‘पानी बोक्दा कक्षा गयल’



काभ्रे ।

जनता माध्यमिक विद्यालय कोलाँती भुम्लुमा अध्ययन गर्ने कक्षा ६ देखि ११ सम्मका बालबालिकाहरूको पहिलो कक्षा छुट्ने गरेको छ । अधिकांश बालबालिकाहरू विद्यालय आउने समयमा पानी बोक्न व्यस्त हुने गरेका छन् । पानीको मुहान टाढा भएकाले उक्त क्षेत्रमा घर घर धारा ल्याउने प्रयास अझै सफल भएको छैन ।

पानीकै कारण बालबालिकाहरूको कक्षा छुट्ने गरेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद गुरागाईँले बताउनु भयो । ‘विद्यालय क्षेत्रका बालबालिकाहरू पानी बोक्न व्यस्त हुन्छन्’–प्रधानाध्यापक गुरागाईँले भन्नुभयो–‘बिहानभरि पानी बोकेर विद्यालय आउँदा धेरै बालबालिकाहरू भोकै हुने गरेका छन् ।’ थकाई र भोकका कारण विद्यालय आएका बालबालिकाहरूले पनि राम्रोसँग अध्ययन गर्न सक्दैनन् । विद्यालयले दिने दिवा खाजा कक्षा ५ सम्मका लागि मात्रै भएकाले उनीहरूको समस्या समाधान गर्न विद्यालय लाचार बन्नु परेको अध्यक्ष क्रान्ति लामाले बताउनु भयो । दलित, पहरी तथा अन्य समुदायका बालबालिकाहरू विद्यालय आउनु अघि बिहानभरि पानी बोक्नु पर्ने अवस्था छ । बालबालिकाहरूले आधा देखि एक घण्टासम्मबाट पानी ल्याउने गरेका छन् । विद्यालयमा पनि पानी नभएकै कारण बालबालिकाहरू शौच गर्न जान सकेका छैनन् । बालबालिकाहरूलाई शौच जानु पर्ने डरले खाना खान पाउने विद्यार्थीहरूले पनि अडकलेर खाने गरेका छन् ।

विद्यालयमा खानेपानी, भौतिक पूर्वाधारसँगै शिक्षक दरवन्दी अपुग रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्रान्ति लामाले बताउनु भयो । ‘धेरै सुधार भएको छ’–उहाँले भन्नुभयो–‘सुधारका लागि स्थानीय सरकारले गरेको प्रयास सह्रानीय छ ।’ पालिकाले बालबालिकाहरूका लागि शैक्षिक सामाग्री निःशुल्क उपलब्ध गराउँदै आएको अध्यक्ष गुमान ध्वज कुँवरले बताउनु भयो । पानी नभएकै कारण आय आर्जन हुन नसकेको अभिभावक लक्ष्मी नेपालीले बताउनु भयो । ‘बिहानभरि पानी बोक्यो, बस्तुभाउलाई पनि पुर्‍याउन सकिँदैन, मान्छेले खान, नुहाउन, लुगा धुन पनि सङ्कट छ’–लक्ष्मी नेपालीले भन्नुभयो–‘आकाशबाट परेको पानी सङ्कलन गरेर बर्सातको समयमा खेती गर्ने बाहेक अरू केही उब्जनी हुँदैन ।’ भाँडा माझेको पानी तरकारीमा लगाउँदा सागहरू लगाउन खोजे पनि सम्भव नभएको उहाँको दुखेसो छ । पानीकै कारण बसाई सर्न बाध्य हुनु परेको स्थानीयहरूले बताए । आम्दानीको श्रोत केही नभएकाले गरिबी बढेको, गरिबिका कारण आत्महत्या गर्ने क्रम रोक्न नसकिएको, बालबालिकाहरूलाई नियमित पठनपाठनमा सहभागी गराउन नसकिएको जस्ता समस्या भोग्नु परेको उहाँले बताउनु भयो ।

कक्षा ११ अध्ययन गर्ने सञ्जिता नेपालीको घर विद्यालय सँगै छ । विद्यालयमा प्यास लाग्दा साथीहरू आफ्नो घरमा पानी खान आउने गरेको उहाँले बताउनु भयो । एक घर एक धारा भन्ने वडाको अभियान शुरु भए पनि सम्पन्न हुन नसक्दा पानीको चरम सङ्कट बेहोर्नु परेको अभिभावक र विद्यार्थीहरूले बताएका छन् ।

माझी टोल घर भएकी ११ बर्सिया उत्तरा ढलकोटीले पानी ल्याएर विद्यालय आउनु पर्दा पहिलो कक्षा सधैँ छुट्ने गरेको बताउनु भयो । ‘बिहान एक गाग्रो पानी ल्याएर विद्यालय आउँदा ११ बज्छ’–ढलकोटीले भन्नुभयो–‘पानीकै कारण खाना खान पनि भ्याइँदैन । सधैँ पहिलो पिरियड अध्ययन गर्न पाइँदैन ।’ अभिभावक राजकुमारी ढलकोटीले विद्यालयमा पानी नभएका कारण आफ्नो घरमा दैनिक ४/५ जना बालबालिका पानी माग्न आउने गरेको बताउनु भयो । विद्यालयले समेत बालबालिकाहरूका लागि पानी जुटाउन सकेको छैन ।

वडा अध्यक्ष भरतबहादुर शिवभत्तिले कोलाँती भुम्लुका लागि ८ करोडको खानेपानी आयोजना सञ्चालन भइरहेको बताउनु भयो । भुम्लुखेत खहरे खोला कोलाँती लिफ्टिङ्ग आयोजना मार्फत ४ सय घर धुरीका लागि खानेपानी व्यवस्थापन गर्न पाईप विस्तार र दुईवटा खानेपानी ट्याङ्की निर्माण गरिसकिएको वडा अध्यक्ष शिवभक्तिले बताउनु भयो ।

‘चालु वर्षमा चोक चोकमा पानी आउँछ’–वडा अध्यक्ष शिवभक्तिले भन्नुभयो–‘अर्को वर्ष घर घर धारा जडान हुनेछन् ।’ २०५६ सालमा ल्याएको खानेपानीको मुहानबाट पानीको व्यवस्थापन हुन नसके पछि लिफ्टिङ्ग गरिएको थियो । लिफ्टिङ्गका लागि बिजुलीको व्यवस्थापन हुने भित्तिकै पानी वितरण हुने अध्यक्ष शिवभक्तिले बताउनु भयो । खानेपानीको लागि स्थानीय उपभोक्ता समितिले कार्य गरिरहेको उहाँले बताउनु भयो । खानेपानीको चरम सङ्कट निम्तिँदै गए पछि स्थानीयहरूले बस्तु पाल्न सकेका छैनन् भने कामको सिलसिला देखाउँदै बसाई सर्ने र मजदुरीका लागि राजधानी जाने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्