तेस्रो हिमालयन हाइड्रो एक्स्पो सम्पन्न



काठमाडौं (नेस) ।

राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरूको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युत्सँग सम्बन्ध राख्नेहरूको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाहरूले बताएका छन् । एक्स्पोमा गहन विषयहरूमा छलफल भएको थियो भने एक्स्पोको अन्तिम दिन जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल भएको छ ।

ऊर्जा जलस्रोत सिँचाईमन्त्री पम्फा भूषाल पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिकी सभापति पूर्णा कुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनु भएको थियो ।

उक्त सेसनमा जलविद्युत्का सम्बन्धमा घनीभूत छलफल भएको एक्स्पोका आयोजक संस्थाहरू स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले जानकारी दिएको छ । इपान कार्यसमिति सदस्य प्रकाश दुलालका अनुसार उक्त सेसनमा जलविद्युत्को विकासका सम्बन्धमा नीतिगत विषयमा छलफल भएको थियो ।

शनिबार शुरू भएको एक्स्पोमा ३ दिनमा जलविद्युत्सँग प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सरोकार राख्नेहरूको उल्लेख्य सहभागिता भएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनुभयो । घरायसी प्रयोजनका विद्युतीय सामग्री खरिद गर्नेहरूको चाप अधिक रहेको बताउँदै प्रधानले साना ठुला उपकरणहरूका बारेमा जारी लिने तथा बुकिङ गर्न आउनेहरूको संख्या अपेक्षित भएको बताउनुभयो ।

नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहेको एक्स्पोमा १०० भन्दा बढी स्टल रहेका थिए । जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्युपमेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहेका छन् ।
एनएमबी बैंकले टाइटल स्पन्सर गरेको एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरू सहभागी भएका थिए ।

एक्स्पो अवलोकन गर्नेहरूमध्येबाट दैनिक १० जनालाई गोला प्रथाबाट विद्युतीय चुल्हो वितरण गरिएको छ । नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त भएको आयोजकले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्