जागिर, समाज र भाष्य



  • मिमबहादुर परियार

जागिरको सवालमा, आजको मितिसम्म पनि नेपाली समाजमा राम्रो जागिर खानुपर्छ भनेर सल्लाह दिइन्छ । स्कुल, कलेजमा प्रायः विद्यार्थीलाई जागिर खानुपर्छ भनेर उत्प्रेरणा दिइन्छ । नेपाली समाजमा जागिर नै सबै थोक हो भन्ने हेतुले, यसको अन्य विकल्प छैन जस्तो गरेर चित्रण गरिएको छ । दशैंका आसिकमा पनि राम्रो जागिर खानू भन्ने छुट्दैन । समाज, परिवार, मान्यजन तथा ठूलाबडाका सल्लाह सुझावमा जागिर अवश्य झुन्डिएको हुन्छ । त्यसैको फलस्वरूप युवा पुस्तामा पनि जागिरे मोह दिनानुदिन बढ्दो छ ।

जागिरका विज्ञापनमा लाखौं युवा झुन्डिएको दृश्य सामान्य भएको छ । जागिरको भाष्यप्रति नेपाली समाजको सोचाइ एकदम पुरानै छ । जबकि पश्चिमा समाजको सोचाइ र मार्गचित्र एकदम फरक छ । त्यहाँ मालिक कसरी बन्ने, उद्योगी कसरी बन्ने जस्ता ‘स्टार्ट अप’ योजना बुन्न सिकाइन्छ । नेपालमा भने जसरी भए पनि जागिर खानुपर्छ भन्ने दबाब दिने चलन छ ।

पश्चिमा मुलुकमा बिस्तारै जागिरे परिपाटी परिमार्जित हुँदै छ । उनीहरू उत्पादनमूलक कार्यतर्फ अग्रसर भएका छन् । जसको फलस्वरूप उनीहरू आफू त काम गर्छन् नै, अरुका निम्ति पनि काम सृजना गरिदिन्छन् । त्यहाँ विद्यालय स्तरबाट मालिक बन्नुपर्छ भन्ने माहोल सृजना गरिएको देखिन्छ । अर्काको काम गर्नुभन्दा अरुलाई कसरी काम गराउने, मालिक कसरी बन्ने, कम्पनी कसरी खडा गर्नेजस्ता तरिका सिकाइन्छ । हाम्रो भने अरुको काम कसरी गर्ने, मालिकलाई कसरी खुशी पार्नेजस्ता तरिका सिकाइन्छ । जसको परिमाण हाम्रा युवा जागिरको खातिर लाखौं खर्च गरेर विदेशमा जागिर खान्छन् । कतिपय ठाउँमा जोखिम मोलेर ज्यानको परवाह नगरी युद्धग्रस्त क्षेत्रमा समेत जागिरको निम्ति तयार हुन्छन् । नेपाली समाजमा केही क्रेज भएका जागिर निम्नानुसार चर्चा गरिएको छ ।

लोकसेवा क्रेज
हाम्रो समाजमा सबैभन्दा प्रतिष्ठित र सुरक्षित पेसाको रुपमा निजामती कर्मचारीलाई हेरिन्छ । समाजमा पाइने मान, सम्मान, जागिरको ग्यारेन्टी तथा तलब भत्ताले पनि प्रायः युवाहरु यसप्रति आकर्षित देखिएका छन् । निजी क्षेत्रमा दिइने तलब भत्ता, सेवा–सुविधाभन्दा निजामतीतिर अझ बढी र सुरक्षित पनि छ । यिनै विविध कारणले पनि लोक सेवाको आकर्षण दिनानुदिन चुलिएको छ ।

लोक सेवाको क्रेज, लोक सेवाले लिने परीक्षाको लागि तयारी कक्षाका निम्ति खुलेका संस्थाहरुमा देखिने भीडले पनि त्यसको पुष्टि गरेको छ । बागबजार, पुतली सडकका लोक सेवा पास गर्न सहयोगी तयारी कक्षाकोठा भरिभराउ हुन्छन् । प्रत्येक साइबर, पत्रिका पसलहरुमा फारम भर्ने, विज्ञापन हेर्नेको हुल नै देखिन्छ । निजामती सेवामा प्रवेश गर्नेको तयारी पनि एकदम बेजोड देखिन्छ । दिनरात केही नभनी पुस्तक पढिरहेका हुन्छन् । तयारीमा जुटिरहेका देखिन्छन् ।

लोक सेवाप्रति मानिसमा यति आकर्षण हुनुको मुख्य कारण भनेको स्थायित्व हो । निजामती सेवा प्रवेश गरिसकेपछि, कसैले सितिमिति दबाब दिएर निष्कासन गर्न सक्दैन । अर्को कुरा राष्ट्र सेवाका विभिन्न ढोकाहरु खुलेका हुन्छन् । सिडियो, सचिवजस्ता आकर्षित पदमा पुग्न, राष्ट्रको प्रतिनिधित्व गर्दै उच्च पदमा पुग्ने सम्भावना प्रबल भएर नै युवाहरुको क्रेज लोक सेवा देखिएको छ । स्थायित्व, सम्मान नै लोक सेवाका मुख्य आकर्षण केन्द्रविन्दु हुन् ।

वैदेशिक रोजगार
नेपालको मुख्य आयस्रोतमध्येको एक हो रेमिट्यान्स । देश छोडेर विदेशी भूमिमा श्रम गरी स्वदेशमा पठाएको पैसाले राज्यले आफ्नो अर्थतन्त्र धानेको छ । देशको गरिबी घटाउने काममा पनि वैदेशिक रोजगारीले अहम् भूमिका खेलेको छ । अर्कोतिर देशमा उद्योग कलकारखाना तथा अन्य रोजगारीका सम्भावना एकदम कम छन् । देशको विद्यमान बेरोजगारी समस्यालाई समाधान गर्न पनि धेरै युवा जमातले विदेशिनुपर्ने बाध्यता छ । विशेष गरी भारत र खाडी मुलुकतिर जाने जमात एकदम धेरै छ । अहिले पनि करिब ४० लाख युवा विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् ।

अहिले विदेशमा पढ्ने र उतै व्यवस्थित हुने इच्छा भएका युवाको संख्या पनि धेरै छ । उनीहरूको मुख्य रोजाइ अमेरिका, अस्ट्रेलिया, युरोप, जापानलगायतका विकसित मुलुक रहेका छन् । अर्कोतिर अभिभावकहरुले सन्तानलाई विदेशमा पढ्न पठाउनु पनि प्रतिष्ठाको विषयसँग जोडिन थालेको छ । यस्ता प्रत्येक परिवारको चाहना हातमा आइफोन, काखमा एप्पलको ल्यापटप राख्ने रहर, उनीहरूले दिने अभिव्यक्तिमा देखिन्छ । मेरो बाबु–नानी, न्यूयोर्क, बोस्टन, लसएन्जल, लन्डन, मेलबर्नमा छ भन्ने धेरै अभिभावकले धोको पालेर राखेका पनि छन् । यिनै विषय र मानसिकताले अमेरिका तथा विकसित मुलुकप्रेमी नेपालीहरुको संख्या समाजमा दिनानुदिन बढेको छ ।

अमेरिका तथा विकसित देशप्रति नेपालीका सपना कति छन् ? निश्चितरूपमा सपना धेरै छन्, अथाह छन् । अझ नेपालजस्तो विकासोन्मुख राष्ट्रका नागरिकमा प्रशस्तै छ । खाडी मुलुकमा आफ्ना सपना साकार पार्छु भन्ने समाजमा अमेरिकका र अन्य विदेशी मुलुकमा नहुने कुरै भएन । त्यसको केही ज्वलन्त उदाहरण, डीभी भर्नको लागि रातारात दुई गुना मूल्य तिरेर पासपोर्ट बनाउने युवा जमातको ताँती, राहदानी विभागमा प्रत्येक वर्ष डीभी भर्ने समयमा देखिन्छ । निःशुल्क भर्न मिल्ने ईडीभी, २५० तिरेर स्टुडियो तथा डीभी भर्ने ठाउँमा हुने भीडले सबै कुरा स्वतः बोल्छ । ओठमा जुँगाको रेखी नबसेका, कक्षा १२ उत्तीर्ण १७–१८ वर्ष उमेरका विद्यार्थीको टोफेल, आईएलटीएस, जेएलटी तयारी कक्षामा उपस्थित विद्यार्थी र काठमाडौंका गल्ली–गल्लीमा खुलेका शैक्षिक परामर्श केन्द्रको संख्या हेर्दा पनि हुन्छ ।

पसल संस्कृति
पसल, दोकान, होटल, सो रुम इत्यादि जे नाम भए पनि, जस्तो आकारका भए पनि नेपालमा भएका गाउँ–शहरहरु यिनैले भरिएका छन् । शहर–बजारहरु हुनुको विशेष परिचय यिनै किनबेच गर्ने थलोले दिने गरेका छन् । भव्य एसी जडित पसलदेखि नाङ्लोमा चुरोट, गुट्खा राखेर बेच्ने व्यापारी देशका शहर–बजारमा धेरै छन् । तारे होटलदेखि सडक किनारमा ग्यास बालेर ठेलागाडामा चिया बेच्ने कैयौं नेपाली छन् । जसको मूल उद्देश्य भनेको स्वरोजगारी सृजना गर्नु र मुनाफा कमाएर जीविकोपार्जन गर्नु हो । तुलनात्मकरुपमा हेर्दा पसल व्यवसाय गर्नु अन्य पेसाभन्दा सहज छ । खेतीपाती, उद्योग कलकारखाना तथा अन्य उत्पादनमूलक काममा पसल सञ्चालनमा जस्तो सहजता हुँदैन । सञ्चालनको निमित्त खासै ठूलो अध्ययन र विज्ञता पनि आवश्यकता पर्दैन । त्यसकारण पनि स्वरोजगारीहरु पसल व्यवसायप्रति धेरै आकर्षित देखिएका छन् ।

नेपालको सन्दर्भमा देशभर कति संख्यामा पसल छन् भन्ने ठ्याक्कै यकिन तथ्यांक छैन । तर पसल भने यत्रतत्र छरिएका छन् । सडकदेखि सदनभित्र पसल खोलिएका छन् । देशका विभिन्न कुना–कुनामा, गाउँका बहर–बजारका सडकपेटीका दुवै किनारामा लस्करै पसल खोलिएका छन् । धेरै युवाको रुचि पसल खोल्नेमा देखिएको छ । गाउँदेखि शरहरसम्म पसल खोल्ने लहर चलेको छ । के युवा, के वृद्ध पसल खोलेर बसेको दृश्य धेरै देखिन्छ । वैदेशिक रोजगारीबाट फर्किएर गर्ने के ? काम नपाए गर्ने के ? पहिलो र अन्तिम उपाय, विकल्प भनेको पसल सञ्चालन गर्नु देखिएको छ । अधिकांशले होटल, खाद्यान्न पसल, कस्मेटिक पसल, रेडिमेड कपडा पसल इत्यादि खोल्ने परिपाटी दिनानुदिन बढ्दो छ ।

अमेरिकाको न्यूयोर्कदेखि नेपालको न्यूरोडसम्म पसल छन्, सटर छन् । पसल, सटरहरु व्यापारिक केन्द्रको मुख्य थलो हुन् । उत्पादित वस्तु खरिद–बिक्री गर्ने प्रमुख माध्यम पनि हुन् । राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड पनि हुन् ।

एक हिसाबले देशमा आर्थिक कारोबार गर्ने पसलको संख्या बढ्नु, रोजगारीको संख्या थपिनु पनि राम्रो हो । राज्यमा व्यापार व्यवसाय फस्टाउनु सकारात्मक पक्ष हो । तर ती पसलभित्रका सामान स्वदेशी भए, नेपालभित्रै उत्पादन भए, खरिद–बिक्रीको पुँजी देशभित्रै घुमेको खण्डमा एकदम राम्रो हुन्थ्यो । देशभित्रै हुने पुँजीगत साइकलले राज्यको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँछ । रोजगारी, करलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्छ । अझ स्वदेशी उत्पादनलाई बाहिरी मुलुकमा निर्यात गर्न सके अर्थतन्त्र सबल हुन्छ । राज्यले विदेशी मुद्रा आर्जन गरेर आफ्नो व्यापार घाटालाई घटाउन सक्छ । छिमेकी राष्ट्र चीन, भारत यसको गतिलो उदाहरण हुन् । विडम्बना, नेपालमा स्वदेशी वस्तु निर्यातको मामलामा धेरै टाढा छ । हाम्रो परनिर्भरता दिनानुदिन बढेको छ । र त नेपालको अर्थतन्त्र ऋणात्मक रहेको छ ।

निष्कर्ष
माथि उल्लेख गरिएका पेसा व्यवसायलाई अनावश्यक र नकारात्मक टिप्पणी गर्न खोजिएको होइन । तर देशमा जबसम्म उत्पादन हुँदैन तबसम्म समृद्वि देखिँदैन । तुलनात्मक रुपमा जागिरभन्दा सृजनात्मक र उत्पादनमूलक काममा धेरै फाइदा हुन्छ । राज्यका विभिन्न निकायले सक्रिय हुने मौका पाउँछन् र सतहबाट माथिसम्म लाभ लिनेको संख्या क्रमशः बढेको देखिन शुरु हुन्छ । संसारका एकसय एक खर्बपति औद्योगिक व्यवसायी नै हुन्, जबकि जागिरे खर्बपति शायदै होलान् ।

नेपाली सन्दर्भमा जागिरदारहरुको अवस्था खान–लगाउन मात्र सीमित छ । भलै जागिरमा जोखिम हुँदैन, तीस दिनप्रश्चात् सीमित पैसा आउँछ । तर व्यवसाय तथा औद्योगिक कार्यमा मनग्य धन आर्जन हुन्छ । व्यवसायमा जोखिम जरुर छ तर अवसर र सम्भावना उत्तिकै छ । राज्यले पनि जागिरमा भन्दा कलकारखाना, उद्योगमा राजस्व संकलन बढ्ता गर्न सक्छ । स्वदेशमा खुलेका कलकारखाना, उद्योगले हजारौंको संख्यालाई रोजगारीको अवसर प्रदान गर्दछ, जुन निकै सकारात्मक र लाभदायक देखिन्छ । विडम्बना, नेपालमा मास जनसंख्यालाई थेग्ने संस्थाहरुको संख्या धेरै न्यून छ ।

अन्त्यमा, विश्व बजारमा नेपाली युवा सस्तो मूल्यमा श्रम बेच्न बाध्य छन् । देशले आफ्नो जनशक्ति बेच्नु आफैंमा राम्रो हो/होइनको बहस गर्नुभन्दा, केही नहुनुभन्दा केही हुनु जुरुर राम्रो हो । जागिर–जागिर भन्दै कार्यगत दक्षता नभएको तर जागिरे मानसिकता रहेको देखिन्छ । जुन परम्परा नेपाली समाजमा नयाँ होइन । अब जसरी हुन्छ यस्तो एकलकाटे परम्परालाई परिमार्जित गरी सृजनशील र उत्पादनमूलक कार्यको थालनी गर्नुपर्छ ।

देशमा लाखौंलाख जनसंख्याले रोजगारी पाउने उद्योग कलकारखाना नेपालीबाट शुरु हुनुपर्छ । कसरी हुन्छ जागिरका पछाडि दौडने चलनलाई परिवर्तन गरी समूहगत र संस्थागतरुपा अगाडि बढ्ने माहोलको सृजना हुनुपर्छ । त्यसको लागि राज्यले अध्ययन, अनुसन्धानमार्फत एउटा निश्चित मार्गचित्र निर्माण गर्नुपर्छ । त्यसपश्चात् देश स्वतः समृद्वितिर लम्किन्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्