नाडाललाई ग्रान्डस्लाम उपाधि नम्बर २१



मेलबर्न, (एजेन्सी) ।

स्पेनका राफायल नाडालले अस्ट्रेलियन ओपन आइतबार जितेका छन् । नाडालले पहिलो दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याएर उपाधि हात पारेका हुन् । यो उनको करियरको २१औं ग्रान्डस्लाम उपाधि हो भने अस्ट्रेलियन ओपनमा दोस्रो उपाधि हो । उनले रुसका डेनिएल मेदभेदेभलाई पाँच सेटमा हराए । मेलबर्नमा साँझ शुरू भएको खेल मध्यरातिमा सकिएको थियो ।

यो उपाधिसँगै नाडाल मेन्स सिंगल्सतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडी पनि बने । यसअघि सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररसँग २०/२० ग्रान्डस्लाम उपाधिको बराबरी कीर्तिमानमा उनी साझेदारी थिए । यो उपाधिले उनलाई जोकोभिच र फेडेररलाई पछि पार्न मद्दत पुर्याएको छ ।

मेदभेदेभ पहिलो दुई सेट जितेपछि नाडालको २१औं कीर्तिमानी ग्रान्डस्लाम उपाधि जित्ने योजना विफल पार्न अग्रसर थिए । तर, नाडालले सानदार खेल देखाएर मेदभेदेभविरुद्ध तेस्रो सेट जिते । चौथो सेटमा पनि नाडालले जितेपछि खेल निर्णायक सेटमा पुग्यो । उक्त सेटमा पनि नाडाल नै हावी बनेपछि थकित मेदभेदेभले खेलमा फर्कने कुनै पनि मौका पाएनन् ।

प्रतिक्रिया दिनुहोस्