हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै



लमजुङ ।

फागुनको अन्तिम सातादेखि लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय अभियानअन्तर्गत फागुन २८ गतेदेखि जिल्लामा औषधि खुवाउने भएको हो ।

लमजुङमा पनि हात्तीपाइले रोगको उच्च जोखिम रहेकाले अभियानलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा हात्तीपाइले रोगको प्रकोप दर औसतमा चार प्रतिशत रहेको छ । जिल्लामा राईनास नगरपालिकास्थित धमिलिकुवा र चक्रतीर्थलाई हात्तीपाइले रोगको उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ । जिल्लामा दुई वर्ष कम उमेरका बालबालिका, सिकिस्त बिरामी र गर्भवती महिलाबाहेक यस वर्ष डेढ लाख बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको प्रमुख दवाडीले बताउनुभयो ।

जिल्लामा हात्तीपाइले रोग निवारणका लागि चुनौती देखिएको छ । जिल्लामा १२ चरणसम्म हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान चले पनि लक्ष्यअनुरुप नियन्त्रण नभएको तथ्यांकले देखाएको छ । राष्ट्रिय अभियानअन्तर्गत लमजुङमा १२औं चरणमा अघिल्लो वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भए पनि लमजुङमा अझै जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिइएको छ ।

२००९ बाट नेपालमा हात्तीपाइले विरुद्ध औषधि खुवाउने अभियान शुरू गरिएको हो । लगातार पाँच वर्ष अभियान सञ्चालन भएपछि पहिलो सर्वेक्षणमा जिल्लामा दुई दशमलब ८३ प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको थियो । त्यस्तै, सातौंपटक अभियान सम्पन्न भएपछि गरिएको सर्वेक्षणमा पाँच दशमलब ३२ प्रतिशतमा जीवाणु भेटिएको थियो ।

लक्ष्यभन्दा बढी जोखिम देखिएपछि उपलब्धि हासिल हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानका क्रममा औषधि वितरण तथा प्रयोग प्रभावकारी नहुँदा उपलब्धि हासिल हुन नसकेको सरोकारवालाहरुको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्