मिर्गौला प्रत्यारोपण गरेको मान्छे कमजोर हुन्न : मन्त्री खतिवडा



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिर्गौला दाता र प्रत्यारोपित दुवैले देश र समाजका लागि साधारण मानिसको जति नै योगदान दिनसक्ने बताउनुभयो । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित स्वास्थ्यकर्मी तथा कलाकार र अंगप्रत्यारोपित बीचको फुटबल प्रतियोगितामा बोल्दै मन्त्री खतिवडाले भन्नुभयो– ‘म यहाँ आएँ, मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिहरूसँग फुटबल खेलेँ, प्रत्यारोपितले हाम्रो टिमलाई शुरूमै गोल चखायो । मिर्गौला प्रत्यारोपण गरेको मान्छे कमजोर हुन्न भन्ने यो बलियो उदाहरण हो ।’ उहाँले अंगप्रत्यारोपण र डायलासिसलाई थप व्यवस्थित र सबैको सहज पहुँचमा पुर्याउने काममा सरकार सधैं तत्पर रहिरहनेछ प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले नेपालमा मिर्गौला प्रत्यारोपण शुरू भएदेखि धेरै नेपालीले स्वदेशमै राज्यको सहयोगमा मिर्गाैला प्रत्यारोपण गर्न सहज भएको बताउनुभयो । उहाँले मिर्गौलाका बिरामीको उपचारका लागि आर्थिक तथा कानुनी रूपमा सहज बनाउँदै जान सकियोस् भन्ने उद्देश्यले सरकारले कानुनी दायरा फराकिलो बनाएको जिकिर पनि गर्नुभयो । विगतमा श्रीमान्, श्रीमती, छोराछोरीको नातामा मात्र मिर्गौला प्रत्यारोपणका लागि मिर्गाैला दान दिन र लिन पाउने कानुनी प्रावधानले धेरै नेपालीले अन्य मुलुकमा गई महंगो शुल्क तिरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बाध्यता थियो ।

मृत्युपछि जलेर खरानी हुने शरीरका अंगहरूले पीडामा परेको मान्छे बचाउन सकिने भएकोले आफूले पनि मृत्युपर्यन्त अंग दान गर्ने घोषणा गरिसकेको जानकारी दिँदै मन्त्री खतिवडाले भन्नुभयो– ‘सबै नेपालीले मृत्युपछि जलेर वा कुहिएर खेर जाने अंग दान गरेर पुण्य कमाऔं ।’‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व मिर्गौला दिवस नेपालमा पनि रत्नपार्कबाट प्रभातफेरि शुरू गरी दशरथ रंगशालामा पुगी अंगदान शिविर, अंगदान तथा अंग प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया, फुटबल खेललगायतका कार्यक्रम गरी मनाइयो ।

उक्त कार्यक्रममा १ सय ४५ जनाले मृत्युपछि अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मष्तिष्क मृत्यु भएका व्यक्तिबाट नेपालमै पहिलोपटक मिर्गौला प्राप्त गर्न सफल मिलन श्रेष्ठले अंगदानको कार्ड हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा अंगदानको घोषणा गर्नुभएका स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिवलगायत अन्य अंगदानको इच्छा व्यक्त गर्नुभएका व्यक्तिहरूलाई अंगदान कार्ड प्रदान गरियो ।

कार्यक्रममा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मिर्गौला उपचारमा सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले मिर्गौलाका बिरामीका लागि सरकारले डाइलासिसका लागि प्रत्येक वर्ष एक जना व्यक्तिका लागि साढे २ लाख रुपियाँ र प्रत्यारोपणका लागि ५ लाख रुपियाँ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । कार्यक्रममा सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले मिर्गौलालगायतका अंग फेल भएका व्यक्तिका लागि अंगदान गर्नु महादान भएकाले जनचेतना जगाउन आवश्यक रहेको कुरा औंल्याउनुभयो ।

कार्यक्रममा अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ९ वर्षको अवधिमा ८ सय २१ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको र ६ जनाको कलेजो प्रत्यारोपण तथा मष्तिष्क मृत्यु भएको व्यक्तिबाट समेत अंग प्रत्यारोपण कार्यमा सफलतासमेत प्राप्त भएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्