बहुउद्देश्यीय संघको साधारण सभा रोक्न अन्तरिम आदेश



ललितपुर (नेस) ।

जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औं साधारण सभा स्थगित गर्न आदेश दिएको छ । संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरूको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए । उनले बुधबार बिहान पत्रकार सम्मेलन आयोगना गरी साधारण सभा गर्ने बताउनुभएको थियो । संघको नियम विपरीत साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा हाललाई नगर्नु नगराउनु र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

सो आदेशपछि सचिव तिमल्सिनालगायतको समूहले गर्ने साधारण सभा स्थगित भएको छ । न्यायाधीश चुरामन खड्काको एकल इजलासले साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउने लगायतका विषयहरू उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ–‘कोभिड संक्रमण तीव्र गतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जनाभन्दा बढी भेला गर्नसमेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ । संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुङ्टो लगाउन बाँकी रहेको र र कोभिड महामारीको अवस्थामा साधारण सभा गर्न उचित नभएको जानकारी गराउँदै सूचना जारी गरेको अवस्थामा एकपक्षीय रूपमा साधारण सभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको उल्लेख गर्नुभयो । विभागमा उजुरीको किनारा लाग्न बाँकी रहेकै अवस्थामा सचिव तिमल्सिनाले अन्य पदाधिकारीको हवाला दिएर सभा गर्न लागि परेका थिए ।

संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएको थियो । उपाध्यक्षसहितको बहुमत भनिएका सदस्यले अध्यक्षको स्वीकृतबिना लोगो, ब्यानर प्रयोग गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्