शाखारहित बैंकिङ्ग सेवा सुबानेमा



काठमाडौ (नेस) ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले ललितपुरको वागमती गाउँपालिका, सुबानेमा ९१औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ्गका साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रूपमा सबल बनाउन बैंकले विभिन्न आय आर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जासमेत वितरण गरेको छ । यसबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फाइदा लिन सक्ने बैंकले जनाएको छ ।

यस शाखा रहितबैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्