व्यवसायीको कब्जामा फेवा, फोहोर अव्यवस्थित



पोखरा ।

पोखराको फेवातालको सिरान क्षेत्र भूमाफियाको कब्जामा पर्दै आइरहेको कुरा नौलो होइन । सिमसार क्षेत्र पुर्ने र गैरकानुनी रूपमा जग्गा बेच–विखनसमेत भइरहेकोमा अहिले व्यवसायीको चलखेल बढ्दै गएको छ ।

पोखराको वाराही मन्दिरदेखि हल्लनचोकसम्मको पैदलमार्ग (फुट ट्रयाक) मा व्यवसायीले कब्जा जमाएका छन् । उनीहरुले कब्जा गरेको फेवा किनार आम्दानी गर्ने गज्जबको थलो बनिरहँदा फोहोर व्यवस्थापनमा भने ध्यान दिइरहेका छैनन् । एकातिर गैरकानुनीरूपमा फेवाकिनार कब्जा गरिरहेका छन् भने अर्का तिर फोहोर अव्यवस्थित देखिएको छ ।

करिब १० वटा रेस्टुरेन्टले आफ्नो टेबल तथा कुर्सी फेवाकिनारमा राखिरहेका छन् । त्यसरी राख्दा फुट ट्रयाकमा हिँड्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको छ । सबैभन्दा बढी पर्यटक घुम्ने क्षेत्र नै त्यसरी कब्जा हुँदा समेत स्थानीय निकाय तथा सम्बन्धित निकाय मौन छ । व्यवसायीले अटेरी गरेर बिनास्वीकृत व्यवसाय गर्दा पनि कुनै कारबाही हुन सकिरहेको छैन ।

पोखरा महानगरपालिका नगर प्रहरी निरिक्षण प्रमुख तथा वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले फेवाकिनार मात्र नभई कुनै पनि सार्वजानिक स्थान कब्जा गर्नु गैरकानुनी रहेको सुनाउनुभयो । उहाँले फेवाताल पटक–पटक अतिक्रमणमा पर्दै आइरहेको कुरा महानगरले समेत स्वीकारेको बताउनुभयो । तर, महानगरलाई थाहा भएको कुरामा समेत कारबाही गर्न नसक्नुमा महानगरको ठूलो कमजोरी रहेको शर्माको भनाइ छ ।

‘हामीले पनि फेवाकिनारमा अस्थायी संरचना बनाएको भन्ने कुराहरु सुन्ने गरेका छौं, तर हामी जाँदा त्यहाँ केही देखिँदैन । नगर प्रहरी पुग्दा सबै उठिसकेका हुन्छन् । भाग्छन्’, उहाँले भन्नुभयो– ‘फेवाताल भनेको पर्यटकीय क्षेत्र हो त्यसलाई जोगाइराख्नु सबैको दायित्व हो । हामी त्यसलाई तत्कालै हटाउने तयारी गर्छौं ।’

फेवातालको नक्साङ्कन सिमाङ्कनको कामसमेत सकिएर प्रतिवेदन तयार भइसक्दा समेत फेवातालको मापदण्ड निर्धारण नहुँदा अतिक्रमण बढ्ने प्रक्रिया नरोकिएको हो । उता पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत्बहादुर पहारीले पटक–पटक वडा र महानगरपालकाले हटाउन आग्रह गर्दा केही समय हटाउने र पुनः राख्ने काम भएको बताउनुभयो ।

तर, उक्त कार्यमा वडाले तदारुकता नदेखाएको प्रस्ट देखिएको छ । स्थानीय निकायले व्यवसायीलाई भन्न समेत आँट गर्न सकेका छैनन् । वडाले गैरजिम्मेवारी तरिकाले बनाएको स्वीकारे पनि त्यसलाई हटाउने कष्ट भने गरेको छैन । ‘पटक–पटक व्यवसायीलाई पैदलमार्गभन्दा तल्लो क्षेत्रमा व्यवसाय नगर्न अनुरोध गर्दै पत्रचारसमेत गरेका छौं । तर, राख्ने प्रवृत्ति भने हटेको देखिएन्’, उहाँले भन्नुभयो– ‘फेवाताल सफा गर्नका लागि कर्मचारी नै खटाएका छौं ।’ फेवा किनार सफा गर्ने कर्मचारीले भने पारिश्रमिक लिने तर काम नगर्ने गरेको देखिन्छ ।

वडाध्यक्षले तत्काल फालेको फोहोर बताइरहँदा त्यो फोहोर हेर्दा भने त्यहाँ लामो समयदेखि सफा नगरेको देखिन्छ । फेवाकिनारमा फोहोर फाल्ने बाल्टिनको व्यवस्था भए पनि बाहिर निकै फोहोर फालेको देखिन्छ । तालकोकिनारमा बियरका बोतल, पानीका बोतल, चाउचाउलगायत प्लास्टिकहरुसमेत प्रसस्त देखिन्छन् । फेवातालमा काम नलाग्ने डुंगासमेत त्यसै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्