पूर्वका उद्योगमा १४ घण्टासम्म लोडसेडिङ

कुलमानप्रति उद्योगीको गुनासो



विराटनगर ।

पूर्वका उद्योगहरूमा लोडसेडिङका कारण विगत एक सातादेखिको उद्योगको उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ । पछिल्लो एक सातायता दैनिक औद्योगिक फिडरमा १२ देखि १४ घण्टासम्म लोडसेडिङ भएका कारण उत्पादनमा व्यापक गिरावट आएको उद्योगीहरूले बताएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी लोडसेडिङका कारण उद्योगले ६० प्रतिशत उत्पादन कटौती गरिएको बताएका छन् ।

विद्युत् प्राधिकरणले औद्योगिक फिडरमा १२ घण्टाको लोडसेडिङ गर्ने भनिए पनि १४ घण्टा लोडसेडिङ भइरहेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘१४ घण्टा लोडसेडिङ हुँदा ८ घण्टामात्र उत्पादन गर्न सकिन्छ ।’ प्राधिकरणले १ मेगावाटभन्दा कमका उद्योगमा लोडसेडिङ नगर्ने जनाए पनि सबै उद्योगको लाइन काटिरहेको उहाँको भनाइ छ ।

कोभिडको कहरबाट भर्खरै बौरिन थालेको औद्योगिक क्षेत्र तरलताको संकट, बैंकको ब्याज वृद्धि हुँदै पछिल्लो चरणमा लोडसेडिङबाट उठ्नै नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो भारतसँग खरिद गरेको चार घण्टाको पिक आवरको विद्युत्को दरभाउका नाममा १२ देखि १४ घण्टासम्म औद्योगिक फिडरको बिजुली नकाट्न रिजालको आग्रह छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले प्राधिकरणले राति ८ देखि १२ बजेसम्म चार घण्टाको अवधिका लागिमात्र भारतसित भारु २० रूपियाँमा विद्युत् खरिद गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘चार घण्टा महँगोमा खरिद गरेको उदाहरण देखाएर १२ देखि १४ घण्टासम्म उद्योगमा लाइन काट्नु कतिको जायज हो ?’ अध्यक्ष प्याकुरेलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विगत तीन दिनदेखि उद्योगीको सम्पर्कमा आउन नचाहेको आरोप समेत लगाउनुभयो । गत सातामात्रै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जुनसुकै मूल्यमा भए पनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत् उपलब्ध गराउने, लोडसेडिङ नगर्ने आश्वासन दिएको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले प्राधिकरणले अहिलेसम्म उद्योगीलाई लोडसेडिङको तालिका दिन नसकेको बताउनुभयो । उद्योगीहरूले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रलगायतका उद्योग प्रतिष्ठानहरूमा विद्युत् अवरुद्ध नभई निरन्तर सञ्चालन रहेको तर सुनसरी मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले पनि विद्युत् आपूर्तिलाई तत्काल सहज बनाउन माग गरेको छ ।

महासंघका प्रदेश १ अध्यक्ष टीकाराज ढकालले विज्ञप्ति जारी गर्दै अघोषित लोडसेडिङका कारण उद्योग व्यवसाय धराशयी बन्दै गइरहेको उल्लेख गर्नुभयो । भारतबाट विद्युत् खरिद गरी आपूर्ति गर्न महँगो हुने र प्राधिकरण नोक्सानीमा जाने कारण देखाउँदै औद्योगिक प्रयोजनमा अघोषित लोडसेडिङ गरेपछि उद्योगहरूमाथि ठूलो बज्रपात परेको ठहर महासंघको छ । गत बिहीबार नेपाल विद्युत् प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतबाट आयात हुने विद्युत्मा समस्या भएकाले मंगलबारदेखि विद्युत् कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको बताउनुभएको थियो ।

उहाँले प्राधिकरणले बिहीबार बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताउनुभएको थियो । प्राधिकरणले प्रति युनिट नेपाली ३८ रूपियाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्