एनआरएनए विश्व भेला सम्पन्न, एकता कायम राख्न माग



काठमाडौं (नेस) ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्षहरूले संघको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरू शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर संकटमा परेको भन्दै बोलाएको बैठकमा सहभागी ४५ भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीहरूले त्यस्तो आग्रह गरेका हुन् ।

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले कोरम नपुगेको मार्च २ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग गर्ने भन्ने निर्णय विधानविपरीत भएकाले त्यसको कुनै कानुनी हैसियत नभएको बताउनुभयो । उहाँले एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरेकोमा आपत्ति व्यक्त गर्नुभयो ।

संघका पूर्व अध्यक्ष डा. शेष घलेले एनसीसीहरूलाई एकताबद्ध बनाउने, बलियो बनाउने नै आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले एनसीसीहरूलाई भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गर्नुभयो । उहाँले एनसीसीहरू स्वायत्त र सार्वभौम हुन् भन्दै एनसीसीहरूलाई राम्रो काम जारी राख्न आग्रह गर्नुभयो ।

पूर्व अध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थितिप्रति अत्यन्तै चिन्तित भएकाले बैठक बोलाएको बताउनुभयो । ‘यो कुनै व्यक्तिगत स्वार्थका लागि बनाएको संस्था होइन, संसारभरिका नेपालीहरूको हितका लागि बनाएको संस्था हो । हामीले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्नोस् । कुनै पनि हालतमा यो संस्थालाई बचाउनु पर्छ । यो जग तपाईंहरूले बलियो बनाउनु पर्छ, त्यसपछि मात्रै आइसीसी बलियो हुन्छ’– उहाँले भन्नुभयो ।

संघका सल्लाहकार कुल आचार्यले यो सत्य र असत्यबीचको लडाई हो भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद् चाहिएको बेला खारेज गर्ने भन्ने निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको आरोप लगाउनुभयो । बैठकले पारित गरेको चार बुँदे प्रस्तावमा संरक्षक परिषद् तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रूपमा काम गर्न आह्वान गरिएको छ । ‘संघलाई विभाजनको संघारबाट जोगाएर सहमति र सहकार्यको आधारमा दशौं महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै पहल गर्न पनि यो बैठक प्रमुख संरक्षक डा. शेष घले, संरक्षकहरू तथा उच्चस्तरीय समितिलाई आह्वान गर्दछ’– प्रस्तावमा भनिएको छ ।

हालै बसेको आईसीसी बैठकले एनसीसी अमेरिका, यूके, अस्ट्रेलिया, क्यानाडा तथा जापानलाई सदस्यता शुल्क बुझाउन दबाब दिँदै अध्यक्ष कुमार पन्तको नाममा हजारौ पंजीकृत सदस्यहरूलाई सोझै इमेल पठाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एनसीसीहरूलाई दबाब र धम्की दिने कामहरू तत्काल बन्द गर्न बैठकले माग गरेको छ ।
उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले निर्वाचन समितिले प्रकाशित गरेको मतदाता नामावली उपर दाबी विरोध गर्नु भएको र उच्चस्तरीय समितिले गरेको छानबिनले संघको दशौं महाधिवेशनका लागि मताधिकार प्राप्त प्रतिनिधिहरूको संख्यामा ठूलो फरक देखिएकाले प्रतिनिधि विवाद समाधान गरेर मात्र निर्वाचन कार्यक्रम अगाडि बढाउन बैठकले आह्वान गरेको छ ।

बैठकले निर्वाचन समितिले सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताको प्रावधान राख्ने जस्ता काम गर्दा निर्वाचनको निष्पक्षतामाथि गम्भीर आशंका उत्पन्न भएको भन्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न आईसीसी र निर्वाचन समितिलाई आग्रह गरेको छ । भर्चुअल माध्यमबाट बसेको बैठकमा बोल्दै एनसीसी जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग (जापान) संस्था कब्जा गर्ने उद्देश्यले भइरहेका गतिविधिको भत्र्सना गर्नुभयो । एनसीसी अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीले एनसीसीविरुद्ध निकै विभेद भएको बताउनुभयो ।

संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले अहिलेको नेतृत्व संस्था कब्जा गर्ने नियतका साथ अगाडि बढिरहेको बताउनुभयो । संघका सचिव आरके शर्माले अहिले भएका कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले ८२ औं आइसीसीको निर्णयहरू सच्याइनेमा आफू विश्वस्त भएको बताउनुभयो । एनसीसी इटालीका अध्यक्ष छविलाल कँडेलले भन्नुभयो– ‘यो संस्था बचाउनका लागि प्रमुख संरक्षक शेष घले तथा संरक्षक देवमान हिराचनले चाल्ने कुनै पनि कदममा हामी सँगै छौं । एनआरएनए अभियन्ता तथा पूर्व मध्यपूर्व संयोजक नरेन्द्र भाटले एकपक्षीय रूपमा निर्णयहरू गर्दै अगाडि बढ्दा संस्था दुर्घटनातर्फ जान सक्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्