नेपालगन्जबासीले खाँदैनन् हात्तीपाइले रोगविरुद्धको औषधि



बाँके ।

हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान बाँकेमा ‘फेल’ हुँदै आएको छ । जिल्ला फेल भइरहँदा अभियान लम्बिरहेको छ । सन् २०११ देखि बाँकेमा अभियान शुरू भएको थियो । अभियान सफल भएर ६ वर्षमै आम औषधि सेवन कार्यक्रम रोकिनुपर्नेमा बाँकेमा १२औं चरणको अभियान शनिबारदेखि शुरू भएको छ । अभियान असफल हुनुमा नेपालगन्जबासी अलि बढी जिम्मेवार रहेको पाइएको छ ।

जिल्लामै नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको कभरेज कम रहेको छ । जिल्लाको सदरमुकाम र पढेलेखेका मानिसको बसोबास रहेको नेपालगन्जमा गत वर्ष ४९ प्रतिशत मात्रै कभरेज थियो ।

नेपालगन्जका केही वडाको कभरेज न्यून रहेको छ । वडाध्यक्षलाई लिएर घरघरमा जाँदा पनि कभरेज बढाउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मी जागेश्वर बस्नेतले नेपालगन्जको वडा नं. ३ मा वडाध्यक्षलाई लिएर हिँड्दा पनि धेरैले औषधि खान नमानेको बताउनुभयो । वडा नं. ३ मा अघिल्लो वर्ष १३ प्रतिशत र गत वर्ष २७ प्रतिशतले औषधि खाएका थिए । ‘स्वास्थ्यकर्मी जाँदा ढोका नै खोल्दैनन् । खोलिहाले पनि औषधि खाइदिन्नन्’, स्वास्थ्यकर्मी बस्नेतले भन्नुभयो– ‘नेपालगन्जमा कभरेज बढाउन साह्रै गाह्रो छ ।’

स्वास्थ्य कार्यालय, बाँकेकी हात्तीपाइले रोगकी फोकल पर्सन दुर्गा गौतमले बाँकेमा सबैभन्दा धेरै बैजनाथ गाउँपालिका र सबैभन्दा कम कभरेज नेपालगन्ज उपमहानगरपालिकामा रहेको जानकारी दिनुभयो । गौतमका अनुसार, गत वर्ष बैजनाथमा ८७, कोहलपुर नगरपालिकामा ८४, नरैनापुरमा ८३, खजुरामा ८२, जानकीमा ७७, राप्तीसोनारीमा ७१ र डुडुवा गाउँपालिकामा ७० प्रतिशत कभरेज रहेको थियो ।

यो कभरेज विश्वासिलो भने छैन । स्वास्थ्यकर्मीले औषधि दिएको आधारमा कभरेजको प्रतिशत निकालिएको छ । स्वास्थ्यकर्मीले दिएको औषधि व्यक्तिले खायो कि खाएन भन्ने यकिन छैन । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले यसपालिको अभियानमा औषधि पोको पारेर दिने होइन, स्वास्थ्यकर्मीले आफ्नै अगाडि राखेर औषधि खुवाउने बताउनुभयो । ‘अहिले जिल्लामा कभरेज त धेरै देखियो । तर, वास्तविक औषधि खाएका कम छन्’, शाहले भन्नुभयो– ‘अब औषधि निलिसकेछि मात्रै रजिस्टरमा नाम इन्ट्री गर्छौ ।’

बाँकेमा यसपालि तीन थरीको औषधि खुवाइँदै छ । ११औं चरणसम्म दुई थरीको औषधि खुवाइएको थियो । यसपालि उचाइका आधारमा औषधि खुवाउने तयारी भएको छ । जिल्लामा औषधि खानेले खाइरहने र नखानेले नखाँदा अभियान फेल भइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेले गरेको सर्वेक्षणमा लगातार पाँचौंपटकसम्म औषधि खाने ४४ प्रतिशत मात्रै रहेका छन् ।
हात्तीपाइले रोगविरुद्धको अभियान नेपालका ६३ जिल्लामा शुरू भएको थियो । ५३ जिल्ला सफल भएका छन् । दश जिल्ला असफल रहेका छन् । ती दश जिल्लामा फाल्गुन २८ गतेदेखि अभियान शुरू हुँदै छ । स्वास्थ्य कार्यालय, बाँकेले औषधिको कभरेज बढाउन विभिन्न व्यक्तित्वहरूसँग निरन्तर अन्तरक्रिया गरिरहेको छ ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जनप्रतिनिधिले नै औषधि नखाइदिँदा जनताले औषधि नखाएको टिप्पणी गर्नुभयो । उहाँले यसपालि सबैले मिलेर सबै जनतालाई औषधि खुवाउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राष्ट्रिय अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । अभियान शुरू हुनुअघि बाँकेमा २०.८ प्रतिशत रोगी थिए । अहिले ४.१ प्रतिशत हात्तीपाइले रोगका संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्