काेरोना घटेपछि तातोपानीमा नुहाउने बिरामीको भीड (फोटोफिचर)


प्रताप बानियाँ, म्याग्दी ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा रहेको तातोपानी कुण्डमा बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो ।

प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरु बढेका छन् । कोरोनाको जोखिमका कारण यसअघि बन्द गरिएको तातोपानी कुण्ड संक्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको छ ।

अहिले कुण्डमा दैनिक महिला २ सयजना र पुरुष १ सय जनाले नियमित स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि बिरामीहरुलाई अनुमति दिइएको अध्यक्ष शाक्यले बताउनुभयो ।

तातोपानी कुण्डमा नुहाउने बिरामीहरुको सङ्ख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ । हरेक दिन बिहान ६ देखि बेलुका साढे ४ बजेसम्म दुई–दुई घण्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ ।

मुख्य कुण्डभन्दा बाहिरका २ वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको कुण्डले जनाएको छ । अहिले पुरुषको तुलनामा महिलाहरु धेरै सङ्ख्यामा आएपछि उनीहरुलाई पनि २ चरणमा नुहाउने गरी समयको तालिका बनाइएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताउनुभयो ।

समितिले बनाएको समय तालिकाअनुसार महिला र परुषले आ–आफ्नो पालोअनुसार कुण्डमा स्नान गर्ने गरेका छन् । तातोपानी कुण्डमा स्नान गरेपछि चिसोका कारण खुट्टाको दुखाई कम भएको पोखरा लामाचौरबाट तातोपानीमा नुहाउन आउनुभएकी आछेम गुरुङले अनुभव सुनाउनुभयो ।

हाल तातोपानी कुण्डमा २ जना विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीहरुले दैनिकजसो स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा आउने अधिकांश बिरामीहरु एक हप्तासम्म तातोपानीमै बसेर नुहाउने गर्दछन् ।

कुण्डभित्र मुख्य पोखरीमा नुहाउनका लागि प्रतिव्यक्ति तीनसय ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति एकसय रुपैयाँको टिकट लिनुपर्छ । एकपटक टिकट लिएपछि कुण्डभित्र ७ दिन र बाहिरको पोखरीमा २ घण्टाको समयसम्म मज्जाले स्नान गर्न पाइन्छ ।

तातोपानीमा पर्यटकको चहलपहल बढ्दै

यसअघि कोरोना भाइरस संक्रमणको कारण लामो समय तातोपानी कुण्ड बन्द भएको थियो । पछिल्लो समय कुण्ड खुला गरिएको भए पनि कुण्डमा नुहाउन आउने बिरामीको सङ्ख्या भने न्युन थियो । अहिले पुनः बिरामीहरुको भीड बढ्दै गएको छ।

तातोपानी कुण्ड सञ्चालनमा आएसँगै तातोपानी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरुको समेत चहलपहल बढेको स्थानीयवासी बताउँछन् ।

कुण्डमा नुहाउन र तातोपानी क्षेत्र भ्रमणमा आउनेहरुलाई तातोपानीका होटल व्यवसायीले म्याग्दीखोलाको असला माछासँगै फापरको ढिँडो र स्थानीय खानाका परिकारहरुको स्वाद चखाउने गर्छन् ।

कुण्डमा नुहाउँदा कुन–कुन रोग निको हुन्छ ?

तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुईवटा पोखरी, तीनवटा बाथटप र धारामा नुहाउन पाइन्छ ।

जमिन मुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।