‘प्रजननको पालो घरेलुको घान, अड्डाको आग्रह महिलालाई दान’

सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस



काठमाडौं ।

नेपाली समाजमा महिलाको अवस्था सुधारोन्मुख देखिए पनि परम्परागत विभेदको शृंखला कायम रहेको अधिकारकर्मी र कामकाजी महिलाले बताएका छन् । ‘राज्यले समता र आरक्षणको अवधारणा लिएपछि अड्डामा कामकाजी महिलाको संख्या बढेको छ, तर घरेलु भातभान्सा र सरसफाइको काम अनि प्रजननको प्राकृतिक जिम्मेवारीबाट मुक्त हुन नसक्ने अवस्थाका कारण अपेक्षित समानताको अवस्था हासिल हुन सकेको छैन’ महिला उद्यमी महासंघ नेपालकी महासचिव महालक्ष्मी श्रेष्ठ भन्नुहुन्छ– ‘महिलामा पहिले भन्दा आज परिवर्तन नभएको होइन, तर जुन तरिकाबाट परिवर्तन हुनुपर्ने त्यो छैन ।’

‘महिलाको कामलाई त्यति महत्व नदिनु, उनीहरूमाथि राज्यले कृपा गरेको, समानता दानमा दिएको जस्तो व्यवहार देखाइन्छ’ श्रेष्ठको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘पुरुषलेसरह बाहिर काम गर्ने महिला बढेका छन् तर उनीहरूलाई घरायसी कामको जिम्मा छोड्ने छुट छैन ।’

उद्यममा मात्र पूर्ण समय दिन नपाउँदा सक्षम महिला पनि अघि बड्न सकेका छैनन्, कुनै उद्योग गर्छु र उद्यमशीलतालाई अघि बढाउँछु भन्ने महिलालाई अनेकौं सामाजिक, पारिवारिक, आर्थिकलगायतका समस्या आइलाग्छन् भन्ने उहाँको विश्लेषण छ । अधिकांश नेपाली महिलाको नाममा सम्पत्ति नहुने भएकाले ऋण लिन पनि समस्या हुने, सरकारले दिने भनेको ऋण महिला उद्यमीले नपाउने अवस्था रहेको पनि उहाँले बताउनुभयो ।

लाइफ–लाइन हेल्थ होमकी नर्स इन्चार्ज सुस्मिता थपलिया भन्नुहुन्छ, ‘नेपालमा नर्स भन्नेबित्तिकै महिला भन्ने बुझिन्छ । महिलाहरू सहनशील, स्याहार–सुसार गर्ने कुरामा सिपालु, दयालु हुन्छन् भन्ने मान्यता छ । झट्ट हेर्दा यो मान्यता महिला पक्षीयजस्तो लाग्छ, तर यस धारणाले हामीलाई आज पुरुषले आधिपत्य जमाएका क्षेत्रमा प्रवेश गर्न रोकिरहेको छ ।’
थपलिया महिलाहरू नर्सिङमा लाग्दालाग्दै बिरामीका आफन्त, कति ठाउँमा बिरामी स्वयंबाट यौन दुव्र्यवहारको शिकार भएका छन्, नाइट ड्युटीमा ढुक्क भएर काम गर्नसक्ने अवस्था छैन, जीवनकै सुरक्षाको समस्या भोगिरहेका छन् भन्नुहुन्छ ।

काठमाडौंको हात्तीसारस्थित एक बहुराष्ट्रिय संस्थाकी रिसेप्सनिस्ट सुदृषा श्रेष्ठ भन्नुहुन्छ, यस पेसामा मीठो बोल्ने, आकर्षक अनुहार र शरीर भएकालाई लिने गरिन्छ, तर ‘आकर्षण र सुन्दरता प्रदर्शन’ गर्न नसक्दा जागिर गुमाउनुपर्छ भन्नुहुन्छ । ‘समाज एकातिर नारीलाई कुमारी देवी भनेर पुज्छ, अर्कातिर यौन दुव्र्यवहार र विभेद पनि गर्छ, नारी भएकै कारण जहाँ गए पनि असुरक्षित हुनुपरेको छ, आखिर हामीलाई सुरक्षा कहाँ छ त ?’ श्रेष्ठको प्रश्न छ ।

कामकाजी महिलाले यातायातको साधन र कार्यालयमै पनि यौनहिंसा सहनुपरेको बताएका छन् । ‘बसमा महिला सिट भनेर तोकिएको हुन्छ तर लागु भएको देखिँदैन, शरीर छोएर र धक्का दिएर हिंसात्मक तरिकाले आनन्द लिने पुरुष देख्दा धिक्कार लाग्छ’ श्रेष्ठ समाजको विकृति देखाउनुहुन्छ ।

रूपन्देहीमा रहेको नमुना विद्यालय वीरेन्द्र माविमा विगत सात वर्षदेखि अध्यापन गर्दै आएकी सृजना काफ्ले भन्नुहुन्छ – ‘अपवादबाहेक धेरै ग्रामीण विद्यालयमा छात्रभन्दा छात्राहरूको संख्या कम देखिनु र अलि उपल्लो कक्षामा पुगेपछि छात्राहरूको संख्या झन् घट्नुबाट नै बुझ्न सकिन्छ कि छात्राहरूलाई शिक्षाबाट वञ्चित गर्ने समाज अझै छ । महिनावारीको बेलामा प्याडको व्यवस्था नहुदा कपडाभरि रगतमय भएर छात्राहरू मात्र हैन शिक्षिकाहरू नै दौडिन पर्ने अवस्था अझै छ ।’

शिक्षिकामाथि महिला भएकै कारण हुने अपमान, विभेद र दुव्र्यवहार धेरै भएको, तर केही क्षेत्रमा सुधार पनि भएको काफ्ले बताउनुहुन्छ । आजभोलि सहरका धेरै विद्यालयहरू नमुना विद्यालयको रूपमा स्थापित भई महिलामैत्री भएका छन् । ग्रामीण छेत्रका विद्यालयहरू भने अझै पनि जागरण ल्याउने शिक्षक शिक्षकाकै पर्खाइमा रहेको उहाँको अनुभव छ ।

मोरङकी एकल महिला निरु बिसुन्खे आफ्ना दुई छोरीको जन्म दर्ता र नागरिकता बनाउन जाँदा पाएको पीडा र अपमान कहिल्यै बिर्सनुहुन्न । ‘देशको कानुन लेखाइमा बलियो त बन्यो तर कानुनको डर आम मानिसमा रहेन । न्याय दिलाउन बसेकाहरू पनि भ्रष्ट भए । मेरा श्रीमान्का दाजुभाइले दशथरि अड्चन ल्याएर मलाई अनावश्यक पीडा दिँदा पनि कानुनले केही नापेन ।’

बिसुन्खे थप्नुहुन्छ – ‘भागरथी भट्ट र हालचालै यही हाम्रै मोरङमा ११ वर्षीय बालिका करुणा राईको बलात्कार पछि हत्याको घटनाले पनि नारिको अवस्था प्रस्ट उजागर गर्छ नि । विभिन्न संघसंस्थामा आफ्नै सहकर्मीबाट , विद्यालयमा शिक्षकबाट, घरमा आफ्नै बुबा र नजिककै आफन्तबाट, सार्वजनिक यातायात र स्थलहरूमा महिलाहरू यौन दुव्र्यवहारमा परेका र बलात्कारको सिकार बन्न पुगेका गुनासाहरू त दिनहुँ हामीले सुन्दिन भन्दा पनि सुनिरहेकै हुन्छौ । कति दयनीय अवस्था छ , ल हेर्नुस त !’

काठमाडौंको मूलपानी बस्ने निशा परियार इँट्टा बोक्ने काम गर्छिन् । उनलाई महिला दिवस के हो थाहा छैन । ‘मलाई इँट्टा बोक्ने काम नगरी खान पुग्दैन । अहिले चन्द्रागिरिमा काम पाएकि छु । त्यहाँ जानलाई बिहान ४ बजे हिँड्नुपर्छ । राती मात्र घरमा पुग्छु । रातको समयमा हिँड्दा असुरक्षित महसुस हुन्छ । घरमा बालबच्चा छोडेर काममा निस्किने गर्छु । काम टाडा छ । कहिले काहीँ काम गरेको पैसाले नपुगेर आधी बाटो हिड्ने र आधी बाटो गाडीमा चड्ने गर्छु ।

लैङ्गिक समानताको सन्देश फैलाउन, लैङ्गिक पूर्वाग्रह नभएको राम्रो समाज बनाउन, र समाजमा महिलाहरूको योगदानको कदर गर्न मार्च ८ मा विश्वभर विभिन्न कार्यक्रमहरू गरी ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । तर, परियारलगायतका महिलाको बोझ भने जस्ताको त्यस्तै छ ।

प्रतिक्रिया दिनुहोस्