आयुर्वेदको नाममा हुने ठगीबाट सावधान



-डा. अरुणा उप्रेती

खकुरेल थरकी ७० वर्षीया महिलाले टेलिभिजनमा आयुर्वेदिक मलमले ‘दुखेको घुँडा ठीक पार्ने र नपारे पैसा फिर्ता’ भन्ने विज्ञापन देखेर रु. ६ हजारको औषधि मगाइन् । त्यो मलम लगाएपछि पनि उनको दुखेको घुँडा २० को १९ नभएपछि उनले पैसा फिर्ता मागिन् तर कुनै जवाफ आएन ।

नेपाल र भारतीय टेलिभिजनमा अहिले पनि बिहान–बिहान यस्ता अनेक ठग आयुर्वेदिक मलमको विज्ञापन प्रसारण भएको देखिन्छ । यसै गरी अर्की एक ४७ वर्षीया महिलाले त्यस्तै प्रचारका भरमा हाड–जोर्नीको दुखाइको उपचार गर्ने भनिएका नजिकैका तथाकथित आयुर्वेदिक डाक्टरकहाँ गएर आफ्नो हात–खु्ट्टाको जोर्नी दुखेको गुनासो गरिन् ।

ती तथाकथित डाक्टरले पोको पारेर कुनै नाम नलेखिएको औषधि दिए । त्यो खाएपछि उनको हाड–जोर्नी दुख्ने समस्या त कम भयो तर उनको शरीरको तौल एकाएक निकै बढ्यो ।

त्यसपछि उनी पाटन अस्पतालमा जँचाउन गइन् । साथै उनले त्यो तथाकथित डाक्टरले दिएको नाम नभएको आयुर्वेदिक औषधि पनि लगिन् । पाटन अस्पतालमा उनको जोर्नी दुख्ने समस्याको साथै उक्त नाम नखुलेको औषधिको पनि परीक्षण गरियो । परीक्षण गर्दा आयुर्वेदिक भनिएको उक्त औषधिमा प्रेडनिजलोन नामक तत्व (औषधि) फेला प-यो । यो औषधि आधुनिक चिकित्सा विज्ञानमा बाथको समस्याको लागि प्रयोग गरिन्छ । तर यो औषधि सम्बन्धित डाक्टरको निगरानीमा मात्रै दिइन्छ र डाक्टरको सल्लाह अनुसार बिस्तारै कम गर्दै हटाइन्छ ।

पाटन अस्पतालका डाक्टरले ती महिलाको जाँच गर्दा उनको हाड–जोर्नी बाथको समस्याले दुखेको थाहा भयो । उनलाई त्यो पोकोमा भएको औषधि बन्द गर्न लगाइयो र बाथ–जोर्नीको समस्याको लागि औषधि दिइयो । अहिले उनको समस्या कम भएको छ । तौल पनि घटेको छ ।

ती महिलालाई ‘पहिला नै पाटन अस्पतालमा नआएर किन पोकोमा औषधि दिने डाक्टरकहाँ गएको ?’ भनेर प्रश्न गर्दा उनले ‘आयुर्वेदिक औषधिले शरीरमा कुनै नकारात्मक असर पु-याउँदैन भनेर त्यता लागेको’ बताइन् । वास्तवमा आयुर्वेदिक औषधि पनि जथाभावी प्रयोग गर्दा साइड इफेक्टचाहिँ हुन्छ । त्यसमा पनि नाम नलेखिएको औषधिमा त के–के राखिएको छ भन्ने थाहा हुँदैन ।

आयुर्वेदिक भनेर आधुनिक औषधि मिसाएर दिएपछि त त्यसले गर्ने असर तथाकथित आयुर्वेदिक डाक्टरले पत्तै पाएका हुँदैनन् । जुन डाक्टर जुन विषयको विज्ञ हो उसले त्यही औषधि मात्र सिफारिस गर्नुपर्छ । आफ्नो ज्ञानको दायराभन्दा बाहिर गएर औषधि दिनु अपराध हो । यस्तोबाट बच्न बिरामी आफैँ पनि सचेत हुनुपर्छ ।

वास्तविक आयुर्वेदका औषधिहरुमा कारखानामा बनाएर राम्रोसँग प्याक गरी त्यसमा के–के मिसाइएको छ भनेर लेखिएको हुन्छ । आयुर्वेद पनि एक विज्ञान हो । यस अन्तर्गतका औषधि आयुर्वेदिक डाक्टरहरुले नै सिफारिस गर्ने हो ।

त्यसकारण आयुर्वेदिक पद्धतिको औषधि उपचार गर्नका लागि त्यससम्बन्धी सही डाक्टर हो कि होइन, पहिले यकिन गर्नुपर्दछ ।

आयुर्वेदिक डाक्टरबाहेक अरुले यस अन्तर्गतका औषधि सिफारिस गर्नु पनि गलत हुन्छ । त्यसकारण आयुर्वेदिक पद्धतिको औषधि उपचार गर्नका लागि त्यससम्बन्धी सही डाक्टर हो कि होइन, पहिले यकिन गर्नुपर्दछ । आयुर्वेदका नाममा नेपालमा मात्र होइन, भारतमा पनि धेरै नै ठगी हुने गरेको छ । नेपालका बिरामी पनि आयुर्वेदिक उपचार गर्ने भनेर भारततिर धेरै नै जाने गरेको पाइन्छ । यसमा बिरामीहरुले सचेतता अपनाउन जरुरी छ ।

निरज क्लिनिकबाट आयुर्वेदिक तरिकाले छारेरोगको उपचार गर्ने भनिएका तथाकथित डाक्टर आरके गुप्तालाई भारतको उत्तराखण्डको अदालतले सन् २०१७ मा ५ वर्ष जेल र २१ हजार भारतीय रुपियाँ जरिबाना गरेको थियो ।

आयुर्वेदिक भनेर बेचिएको नाम नलेखिएको पुरिया औषधि
उनलाई सन् २००० मा नै भारतीय चिकित्सक संघले ‘ठग’ घोषणा गरेको थियो । छारेरोगबाट आयुर्वेदको उपचार गर्ने भनेर ठग गुप्ताले इन्टरनेटमा अनेक ठूला फोटो खिचाएर पनि राख्ने गर्थे । उनको र क्लिनिकको फोटो अहिले पनि इन्टरनेटमा देखिन्छ ।

उनले छारेरोगको उपचारका लागि आधुनिक औषधि पिसेर केही आयुर्वेदिक औषधिमा मिसाई आयुर्वेदिक औषधि भनेर बिरामीलाई दिने गर्थे । त्यसरी धूलो औषधि खाएपछि केही दिन ठीक भएजस्तो भए पनि पछि बिरामीलाई अनेक प्रकारको असर जस्तै– जीउमा डाबर आउने, चिलाउने, ज्वरो आउने समस्या भएका थिए । त्यस्ता पीडित बिरामी अन्य डाक्टरकहाँ जँचाउन आउन थालेपछि चिकित्सकहरुले नै गुप्ताको विरुद्धमा उजुरी दिएका थिए ।

सन् २००४ मा पनि गुप्तालाई प्रहरीले समातेको थियो । क्यानडामा बसोबास गर्ने एक भारतीय मूलकी महिलाले छारेरोग भएको आफ्नो छोरालाई निरज क्लिनिकमा ल्याएर तथाकथित आयुर्वेदिक औषधि गराइन् तर त्यसले छोरालाई झन् समस्या गरेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीले निरज क्लिनिकमा छापा मार्दा छारेरोगविरुद्ध प्रयोग गरिने थुप्रै आधुनिक औषधिहरु त्यो क्लिनिकमा भेटिए । आधुनिक औषधिहरुलाई पिसेर आयुर्वेदिक औषधिमा मिसाई पोको बनाएर बिरामीलाई आयुर्वेदिक औषधि भनेर दिने गरेको समाचार बाहिरिएपछि सम्बन्धित चिकित्सकहरुले उनको विरोध गर्दै कारबाहीको माग गरेका थिए ।

ठग डाक्टरको क्लिनिकबाट आयुर्वेदिक औषधिको नाममा दिइने छारेरोगविरुद्धको औषधि जाँच गर्दा फेनोबारबिटोन, फेनोटोइनजस्ता आधुनिक औषधिको मात्रा प्रयोग गरेको पाइएको थियो । त्यस बेला प्रहरीले गुप्तालाई बिरामीलाई ठगेको, भ्रमपूर्ण विज्ञापन गरेको भन्ने आरोप लगाएको थियो ।

निरज क्लिनिक
आयुर्वेदिक उपचारको नाममा क्यानेडियन महिलाको छोरालाई जथाभावी औषधि दिँदा बिरामी भई उनको भित्री अंगमा क्षति भएकोले अदालतले निरज क्लिनिक चलाउने गुप्तालाई रु. १५ लाख जरिबाना तिर्न आदेश जारी गरेको थियो । अझै पनि यो निरज क्लिनिकले छारेरोग उपचार गर्ने भनेर वेबसाइटमा सूचना राखेको देखिन्छ ।

नेपालबाट पनि कतिपय बिरामीहरु आयुर्वेदको उपचारबाट छारेरोग निको हुन्छ भनेर त्यहाँ पुगेका हुन सक्छन् । उनीहरुमध्ये कतिपयलाई समस्या परेको पनि हुन सक्छ । मुम्बईका एक प्रशिद्ध पेटरोग विशेषज्ञ डा. नीलम मेहताले राजकोटका एक व्यापारी नक्कली आयुर्वेदिक उपचार गर्ने डाक्टरको फन्दामा परेको घटना सार्वजनिक गरेका थिए ।

ती व्यापारीले १० महिनासम्म मधुमेहको समस्याको उपचारको लागि आयुर्वेदिक औषधि प्रयोग गरेका थिए । यस क्रममा ती व्यापारीलाई केही समयपछि मिर्गौलाको समस्या भयो । उनलाई डाक्टरले आयुर्वेदिक औषधिका नाममा अरु नै कुनै औषधि मिसाएर दिएकाले त्यो औषधिका कारण उनी बिरामी परेको पत्ता लागेको थियो । त्यसपछि सम्बन्धित डाक्टरले त्यो औषधि छुटाएर अर्को उपचार शुरु गरे तर उनलाई पूरा ठीक भने हुन सकेन । किनकि आयुर्वेदिक औषधिको नाममा दिइएको औषधिले उनलाई निकै क्षति गरिसकेको थियो ।

केही समयअघि भारतको मुम्बईमा केही डाक्टरहरुले आयुर्वेदिक औषधिको नाममा दिइने नामविनाका औषधिको अनुगमन गरेका थिए । यस क्रममा २४४ वटा औषधिको रसायन जाँच गर्दा ९६ प्रतिशतमा ‘स्टेरोइड’ (आधुनिक चिकित्सामा प्रयोग गरिने कडा औषधि) को मात्रा भएको फेला प-यो ।

यस अध्ययनमा संलग्न डा. कल्याण गगंवालले वैद्यको नाममा ठगी गर्नेमध्ये कतिपयले पे्रडनिजलोन नामको आधुनिक औषधि पसलबाट किनेर आयुर्वेदिक औषधिमा मिसाएको पाएका थिए । विशेष गरी हाड–जोर्नी दुखेका र दम भएकालाई यस्तो औषधि दिँदा केही समय ठीक भएको जस्तो हुन्छ तर पछि तौल बढ्ने, जोर्नी सुन्निने समस्या हुन्छ । यस्तो समस्या लिएर उनीहरु एलोपेथी डाक्टरकहाँ जँचाउन आएको पाइन्छ ।

उनीहरुलाई दिएको आयुर्वेदिक भनिएको औषधिको जाँच गर्दा त्यसमा अनेक खालका आधुनिक औषधि मिसाइएको पाइन्छ । पोको पारेर यसरी ठगी गर्ने कुनै–कुनै औषधिमा त दुई–तीन थरीका स्टेरोइड पनि मिसाइएको पाइएको छ । आयुर्वेदको नाममा यसरी दिइने त्यस्ता औषधिहरुबाट होसियार हुनुपर्दछ ।

आयुर्वेद र आधुनिक औषधि दुवैले स्वास्थ्य रक्षा गर्छन् । कुनै समस्या परे वैद्यको औषधि दिँदा पनि प्याकेटमा राम्रोसँग नाम लेखिएको औषधि दिइन्छ । तर नाम थाहा नभएको, ग्यारेन्टी ठीक पार्ने, विनाशल्यक्रिया हाड–जोर्नी भाँचिएको ठीक पार्ने भन्ने विज्ञापनमा विश्वास नगर्नु नै हितकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्