हुरीसँगै आगलागी बढ्न थाल्यो, तर उपकरण बनेन



काठमाडौं ।

हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्नथालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बिग्रेर थन्किएका छन् ।

धेरैजसो आगलालीका घटना विद्युतीय उपकरण जुधेर र खाना पकाउने ग्याँस चुहेर वा चुरोटको ठुटो जथाभावी फाल्नाले भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । सुकेको पात–पत्कर जलाउनको लागि जंगलमा आगो लगाउनाले पनि यस्ता घटना बढेको बताइएको छ ।

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले गर्मी लागेसँगै आगलागीका घटना बढ्नसक्ने भएकोले सचेत भएको दाबी गर्नुभयो । उहाँका अनुसार यसको लागि वडा स्तरबाटै जनचेतनाका कार्यक्रम शुरू गरिएको छ । आगलागीका घटना हुन नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै उहाँले भन्नुभयो– घटना भएपछि उद्धारतिर लाग्नुभन्दा हुनै नदिनको लागि सावधानी अपनाएका छौं ।

कामपासँग हाल चालु अवस्थामा ४ वटा दमकल र दुईवटा फायर पम्प छन् । बौद्धस्थित रामहिटीमा दमकल तयारी अवस्थमा राखिएको कामपाको भनाइ छ । विपद् व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले तीनवटा नयाँ दमकल, पाँचवटा फायर फाइटर खरिद गर्ने तयारी भइरहेको पनि बताउनुभयो ।

गर्मी लागेसँगै असावधानीका कारण आगलागीका घटना बढ्दै गएको तथ्याङ्क छ । कामपाले आगलागी नियन्त्रण गर्न सम्पूर्ण सामग्री तयारी अवस्थामा राख्नेगरेको जनाएको छ । विगतमा जस्तो समस्या छैन, पानीको प्रशस्त व्यवस्था गरेका छौं, वारुणयन्त्र सुविधा सम्पन्न छन्, ३० फिट अग्लो स्थानमा आगलागी भए पति नियन्त्रण गर्नसक्ने भर्याङको व्यवस्था छ– विभागीय प्रमुख श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार १० तलासम्म आगलागी नियन्त्रण गर्नसक्ने क्षमताको यन्त्र रहेको छ । हाल कामपासँग ४७ प्रकारका आगलागी नियन्त्रण गर्ने यन्त्र छन् । अधिकांश आगलागी बिजुली सर्ट भएर हुने गरेको बताउँदै उहाँले भन्नुभयो– ‘विद्युतीय उपकरण प्रयोग गर्दा ध्यान नदिँदा आगलागीका घटना बढ्न थालेको हो ।’ आगलागीका घटना बढ्न थालेपछि वारुण यन्त्र कार्यालयले धुपबत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउन दमकल कार्यालयले आग्रह गरेको छ ।

आगलागीका घटना न्यूनीकरण गर्न महानगरले हरेक ठूला भवनमा फायर इस्टिङ्गुइसर राख्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्न लागेको श्रेष्ठले बताउनुभयो । पछिल्लो समयमा विद्युतीय पोलमा नेट र केबुलमा प्रयोग हुने पुरानो तार सर्ट भएर पनि आगलागी हुने गरेको वारुण यन्त्र कार्यालयले जनाएको छ । पुरानो तार भएका पोलमा नयाँ तार फेर्न सम्बन्धित निकायलाई आग्रह गर्दा पनि कतिपय अवस्थामा कार्यान्वयन हुन नसकेको कार्यालयको भनाइ छ ।

यस्ता किसिमका आगलागीका घटना हुन नदिन वारुण यन्त्रले वडास्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको श्रेष्ठको भनाइ छ । तर, वारुण यन्त्र कार्यालयमा रहेका पुराना दमकलको सामान र मर्मत गर्ने स्थान अभावको कारण अधिकांश सवारी साधन बिग्रिएर थन्किएका छन् । दमकल कार्यालयमा रहेको दमकलसहित दुई दर्जन सवारी साधनमध्ये अधिकांश बिग्रिएर थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्