एरोबिक टेबल टेनिसको शुरुवात



काठमाडौं ।

नेपालमा पहिलोपटक एरोबिक टेबलटेनिस एकेडेमीको सुरुवात भएको छ । अप्रिल ६ को दिन विश्व टेबलटेनिस डे को रूपमा मनाउँदै आएको छ । सोही दिन पारी नेपाल एपीएफ क्लबमा एरोबिक टेबलटेनिसको शुभारम्भ भयो । उक्त कार्यक्रम शसस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उदघाटन गरेका हुन् । योसँगै नेपालमा एरोबिक टेबलटेनिस एकेडेमी स्थापना भयो ।

लन्डनस्थित एरोबिक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितिमा एरोबिक टेबल टेनिसका बारेमा जानकारी दिएका थिए । स्टिभले एन्डिजकी संस्थापक अनिता महर्जनलाई एरोबिक टेबलटेनिस एकेडेमीको नेपालमा स्थापना भएको औपचारिकताको प्रमाणपत्र प्रदान गरे ।

एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभले नेपालस्थित एकेडेमीमा रहेका छात्र तथा छात्रालाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रवृत्ति प्रदान गर्ने पनि जानकारी गराएको छ ।

यस्तै, पूर्व सम्झौताअनुसार डीएचएसले प्रशिक्षणका लागि आवश्यक रोबोट र स्टेग ब्रान्डको टेबल टेनिस बोर्ड प्रायोजन गरेको छ । प्रशिक्षणमा उपयोगी रोवोट पहिलोपटक प्रयोगमा आएको एनिज पिङ्गपङ्ग क्लबकी संस्थापक अनिता महर्जनले जानकारी गराइन् । अनिता एरोविक टेबल टेनिसकी ब्रान्ड एम्बेसडरसमेत हुन् ।

अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरूलाई निःशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आइरहेकी छन् । लन्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरूलाई एरोविकको माध्यमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो । खेलाडीहरूलाई एरोविकका माध्यमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै सांगीतिक धुनको तालमा खेलाडीहरूलाई वर्कआउट, फुटवर्क गराउँछ ।

यसले खेलाडीले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ । यसलाई संगीतसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्दत पुग्नेछ। एरोबिक टेबलटेनिस उच्च इनर्जी फिटनेस वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन समेत हो ।

प्रतिक्रिया दिनुहोस्