होइन । सगरमाथाको फोहरमैलाबारे अन्तर्राष्ट्रिय माध्यममै समाचार सामग्री छापिन थालेपछि सन् १९९९ र सन् २००१ मा जापानी आरोही तथा पर्यावरणवादी केन नगुचीको अगुवाइमा सगरमाथा सफाइ अभियान सञ्चालन गरिएको थियो । सो अभियानबाट करिब २४ हजार किलोग्राम फोहोर संकलन गरिएको थियो । त्यसयता पनि सफाइ अभियान आक्कलझुक्कल भई नै रहेको छ तर त्यसको आधिकारिक तथ्याङ्क भने कतै उपलब्ध छैन । एक अध्ययनका अनुसार सगरमाथामा मात्र करिब १ लाख ४० हजार टन फोहोर र ३ सयभन्दा बढी आरोहीको मृत शरीर रहेको अनुमान छ । यसबाट प्रस्ट हुन्छ कि हाम्रो सुन्दर हिमालहरुको अवस्था कति कुरुप बन्दै गएको छ भनेर ।

नेपाली सेनाको उपस्थितिले यति बेला हिमाल सफाइ अभियानमा आशा पलाएको छ । सुन्दर हिमाललाई सुन्दर नै राखिराख्न नेपाल सरकारको कार्यक्रम र नेपाली सेनाको नेतृत्वमा यही चैत्र २२ गतेदेखि विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा हिमाल सफाइ अभियान सञ्चालन भएको छ । पछिल्ला केही वर्षदेखि नेपाली सेना हिमाल सफाइ अभियानमा जुटेको देखिन्छ । नेपाली सेनाको नेतृत्वमा सन् २०१९ मा ११ टन र २०२१ मा २६ टन फोहोर संकलन गरेको र यस वर्ष पनि फोहोर संकलनका लागि नेपाली सेनाको एक टुकडी हिमाल प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकृति र पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरु ल्होत्से, कञ्चनजंगा र मनास्लुको सफाइ अभियानमा यस वर्ष पनि नेपाली सेना जुटेको छ । नेपाली सेनाको बहुआयामिक कार्यहरुमध्ये विगत ३५ वर्षदेखि प्रकृति संरक्षणको कार्यमा समेत लागिपरेको देखिन्छ । विभिन्न वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जको सुरक्षा, जसअन्तर्गत हिमशृङ्खलाहरुको मनोरम सौन्दर्यतालाई जोगाइराख्न, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनलाई रोक्न नेपाली सेनाले निर्वाह गरेको भूमिका पक्कै पनि प्रशंसनीय छ ।

आशा गरौं, सफा हिमाल अभियानले पनि सार्थकता पाओस् । हिमालहरुबाट फोहोर हटाई भावी पिँढीका लागि हिमाललाई पहिलेकै अवस्थामा फर्काउने यो प्रयास सफल होस् ।

वर्तमान अवस्थालाई अध्ययन गरी सुरक्षित भविष्यको लागि नेपाल सरकारले पर्वतारोहणसम्बन्धी गर्नुपर्ने र गर्नु नहुने नियमहरुलाई पुनरवलोकन गर्न अत्यन्त जरुरी छ । सम्भव भएसम्म फोहोर गर्दै नगर्ने र गरिएको फोहोर पनि सोही टोलीले अनिवार्य फिर्ता ल्याउने प्रावधान अक्षरशः पालना गराउन नितान्त जरुरी देखिन्छ । हिमालको सरसफाइ सहज कार्य हैन । यो एउटा उच्च जोखिमयुक्त कार्य हो । त्यसैले सरसफाइ अभियानका सदस्य तालिमले पोख्त हुन आवश्यक त छ नै, त्यसमा अनुभवी शेर्पाहरुको परिचालनले कार्यसम्पादनमा थप सहजता हुने विश्वास गर्न सकिन्छ ।

हाम्रो राम्रो हिमाल जोगाउनु हाम्रो कर्तव्य हो । प्रकृतिको यो अमूल्य वरदानलाई सफा र सुरक्षित राखेमा मात्र स्वच्छ हावा र निर्मल जल पाउन सक्छौँ । त्यसैले हिमाल हाम्रो प्राण हो । हाम्रो देशले विकासको गति लिन पर्यटन व्यवसाय तीव्ररुपमा फस्टाउनै पर्छ । पर्यटन व्यवसाय तबमात्र फस्टाउन सम्भव छ, जब हाम्रा सुन्दर हिमालहरु चमचम चम्किरहने छन्, नकि फोहोरको थुप्रोले अँध्यारो बनून् । त्यसैले मुलुकको समृद्धिका लागि पनि हिमाल जोगाइराख्नु अपरिहार्य छ । अतः हिमाल सफाइ अभियान नेपालीको मान हो भने नेपालको सम्मान । यस्तो महत्वपूर्ण हिमालको सरसफाइ अभियानमा नेपाली सेना लागिपरेको छ । यो नेपाली सेनाको लागि पनि सुनौलो अवसर हो । यो अवसरलाई नेपाली सेनाले भरपूर सदुपयोग गरोस् । नेपाली जनताको जुन भरोसा छ, नेपाली सेनाले त्यो पूरा गरोस् । स्मरण रहोस्, हिमाल हाम्रो हो अनि सफाइको दायित्व पनि त हाम्रो हो ।

प्रतिक्रिया दिनुहोस्