धोवीखोलाको मुहानमा ड्याम निर्माण हुने (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको धोबीखोला मुहानमा धाप ड्याम निर्माण गरिने भएको छ । धोवी खोलामा सुख्या याममा पानीको बहाव कायम राख्न र बर्षाको समयमा वस्ती डुबान हुनबाट रोक्न सरकारले ड्याम निर्माण गर्ने योजना अघि सारेको हो । मानविय कारणले धोबीखोलाको पहिचान गुम्दै गएको छ । खोलालाई सफा राख्नको लागि झण्डै दस बर्ष अघिबाट सरसफाईको अभियान पनि निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । तर पनि नदी प्रदुषित हुने क्रम रोकिएको छैन् ।

बर्षा याममा बाहेक हिउदको समयमा खोलामा पानी बहन छोडेको छ । खोलामा पानीको वहाबलाई पुनः कायम गर्नको लागि शहरी विकास मन्त्रालय धोवी खोलाको मुहानमा धाप ड्याम निर्माण गर्नको लागि अध्ययनको काम अगाडि बढाएको हो । बुढानिलकण्ठ नगरपालिकाको राममन्दिर आसपासको क्षेत्रमा ड्याम निर्माण मार्फत बर्षाको पानी संकलन गर्ने र सुख्या याममा खोलामा पानी बहने अवस्था बनाउने योजना अघि सारेको छ । ड्याम निर्माण गर्न मन्त्रालयले अध्ययनको गरिरहेको बताएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रुद्रमती र धोबीखोलाको पहिचान जोगाउन धाप ड्याम निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले धोबीखोलालाई स्वच्छ राख्न र यसको पहिचान बनाउन सुख्या याममा पनि पानी बहने गरी धाप ड्याम निर्माण गर्नुपर्ने बताउनुभयो । मन्त्री झाँक्रीले भन्नुभयो,‘धोबीखोलामा सुख्खा याममा पनि धाप ड्याम निर्माण गरेर सफा बनाउन सकिछ, ड्याम निर्माण गर्न मन्त्रालयले अध्ययन गरिरहेको छ ।’

धोबीखोला सरसफाई अभियानको शुभारम्भ गर्दै उहाँले धोबीखोला क्षेत्रमा ढल प्रशोधनको ठूलो समस्या रहेकाले जग्गा प्राप्तिको काम सम्पन्न गरेर प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइने बताउनुभयो ।

मानविय कारणले धोवीखोलासहितका उपत्यकाका नदी तथा खोलालाई फोहोर बनाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘काठमाडौं ७६ वटा जिल्लाबाट आएर बस्ने ठाउँ हो । जति मान्छे धेरै भए फोहोर पनि बढदै गयो, घरभित्रको फोहोर खोलामा ल्याएर फ्याक्ने काम असभ्यताको परिचय हो ।’ फोहोर नगर्नको लागि सफाई अभियान चलाउनु पर्ने बताउदै झाँक्रीले खोलाको फोहोर सफा गर्ने भन्दा पनि समुदायस्तरबाटै फोहोर नफ्याक्ने वातारण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौं उपत्यकाभित्र सडक र पुलमुनि फोहोर संकलन गर्ने स्थल बनाएकोप्रति स्थानीय तहप्रति असन्तुष्टि जनाउदै मन्त्री झाँक्रीले सार्वजनिक स्थलमा फोहोर संकलन केन्द्र बनाउने कार्यलाई रोक्न नसक्नु स्थानीय तहको कमजोरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोरिडोर निर्माणसँगै धोबीखोलाको पहिचान बनाउन पनि त्यतिकै जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘पूर्वाधार निर्माणमा त्रुटी भएको छ, अहिले देखिएको त्रुटी सच्याउनु पर्छ, बर्षाको समयमा खोला बस्तीमा पस्ने क्रम बढदै गएको छ,हिउदको समयमा खोलामा कमिलो हिडने अवस्था छ, अब बर्षाको पानी जम्मा गर्ने गरी ड्याम निर्माण गर्नुपर्छ ।’ दजनौ पटक धोवीखोला सरसफाईको अभियान सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले सफाईसँग फोहोर फ्याक्ने क्रम पनि नरोकिनु चिन्ताको विषय भएको बताउनुभयो । शहरमा बस्ने नागरिकले खोलामा ल्याएर फोहोर फ्याक्ने चेतना बदल्न नसक्नु हामी सबैको सामुहिक असफलता पनि हो । हामीले रोक्न सकिरहेका छैनौ । सुधार गरेर लैजानु पर्छ, उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोलाको सधारसँगै फोहोर व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । खोलालाई स्वच्छ राख्नको लागि घरको फोहोर खोलामा फ्याक्ने क्रम रोक्न आवश्यक भएकोमा जोड दिदै उहाँले खोलाको पहिचान बचाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धब खरेलले राममन्दिरबाट माथिल्लो क्षेत्रमा समेत कोरिडोर विस्तार गरिनु पर्ने माग गर्नुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त एवं धोवीखोला कोरिडोर सुधार आयोजनाका प्रमुख दिनेश कृष्ण पोतेले धोवीखोलालाई पुरानै अवस्थामा फर्काउन ड्याम निर्माणको योजना अघि बढाउन लागिएको बताउनुभयो । उहाँका अनुसार ड्याम निर्माण गर्न अध्ययनको काम भइरहेको छ । आयोजना मार्फत हाल बागमती दोभानदेखि बुढानिलकण्ठसम्म दायाँबायाँ १२/१२ किलोमिटर गरी २४ किलोमिटर धोवीखोला कोरिडोर निर्माणको काम करिब सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाको राम मन्दिर क्षेत्रमा पहिरोको कारण करिब तीन सय मिटर क्षेत्रमा पनि कोरिडोर निर्माणको काम भइरहेको छ । काठमाडौंको ट्राफिक जाम घटाउने मुख्य उदेश्यसहित धोबीखोला कोरिडोर निर्माणको काम अघि बढाइएको थियो ।

आयोजनाले खोलामा सिधै ढल मिसाउने काम रोक्नको लागि पनि अध्ययनको काम अगाडि बढाएको छ । बुढानिलकण्ठदेखि बागमती दोभानसम्म झण्डै साठी भन्दा बढी स्थानमा सिधै ढल खोलामा मिसाइएको छ । आयोजनाले सिधै ढल मिसाउने निकायसँग समन्वय गरेर ढुलमुक्त बनाउने योजना पनि अघि सारेको छ । आयोजना प्रमुख पोतेका अनुसार खोलाको स्वच्छता बचाउनका लागि हाडीगाउँ क्षेत्रमा करिब पाँच रोपनी क्षेत्रमा ढल प्रशोसन केन्द्र निर्माण गर्ने योजना अघि बढाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ढल प्रशोधन केन्द्र नहुँदा खोला सफा हुन सकिरहेको छैन, जग्गाको व्यवस्थान गरेर प्रशोधन केन्द्र निर्माण गर्नुको विकल्प छैन् ।’ धोबीखोला कोरिडोर निर्माण गर्न हालसम्म तीन अर्ब ३० करोड भन्दा बढी खर्च भइसकेको आयोजनाले बताएको छ ।

उक्त कार्यक्रममा बागमती प्रदेश सांसद नुच्छे नारायण श्रेष्ठ, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव खरेल, काठमाडौं विकास प्राधिकरणका आयुक्त नारायण प्रसाद भण्डारी, धोबीखोला सरसफाईका अभियन्ता इन्द्रबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्