त्रिवि पदाधिकारीको राजीनामा माग



काठमाडौं ।

सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

त्रिविमा नेविसंघ र आंशिक शिक्षकले लगाएको ताला खोल्ने विषयमा सुझाव दिन छाडेर उनीहरूले उल्टै राजीनामा माग गरेका हुन् । राजीनामा मागेका तीन संगठनले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको राजीनामा मागेका छन् । तीन पदाधकारीमध्ये उपकुलपति र रजिस्ट्रार एमाले निकट हुनुहुन्छ । शिक्षाध्यक्ष भुसाल माओवादी निकट हुनुहुन्छ ।

विगत लामो समयदेखि भागबन्डामा देशका ११ वटै विश्वविद्यालयमा राजनीति आडमै पदाधिकारी नियुक्ति भइरहेका छन् । त्रिविमा तीन दल हाबी देखिएको छ । उनीहरूले निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लान्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप लगाउँदै राजीनामा मागेका हुन् । तीन संगठनले विज्ञप्ति जारी गरी राजीनामा मागेका हुन् । ती संगठनले उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।

‘आफैंले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्नेजस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्ति दिनेजस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ’ –विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले वर्तमान पदाधिकारीलाई त्रिभुवन विश्वविद्यालयमा रहेमा भावी परिणाम भयावह हुनेसम्मको चेतावनी दिएका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा कार्य गर्ने, आफूखुशी नियम बनाएर नियुक्तिलगायतको प्रक्रियामा समेत प्राज्ञिक मूल्यको अवहेलना गर्ने, प्राध्यापक र कर्मचारीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नसक्नु, उनीहरूको जायज मागलाई उपेक्षा गरी आफू समर्थित विद्यार्थी र प्राध्यापकलाई प्रतिकारमा सामेल गराउनेलगायतका संगीन आरोप लगाएर राजीनामा माग गरिएको छ । तीनैवटा संगठनले करार शिक्षकको मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

विज्ञप्ति जारी गरेका संगठनले विश्वविद्यालयको हितमा भन्दा पनि राजनीतिक पूर्वाग्रहका आधारमा चेतावनी दिएका छन् । उनीहरूले यस्यो विषम अवस्थामा त्रिविमा रहिरहे यसले ल्याउने भावी परिणाम भयावह हुने उल्लेख गरिएका छन् । उनीहरूले जटिल परिस्थितिबाट विश्वविद्यालयलाई बचाउन नागरिक समाज, प्राध्यापक र राजनीतिज्ञलाई समेत आग्रह गरेका छन् ।

विज्ञप्तिमा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सना, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्राडा रमेश भट्टराई र एकीकृत प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्राडा गोविन्द सुवेदीले हस्ताक्षर गरेका छन् ।

शैक्षिक क्यालेन्डर लागु गर्न नसक्नु, पाठ्यक्रमलाई वर्तमानको आवश्यकताका आधारमा समयसापेक्ष रूपमा परिमार्जन र परिवर्तन गर्न नसक्नु, आफूखुशी नियम बनाएर आफ्ना भनिएकालाई मात्र सेवा, र सुविधा तथा नियुक्ति दिएको आरोप लगाइएको छ । आंशिक प्राध्यापकको मागलाई मौन समर्थन गरेका तीन संगठनले तत्काल निकास निकाल्न पदाधिकारीलाई आग्रह गरिएको छ । आंशिक शिक्षकले केही दिनदेखि त्रिवि सेवा आयोगको मूल गेटमा ताला लगाएर गेटमै अनसन बसेका छन् ।

त्रिवि पदाधिकारीको मूल गेटमा माघ ६ गतेदेखि तालाबन्दी छ । त्यसपछि करिब एक महिनाअघि आंशिक शिक्षकले ताला लगाएका छन् । गएको माघ ६ गते सरकार आबद्ध नेपाल विद्यार्थी संघ त्रिवि कमिटीले लगाएको थियो । लगातार लाताबन्दीका कारण त्रिविको आर्थिक, प्रशासनिक र प्राज्ञिक काम ठप्प भइरहदा उपल्लो निकायका अधिकारीले त्रिवि पदाधिकारीका कुनै कुरा सुनेका छैनन् । उहाँका अनुसार तीनै जना पदाधिकारीले सुरक्षाकर्मी परिचालन गरी ताला खोल्न गृह मन्त्रालयलाई समेत अनुरोध गरिसकेका छन् । तर अहिलेसम्म सुनुवाइ भएको छैन । झन् अर्को ताला थपिएकोमा पदाधिकारीले आपत्ति जनाएका छन् ।

यसअघि जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्युटर एप्लिकेसन’ कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ त्रिवि समितिले त्रिविका तीन पदाधिकारीको राजीनामा माग गर्दै तालाबन्दी गरेका थिए । तालाबन्दीको कारण १५ वटा विभाग, निर्देशनालय र महाशाखाको सबै काम ठप्प छ । काम ठप्प भएपछि त्यहाँका कर्मचारीको दैनिकी हाजिर गर्ने अनि फर्कने भएको छ ।

सत्य र असत्यको लडाइँ : उपकुलपति
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविमा सत्य र असत्यबीचको द्वन्द्व शुरू भएको बताउनुभएको छ । तीन दलका प्राध्यापक संघ, संगठनले राजीनामा माग गरेपछि उहाँले अब हामी अर्थात् सत्य काम गर्ने र उनीहरू अर्थात् असत्यको पछाडि लाग्नेबीच लडाइँ भएको बताउनुभयो ।

विज्ञप्ति जारी गरी राजीनामा दिएको विषयमा उपकुलपति प्राडा बाँस्कोटाले भन्नुभयो– ‘एकथरी प्राध्यापक लाभको पदमा पुग्न आन्दोलन गरिरहेका छन् भने अर्का थरीका प्राध्यापक सत्य र त्रिविलाई बचाउन लाग्नुभएको छ । नपढाई त्रिविको नियुक्ति वा अन्य लाभ लिन उद्देश्यका साथ लागेका प्राध्यापकलाई म यो भन्न चाहन्छु कि अब सत्य र असत्यबीचको द्वन्द्व शुरू भएको छ । सत्यले अवश्य जित्नेछ ।’

उहाँले भन्नुभयो– ‘कसैले राजीनामा दे भन्दैमा राजीनामा दिनुपर्ने अवस्था नभएको चर्चा गर्दै जसले राजीनामा मागेका छन् उनीहरू त्रिविको प्राज्ञिक र शैक्षिक उन्नयनका विरुद्धमा लागेका छन् । आपसी संवाद र सहकार्यमा अघि बढ्न आफूहरू तयार रहेको उल्लेख गर्दै लहडमा ताला लगाएर कुनै समस्याको हल हुन सक्दैन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्