छोरीलाई आमाले आफ्नै अंग दिएर बचाएपछि…



काठमाडौं ।

तस्वीरमा देखिने हँसिली आयुशालाई २६ वर्षअघि जन्म दिँदा आमा सीता पाण्डे पनि यसरी नै हाँस्नुभएको थियो । बीचमा आयुशा र उनकी आमाको मुस्कान एकैपटक खोसियो– दुवै मिर्गौलाले काम नगरेपछि । तर, आमाले आयुशालाई मिर्गौला दान दिएर छोरीको मुस्कान मात्र बचाउनुभएन जीवन नै जोगाउनुभयो ।

कन्चन–५ रुपन्देहीकी आयुशा भावुक हुँदै भन्नुहुन्छ – ‘मम्मीलाई आफन्तहरूले आशीर्वाद दिँदा, खुट्टा ढोग्ने एउटा छोरो होस् भन्ने गर्थे, उदास आमालाई म नै तपाईंको छोरो हो चिन्ता नगर्नुस् भनेर सम्झाउँथेँ । बहिनी पनि मसँगै लागेर आमाका आँशु पुछ्थी ।’

आयुशा चाँडै मास्टर्स स्नातकोत्तर भर्ना हुने सुरमा हुनुहुन्थ्यो । लोकसेवा उत्तीर्ण गरी सरकारी जागिर खाने विचार थियो । उता घरमा बिहेको कुरा पनि चल्दै थियो । कसैलाई आयुशाले आफ्नो मनमा सजाइसकेकीले विवाहका लागि निर्णय दिने कुरै थिएन । तर, यसैबीच समयले अर्कै निर्णय लियो ।

अस्वस्थ महसुस गरी जँचाउन गएकी उनलाई डाक्टरले दुवै मिर्गौला फेल भएको बताए । चिकित्सकका अनुसार– निरन्तर डाइलोसिस अथवा प्रत्यारोपण नै उनका विकल्प थिए । सो समयमा मृत्युको भयभन्दा पहिला आफ्ना आमाबुबाको चिन्ताले सताएको उहाँ बताउनुहुन्छ– ‘भारतमा ड्राइभिङ्ग काम गरेर घर फर्किएका वयोवृद्ध बुबालाई पनि मबाट केही आशा थियो होला । बहिनीलाई ऋण काडेर जापान पठाएका थियौं । बहिनीको र मेरो विहे गर्न थप ऋण खोज्दै थियौं । मेरो उपचार गर्न पैसा कहाँबाट जुटाउँला ? मेरो मनले यस्तै मात्र सोच्यो ।’

‘म सहरी विकास तथा वन डिभिजन कार्यालय रुपन्देहीमा जागिर गर्दै थिएँ । म अब काममा राम्रो प्रदर्शन गर्न सक्दिनँ होला, मलाई कामबाट पक्कै निकाल्लान् । जसोतसो पैसा जुटाउँला तर मलाई मिर्गौला कसले देला ? मिर्गौला दिने कोही भए पनि म बाँच्ने ग्यारेन्टी कहाँ छ । जीवन पूरै अन्धकार महसुस गरेकी थिए ।’ आयुशाले आमाबुबालाई लामो समयसम्म समस्या बताउन पनि सक्नुभएन । धेरै पटक ट्वाइलेटमा गएर एक्लै रोएको उहाँ नेपाल समाचारपत्रलाई बताउनुहुन्छ ।

घरमा उहाँको मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह भयो । बुबा, बहिनी, आमा तीनै जना उनलाई मिर्गौला दिन तयार हुनुहुन्थ्यो । आमाले भन्नुभएछ – ‘मिल्ने भए म दुवै मिर्गौला पनि दिन तयार छु ।’

मिर्गौला त आमाले दिने टुंगो भयो, तर प्रत्यारोपण खर्च कहाँबाट ल्याउने ? सरकारले मिर्गौला प्रत्यारोपणको लागि ४ लाख र प्रत्यारोपणपछि बिरामीलाई १ लाख रुपियाँको सेवा प्रदान गर्नेरहेछ । डाइलोसिस, प्रत्यारोपण र काठमाडौंमा औसत बसाइ खर्च गरेर बिरामीको अवस्थाअनुसार १० देखि १५ लाख लाग्ने बुझियो ।

आयुशा आत्मबल र साहसलाई कत्ति डगमगाउन दिनुभएन । अन्ततः मिर्गौला प्रत्यारोपण सफल भयो । दुई महिनाको आरामपछि आयुशा आफ्नो गाउँ फर्किनुभयो र तुरुन्तै काममा लाग्नुभयो । आजभोलि मिर्गौलाका बिरामीको ‘काउन्सिलिङ’ मा आयुशा जुट्नुभएको छ । ‘रात–दिन भन्दिनँ, फोनमा बोल्न पर्ने हो कि गएर भेट्नुपर्ने हो, म जुटिहाल्छु’ उहाँ भन्नुहुन्छ । फागुन २६ गते मिर्गौला दिवसका सन्दर्भमा निकै कार्यक्रममा ‘सेलिब्रिटी’ जस्तो सहभागी भएको उहाँ स्मरण गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्