एमसीसी प्रसंग : यथार्थ कि नाटक हो कमरेडको बोली ?



  • केशव अधिकारी

केही समयअगाडिसम्म एमसीसी पास गर्नुपर्छ भनेर कुर्लने कमरेड प्रचण्ड अहिले आएर एमसीसी पासको विरुद्धमा बोल्न थालेका छन् । उनको त्यो अनौठो क्रियाकलापले माओवादी केन्द्रको छविलाई थोरै भए पनि सुधार गर्ने कुरा प्रक्षेपण गर्न सकिन्छ । तर रजनीतिक घेराको वरिपरिबाट नियाल्दा भने एमसीसी पासको विरुद्धमा बोल्नु कमरेड प्रचण्डको अहिलेको बाध्यता हुन सक्छ । उनको भित्री मनसाय भनेको जसरी भए पनि एमसीसी पास गराएरै छोड्ने भन्ने रहेको छ । त्यसैले एमसीसी पासविरुद्धको उनको त्यो बोली केवल जनता र कार्यकर्ता अलमल्याउन खोज्ने बहाना मात्रै भएको भनेर टिप्पणी गर्नेको खाँचो छैन । यदि उनले अहिलेको एमसीसी पासविरुद्धको बुलन्द भएको आवाजलाई शीतल पानी छर्कने प्रयास गरेनन् भने त आउँदो चुनावमा कुन मुखले भोट देऊ भन्दै आम मतदाताको घरदैलोमा जाने त भन्ने पनि समस्या छ । त्यसैले त्यही पानी छर्केर वर्तमानको उत्तेजित वातावरणलाई केही मात्रामा भए पनि मत्थर पार्दै एमसीसी पासविरुद्धको लङमा उभिएर बोलेका हुन सक्छन् कमरेडले ।

कमरेड प्रचण्डले आफूले चाहेमा एमसीसी पास हुने र नचाहेमा पास हुन नसक्ने भन्ने हेतुले होस् वा वर्तमानको वास्तविकता उदाङ्गो पारेर वर्तमान प्रम शेरबहादुर देउवा पदले प्रधानमन्त्री भए पनि तिनको कार्यकारी अधिकार आफूमा निहित रहेको भन्ने साँघुरो भावनाको बलमा एमसीसी पासको विरुद्धमा गएका पनि हुन सक्छन् । प्रचण्डको विचार अनुसार स्थानीय लगायतका तीनै तहका चुनाव सम्पन्न हुनुअगाडि यस्तै आश्वासनका भरमा देशको राजनीतिलाई धकेलेर लैजाने, चुनाव सम्पन्न भएपछि सिर्जना हुन जाने अनुकूल वातावरणमा एमसीसी पास गराउने भन्ने सोचले पनि काम गरेको हुन सक्छ ।

एमसीसी पास गराउने कि नगराउने भन्ने कुरा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डकै वरिपरि घुमिरहेको छ र उनले राष्ट्रवादी भावनाको सोच बनाई आफ्नो वरिपरि उपग्रहको रुप लिएर घुमिरहेको एमसीसीको कुनै हालतमा पनि पास नगराउने पक्षमा उनी लागेकै हुन् भने पास नगराउनु मात्र किन ? त्यसलाई खारेजै गरेर देखाइदिन सके माओवादी केन्द्रको विगतमा विविध कारणले धमिलिएको छवि अलि सफा र सुन्दर देखिने थियो । यसो भयो भने लाखौँ, करोडौँ जनले एमसीसी पासको विरोध गरेर सडकमा उत्रनुपर्ने आवश्यकता हुने थिएन होला । अचम्मको कुरा त के छ भने, एमसीसी पास गराउने कि नगराउने भन्ने जिम्मा कमरेड प्रचण्डको काँधले थाम्नुपर्ने हो र ? त्यसलाई परै हुत्याएर त्यसको भयपूर्ण लफडाबाट मुक्त भई आफ्नो देशको भविष्यको सही योजनामा लाग्नुपर्ने बेला होइन र ? कतै कमरेड प्रचण्डले जनता र मतदातालाई देखाउनको लागि एमसीसी पासको चर्को विरोध गरेको जस्तो नाटक रचना गर्ने अनि पछि गएर जसरी भए पनि पास नगराइहुँदैन भन्दै कुर्लने हुन् कि भन्ने आशङ्काले आज धेरै नेपाली जनतालाई सताएको छ । विदेशीलाई कम्फरटेबल हुने गरी शासन चलाउन नेपालका शासकलाई सल्लाह दिने कमरेड प्रचण्डले एमसीसी पासको विरुद्धमा बोलेका सुनेर पत्याउन अलि गाह्रै भएको छ । कमरेड प्रचण्डले त्यस्तो धूर्त र कूटनीतिक खेल झन्डै ३ करोड नेपाली जनतालाई धोकाधडीमा पार्ने उद्देश्यले खेलेका रहेछन् भने विगतमा बिग्रिएको छवि सुध्रने होइन कि बाँकी रहेको दुई–चार थोपा छविसमेत खोलैखोला पानीमा बगेर जान बेर लाग्नेछैन । आज ३ करोड नेपालीका आशाका केन्द्र बन्दै बोलेका कुरा भोलिका दिनमा उल्लङ्घन भएको खण्डमा कति नेपालीको उनीप्रतिको विश्वासको मत टुटेर जाने हो भन्ने कुरा यकिन गर्न सकिँदैन ।

एमसीसी जसरी भए पनि पास गराउने मिसन बोकेर सत्तारोहण गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई घुर्की लगाउनको लागि कमरेड प्रचण्डले एमसीसी पासविरुद्धको पक्ष लिएर वकालत गरेका पनि हुन सक्छन् । अहिलेको अवस्थाले एमसीसी पास हुँदा पनि, नहुँदा पनि नेपालीका लागि नायक र अमेरिकाका लागि खलनायक अथवा नेपालीका लागि खलनायक र अमेरिकाका लागि नायक पात्र बन्ने हुन् प्रचण्ड, त्यो भविष्यले बताउँदै र निर्धारण गर्दै लैजाने कुरा निश्चित छ । आखिर जे भए पनि एमसीसी पासविरुद्धमा लागेका लाखौँ नेपालीले एमसीसी पासविरुद्धको आफ्नो आवाजलाई मलीन हुन नदिई खारेज वा पास केको अवस्थासम्म पुगेर अन्त्य हुने हो कि अझै बल्झिएर हामीलाई सताइरहने हो भन्दै आवाज उठाउन बन्द गर्नुहुँदैन ।

एमसीसी पासको लम्बेतान उछालपछाल अब पनि यथावत् नै रहेर जाने हो भने सङ्घारमा आउँदै गरेको तीन तहको चुनावलाई यो विषयले नराम्ररी प्रभावित बनाउने कुरा दृष्टिगोचर हुन पुग्छ । आजका दिनमा तीनै तहका गौडामा बसी नेपाली जनताको पसिना लुटेर खानेहरुलाई भोलिको चुनावले धेरै मात्रामा उछारपछार गर्न सक्छ । आम नेपाली जनताको सामुमा आफ्नो छवि देखाइसकेका हुनाले रित्तो मुख लिएर भोट माग्न कसरी जाने होला भन्ने अल्छे मानसिकताले हरेकजसो राजनीतिक दलका नेता भनाउँदाहरुलाई सताएको छ । चुनावपछिको परिणामले कता हुत्याएर अहिले लुट्दै गरेको जत्तिको पनि लुट्न नपाइएला कि भन्ने डरले पनि धेरैलाई सताएको हुन सक्छ । कुनै सङ्घीय राज्यको विगतको चुनावमा सक्कली मतपत्र च्यातेर नक्कली मतपत्रले जितेको नाटक गर्नेहरुलाई साँच्चै चुनाव भएर आफ्नो पक्षमा जनमत भएन भने के गर्ने ? अर्काले देश लुटेको तर आफूले लुट्न नपाएको कसरी हेर्ने र कसरी सहने होला भन्ने चिन्ताले कैयौँलाई चुनावको तिथि तय नगरेकै समयदेखि निद्रा लाग्न छोडेको छ ।

यदि चुनावको समयसम्म पनि एमसीसी पास वा खारेज दुवै भएन भने त्यही एमसीसीलाई ढाल बनाएर चुनाव कहिल्यै नगराउने वा धेरै लामो समयपछि मात्र गराउने अनि जसरी हुन्छ आफ्नो र आफन्तको पक्षमा पार्ने प्रयत्न हाबी भइरहेको हुन्छ । एमसीसीका कारण चुनाव प्रभावित हुने पूर्वानुमानका आधारमा भन्दा चुनावको तिथिसँगै एमसीसी भरसक खारेजको प्रक्रिया अगाडि बढाउनु र कूटनीतिपूर्ण तरिकाले समस्या सल्टाउने काम गर्नु उपयुक्त हुनेछ । एमसीसी पासको रैलो चुनावपछिसम्म पनि यथावत् रहन गएको खण्डमा एमसीसी हाम्रो हितमा छैन भन्दै यसको विरुद्धमा होस् कि खारेजको पक्षमा होस्, बहस गरिरहेकाहरुले वाक्कदिक्क बनेर बरु पासै गर पछि जे पर्ला भोगौँला भन्ने बाध्यात्मक अवस्था पनि आउन सक्छ । त्यसकारण आफूलाई दुवैतिरका नायक पात्र ठान्ने कमरेड प्रचण्डलाई एमसीसी पास गराउने वा फिर्ता गराउने भन्ने निर्णायक भूमिकामा रहेका बेला किन एमसीसी पासको विरोध मात्रै गरेर समय खेर फाल्दै छन् त ? खारेजै गरेर देखाए हुँदैन र ?

कमरेड प्रचण्ड अत्यधिक रुपमा देशभक्त भएकै कारण एमसीसी पासको विरुद्धमा अभिव्यक्ति दिन थालेका हुन् त ? भोलि नेपाल देशको छातीमा अमेरिकी सैनिकका बुट बजारेर हाम्रै छोरीचेली हाम्रै सामुमा बलात्कृत भइरहँदा हामीले नबोली कसरी सहनु भन्ने मानसिक सचेतनाबाट ओतप्रोत भएरै उनी एमसीसी पासको विरोधमा अभिव्यक्ति दिन थालेका होलान् त ? भोलिका दिनमा उनले आज गरेको एमसीसी पासको विरुद्धमा आम नेपाली जनताले अवाज उठाउनुपरेको खण्डमा उनको आडभरोसामा निर्धक्क भएर लाग्दा सजिलै अवतरण गर्न सकिएला त ? देशभक्त बन्ने नाममा एमसीसी पासका विरुद्धमा जाँदै गर्दा आम नेपाली जनतालगायत उनी पनि अमेरिकाका लागि कट्टर बैरीको स्थानमा पुग्लान् वा राखिएलान् । एमसीसी पास गराउने मिसन नै बोकेर सत्तारोहण गरेका तर एमसीसी पास गराउन सम्भव नहोला कि जस्तो मानसिक चिन्तन आफ्नो दिमागमा घुसाउँदै रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई हामी नेपाली जनताले कुन स्थानमा राखौँला ? उनलाई कुन प्रकारको सम्मान दिँदा सही होला ? एमसीसी पास उनको बर्कतभन्दा बाहिरको कुरो भएकोले उनले हार मानेर छोडेकामा उनको कुनै पुरुषार्थी काम अवश्य ठहर्र्नेछैन । यदि प्रमको पुरुषार्थी काम ठहर्नुपर्ने हो भने त आम नेपाली जनतालाई एमसीसी पास गराउने नाममा यति धेरै मानसिक र शारीरिक यातना दिएर होइन कि आफ्नै कूटनीतिक चातुर्यले उक्त समस्याको हल गर्नतिर लाग्नुपर्ने हुन्थ्यो ।

केही पैसाको मोहमा फसेर एमसीसी पास गराउन वा सर्वप्रथम त एमसीसीको प्रस्ताव नै त्रुटिपूर्ण थियो भन्ने कुरा कम्तीमा आज आएर त बाध्यतावश बुझ्नै पर्ने थियो । दोस्रो कुरो के भने, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनको लागि कमरेड प्रचण्डकै मुख ताक्नुपर्ने अवस्था आउँथ्यो भने आफ्नो पाइलो अट्ने जमिन नभएको मान्छेले आफ्नै जमिनमा कसरी घर बनाउन सक्ला भन्ने कुरो निकै गहिरो सोचाइको कुरो हो । धन हात पर्छ भने पछि जे होला भनेर आँखा चिम्लने हामी आम नेपालीको खराब बानीका कारण आज प्रम देउवाले दुवैतिरिबाट कमरेड प्रचण्डलाई नायक बनाएरै एमसीसी पास गराउने कि खारेज गराउने भन्ने प्रश्नको उत्तर खोज्न विवश बन्नुपरेको छ । हामी आम नेपाली जनताले पनि सबैजसो राजनीतिक दलका नेता भनाउँदाहरुमध्येबाट को–कोचाहिँ कट्टर राष्ट्रवादी अनि को–कोचाहिँ राष्ट्रघाती रहेछन् भनेर पहिचान गर्ने मौका पाएका छौँ । भोलिका दिनमा नेतागणको बलियो साथ चाहिएको खण्डमा राष्ट्रघाती नेताको हात वा सहयोगभन्दा राष्ट्रवादी नेताको सहयोग आम नेपाली जन र नेपाल देशका लागि अपरिहार्य हुनेछ । भरसक हाम्रो तीनै स्तरको चुनावअगाडि नै नेपालका राजनीतिक नेताको स्तर पहिचान गर्न पाए आम नेपाली जनताले आफ्नो अधिकार प्रयोग गरेर गरेको मतदानको समेत पूर्ण उपयोग हुने थियो कि भन्ने अपेक्षा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्