मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अधिकारी



काठमाडौं, (नेस) ।

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारीलाई नियुक्त गरिएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साताअघि नै अनिवार्य अवकाश भएको थियो । आइतबारबाट निर्देशकको जिम्मेवारी सम्हालेको बताउँदै डा. अधिकारीले भन्नुभयो– ‘पाटन अस्पतालको सुधारको लागि अझ योजनाबद्ध ढंगले काम गर्नेछु । डा. अधिकारी प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुन् ।’

नेपाल सरकारको केन्द्रीय मानसिक अस्पतालका रूपमा वर्गीकरण गरिएको मानसिक रोग अस्पताल पाटन हाल ५० बेडमा सञ्चालन भइरहेको छ । बिरामीको चापअनुसार अस्पतालका लागि उक्त बेड संख्या अपर्याप्त भएको निर्देशक डा. अधिकारी बताउनुहुन्छ । ‘बिरामीको चापअनुसार अस्पतालको भौतिक संरचनासमेत अपुग छ । अब भौतिक संरचनालाई सुधार गरेर एक सय बेड बनाउने योजना छ’ –डा. अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्