चितवनमा भेटियो उच्च पौष्टिकयुक्त माछा



हेटौंडा ।

उच्च पौष्टिक तत्व भएका विभिन्न रैथाने माछा चितवनमा फेला परेका छन् । चितवनको बरन्डाभार क्षेत्रमा रहेका राइनो ताल, टाइगर ताल, रामपुर घोल र खगेरी खोलामा गरिएको अनुसन्धानबाट उच्च पौष्टिक तत्वयुक्त तीन प्रजातिका माछासहित ३४ प्रजातिका रैथाने माछा फेला परेका हुन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा डिभिजनल वन कार्यालय चितवन र स्थानीय नवजागृति सामुदायिक वन उपभोक्ता समूहसँगको साझेदारितामा एमडीआई नेपालले सञ्चालन गरेको अनुसन्धानबाट रैथाने पौष्टिकयुक्त माछा रहेको पत्ता लागेको हो ।

टाइगर ताल र राइनो तालसहित सिमसार क्षेत्रमा दुर्लभ भनिएको मारा, पोठी र डेढुवा जातका माछा पर्याप्तरूपमा पाइएको अनुसन्धानमा संलग्न कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका माछाविज्ञान संकाय उपप्राध्यापक राहुल रञ्जनले बताउनुभयो ।

मारा प्रजातिका माछा दुर्लभ माछाका रूपमा पछिल्लो १० वर्षयता देखा नपरेको बताइन्छ । विश्वविद्यालयले समेत अनुसन्धानका लागि अन्यत्रबाट माछा खोजेर ल्याई काम चलाएको सम्झ“दै उहाँले भन्नुभयो– ‘हामीले नपत्याएको सिमसार क्षेत्रमा ठूलो परिमाणको बहुगुणी माछा फेला पार्यौं ।’ माछा विज्ञसमेत रहनुभएका उपप्राध्यापक रञ्जनका अनुसार मारा माछामा भिटामिन ‘ए’ को मात्रा अधिक छ ।

भिटामिन ‘ए’ सहित प्रोटिन, खनिज, ओमेगा–३ जस्ता अन्य तत्व पनि मारा माछामा पाइन्छ । अध्ययनका अनुसार मारा माछामा सबैभन्दा बढी भिटामिन ‘ए’ पाइन्छ । १ सय ग्राम मारा माछामा भिटामिन ‘ए’ को मात्रा ६८५.५ आरई (भिटामिनमापन एकार्इं) मात्रा पाइने उहाँले बताउनुभयो । सिल्भर र कार्प माछामा भिटामिन ‘ए’ को मात्रा ३० आरईमात्र रहेको माछा विज्ञ बताउ“छन् ।

बंगलादेशलगायत विभिन्न देशहरुमा भिटामिन ‘ए’ को मात्रा पुर्याउन गर्भवती, सुत्केरी, बालबालिका र अशक्तका लागि मारा माछाको पाउडरलाई पौष्टिक आहारका रूपमा प्रयोग गर्ने गरिएको छ ।

मारा माछा संरक्षण र विस्तार गरी नेपालको कुपोषित गाउ“बस्तीका बालबालिकालाई लक्षित गरेर पौष्टिक आहारका रूपमा प्रयोग गर्न सकिने सम्भावना चितवनमा गरिएको माछा अध्ययनले देखाएको मनहरी विकास संस्था (एमडीआई नेपाल) का कार्यकारी अध्यक्ष खोपनारायण श्रेष्ठ बताउनुहुन्छ ।

मारासँगै राइनो र टाइगर तालमा फेला परेका विभिन्न किसिमका पोठी र डेढुवा माछा पनि भिटामिन ‘ए’, ओमेगा–३ र जिंकलगायत तत्व भएका माछाहरु रहेको उहाँले बताउनुभयो । यी रैथाने माछा व्यावसायिकरूपमा विभिन्न तालतलैया र व्यावसायिक पोखरीमा सजिलै पाल्न सकिने पनि अध्ययनले देखाएको छ ।
‘यी पौष्टिकयुक्त माछा व्यावसायिक पोखरीहरुमा सजिलै विस्तार गर्न र व्यावसायिक उत्पादन गर्न सकिन्छन्’, श्रेष्ठ भन्नुहुन्छ– ‘नेपालको पोषण अवस्था सुधारस“गै आर्थिक वृद्धिका निम्तिसमेत रैथाने माछाले ठूलो योगदान दिन सक्छन् ।’

राइनो ताल, टाइगर ताल, रामपुर घोल, खगेरी खोलालगायत पानीका स्रोतमा गरिएको अनुसन्धानले अर्नामेन्टल (एक्वारियममा सजावटका लागि राखिने) माछासमेत फेला परेको खुलेको छ । जबकि, वार्षिकरूपमा करोडौंका अर्नामेन्टल माछा भारतलगायत देशबाट नेपाल भित्रिँदै आएको छ ।

एमडीआईले २ वर्षसम्म बरन्डाभारको टाइगर ताल, राइनो ताल, खगेरी खोला र रामपुर क्याम्पसको घोलमा रैथाने माछाबारे अध्ययन गरेको थियो । जसअनुसार ३४ प्रजातिका रैथाने माछा फेला परेका हुन् । हाल नेपालमा रैथाने प्रजातिका २ सय ३६ माछा अस्तित्वमा रहेको बताइन्छ ।

परियोजनाअन्तर्गत बरण्डाभार समन्वय समितिको कार्यालय भरतपुर–११ गाईखर्कमा माछा संग्रहालय स्थापना गरिएको छ भने माछापालनका लागि प्रयोग हुने पानी सदुपयोग गरी तरकारी बाली लगाउन सकिने एमडीआई नेपालका कार्यक्रम संयोजक टोपबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्