निफमा फिल्म प्रदर्शन र बहस जारी



नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ) को पाँचौं संस्करण राजधानीम जारी छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा जारी निफको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका थिए।

शुभारम्भपछि महानगरपालिकाका प्रमुख शाक्यले कोभिडका कारण सबैभन्दा बढी फिल्म क्षेत्र प्रभावित भएको बताए। ‘झण्डै दुई वर्ष कोरोनाको कारण फिल्म व्यवसाय ठप्प भयो। तर अहिले कोरोनासँग जुधेर अगाडि बढ्न सक्छौं भन्ने सन्देश फिल्म महोत्सबबाट दिनुभएको छ । शाक्यको भनाई थियो। नेपालका लाग युरोपियन युनियनका राजदूत नोना डिप्रेजले युरोपियन युनियनले नेपाली फिल्म उद्योगसँग सहकार्य गरेको बताइन्।

जुरी प्रमुख सुदिप्तो आचार्यले कोरोना महामारीबाट जोगिएर यो अवस्थामा फिल्म महोत्सब गर्नु खुसीको कुरा भएको बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म उद्योगलाई सरकारले सहयोग गर्न कन्जुस्याइँ नगरेको दाबी गरे। फिल्म निर्देशक तथा निफका संयोजक यादव कुमार भट्टराईले निफले नेपालका फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग गरेको बताए। कार्यक्रमका सभापति एवम् आयोजक संस्थाका अध्यक्ष केपी पाठकले भौतिक रूपमा महोत्सव गर्न पाएकोमा खुसी व्यक्त गरे।

शुभारम्भको दिन पुरू लम्सालको निर्देशन रहेको ४६ मिनेटको डकुमेन्ट्री गोरू जुधाइ प्रस्तुत गरिएको थियो। विभिन्न फिल्म प्रदर्शन तथा अन्र्तक्रिया र बहससँगै अघि बढाइएको महोत्सवअन्र्तगत दोस्रो दिन शुक्रबार नेपाली सिनेमाः अबको बाटो विषयमा छलफल गएिको थियो। छलफलमा कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँले लगानीकर्ताले बुझेर फिल्म नबनाएसम्म नोक्सानी मात्रै व्यहोर्नुपर्ने औंल्याए । निर्माता सुशील पौडेलले पहिले जस्तो निर्माता बाँचे फिल्म बाँच्छ भन्ने धारणा नयाँ पुस्ताले बिर्सिरहेको बताए भने डिस होमका व्यवस्थापकीय निर्देशक सुदीप आचार्यले नेपाली फिल्म कपी कन्टेन्टबाट टाढा रहे भविष्य राम्रो हुने बताए ।

भारतीय फिल्मकर्मी सुदिप्तो आचार्यले फिल्म सबैभन्दा पहिले निर्माण समूहले नै स्वीकार गर्नुपर्ने बताए । अभिनेत्री सुरक्षा पन्तले फिल्म धनपति र आमापछि मात्रै आफ्ना बुवाले आफू अभिनयमा लागेको मन पराएको खुलाइन् । निर्देशक केदार श्रेष्ठले कुनै पनि मुद्दामा फिल्म बनाउँदा पात्रको संख्या नभएर कथा मुद्दामा कति संवेदनशील छ भन्ने विषयमा बढी ध्यान दिनुपर्ने बताए। ‘महिला मुद्दामा फिल्म बन्दैछ भने त्यहाँ महिलाको उपस्थिति भएर मात्रै हुँदैन । कथा सो मुद्दामा कति संवेदनशील छ भन्ने हेर्नुपर्छ । त्यस्तो फिल्ममा महिलाको आवाज आयो कि आएन भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । उनको भनाई थियो। अभिनेता दिव्यदेवले अबको फिल्ममा पात्र निर्माण र कथालाई महत्व दिनुपर्ने जोड दिए।

त्यसै गरी शनिबार राम्रो अभिनय के हो भन्ने प्रश्नको जवाफ खोज्न कलाकर्मीहरूले बहस गरे। कलाकार विपिन कार्कीले अभिनय राम्रो र नराम्रो नै नहुने चर्चा गरे भने नाट्यकर्मी सुनिल पोखरेलले फिल्म निर्देशक र थिएटर कलाकारको माध्यम भएको चर्चा गर्दै कलाकारलाई बाँधेर राखे अभिनय राम्रो नहुने बताए। अभिनेत्री तथा रंगकर्मी सरिता गिरीले फिल्म र नाटक जेमा भए पनि अभिनय उस्तै हुने बताइन्। ‘नाटकमा महिनौ रिहर्सल गर्दा अभिनय मात्र नभई क्यारेटराइजेसन पनि बलियो हुन्छँ उनको भनाइ थियो। भोलि सोमबार समापन हुने महोत्सवमा ३८ देशका ८९ फिल्मबीच प्रतिस्पर्धा छ। त्यसमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मको सात विधामा १४ पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्