एकमहिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस



काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागेको एकमहिने अभियानको अन्तिम तयारीमा जुटेको छ । यही फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियान सञ्चालन गर्न लागेको छ ।

यो अभियानलाई कांग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ । एकमहिने अभियान सञ्चालनको अन्तिम तयारीका रूपमा कांग्रेस सभापतिसहित शीर्ष नेताहरूले मगलबार पनि छलफल गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गत २० गतेदेखि नै यो अभियान सञ्चालन गर्ने भनिए पनि स्थगित भएको थियो ।

एकमहिने अभियानका साथ स्थानीय निर्वाचनको प्रचारबारे मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको थियो । बैठकमा सहभागी एक नेताले जानकारी दिएअनुसार सभापति देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि राम्रो व्यवहार गर्न निर्देशन दिनुभएको थियो ।

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियानकै दौडानमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको बारेमा रहेको भ्रमका बारेमा पनि आम जनतालाई बुझाउने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । अभियानको दौडानमा सबै जिल्लामा एक÷एक जना केन्द्रीय सदस्य प्रतिनिधिका रूपमा खटाइने पनि कांग्रेसले जनाएको छ ।

स्थानीय निर्वाचन नजिकिए पनि कांग्रेसले उम्मेदवार चयन गर्ने संसदीय समिति भने अझै गठन गरेको छैन । केन्द्रीय संसदीय समितिले काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार निर्णय गर्नुपर्ने हुन्छ भने ११ उपमहानगरपालिकासहित २ सय ७६ नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ । त्यसअनुसार ४ सय ६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवार टुंग्याउनुपर्ने हुन्छ । अध्यक्ष र उपाध्यक्ष गरी जिल्ला संसदीय समितिले ९ सय २० उम्मदेवार चयन गर्नुपर्ने छ । प्रतिनिधि सभा संसदीय समितिले देशभरका वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्नुपर्नेछ ।

कांग्रेसभित्र स्थानीय निर्वाचनको एकमहिना अघि नै सबै उम्मेदवारका लागि टिकट वितरण भइसक्नुपर्ने भन्दै पार्टी नेतृत्वमाथि दबाब बढिरहेको छ । अघिल्लो निर्वाचनमा उम्मेदवारी दर्ताको बिहानसम्म पनि कतिपय स्थानीय तहमा उम्मेदवार टुंगो लागेको थिएन । मतदान गर्नुभन्दा एक महिनाअघि नै उम्मेदवार टुंगो लगाए उम्मेदवार स्वयम्लाई पनि प्रचारप्रसारमा प्रशस्त समय हुने बताइएको छ ।

 

आठ उद्देश्य

  • वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने ।
  • स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्द, एकता र ऊर्जा अभिवृद्धि गर्ने । कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने ।
  • ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने ।
  • नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने ।
  • नेकपाको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने ।
  • प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानुपरेको यथार्थ जनसमक्ष राख्ने ।
  • नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायःलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गर्ने ।
  • करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना (एमसीसी) कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसद्बाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका भ्रम बुँदागत रूपमा चिर्दै वास्तविकता प्रस्टसँग राख्ने ।

प्रतिक्रिया दिनुहोस्