छाना र बेन्च नै नभएको भवनमा पठनपाठन

बिरामी पर्न थाल्यौं : विद्यार्थी



सल्यान ।

शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना हावाले उडाएको दुई वर्ष भयो । एकदेखि पाँच कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६३ जना बालबालिका अध्यनरत छन् । छाना उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नभएपछि बालबालिका भुइँको चिसोमा बसेर पढ्न बाध्य छन् । पुस महिनाको चिसो, छाना नभएको विद्यालयभित्र पढ्न बसेका बालबालिका कोठाभित्रै आधा कार्पेट राखेर ‘जता घाम जान्छ त्यतै बसेर’ पढ्ने गर्छन् । विद्यालयमा न त बस्ने बेन्च छ न त छाना नै ।

खुला आकाश र भुइँको चिसोले गर्दा बिरामीसमेत हुने गरेको जनता प्राथमिक विद्यालयका कक्षा–५ मा अध्ययनरत सुशील विकले बताउनुभयो । त्यस्तै, छाना नहुँदा चिसो हुने, पढ्न मन नलाग्ने, पानी परेका बेला विद्यालय बन्द हुने गरेको कक्षा–४ मा अध्ययनरत लक्ष्मी विक बताउनुहुन्छ । वनगाड कुपिण्डे नगरपालिकाको महादेव आधारभूत विद्यालयका बालबालिकाको अवस्था पनि योभन्दा फरक छैन । भवन जीर्ण हुँदा ठूलो हावाहुरी र पानी परेका बेला भवन भत्किने डरले बालबालिका विद्यालय नै आउँदैनन् ।

यी त केही उदाहरण मात्र हुन् । सल्यानका सामुदायिक विद्यालयमध्ये अधिकांश विद्यालयको अवस्था दयनीय रहेको छ । जीर्ण विद्यालय भवन, शौचालय जीर्ण, खानेपानीको अभाव, घेरवार नहुँदा समस्या त छ नै । तर, त्योभन्दा ठूलो समस्या यहाँ अध्ययनरत बालबालिकाको पुस–माघको जाडोमा कसरी पढ्ने भन्ने चिन्ता छ । विद्यालय मर्मतका लागि सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि ध्यान नदिएको जनता प्राथमिक विद्यालय पैयाखर्कका प्रधानाध्यापक डम्बर चलाउनेले बताउनुभयो । दुई वर्षअघि विद्यालयको छाना उडाएपछि वडा कार्यालयदेखि नगरपालिकासम्म मर्मतको गुहार माग्दा पनि पहल नभएको उहाँको भनाइ छ ।

सरकारले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षालाई जोड दिनका लागि विद्यालयमा भौतिक पूर्वाधार बलियो र प्रविधिमैत्री बनाउँदै लैजाने भनेर वर्षेनी शिक्षा क्षेत्रमा पर्याप्त मात्रामा बजेट विनियोजन गर्दै आएको भए पनि पनि जीर्ण भएका विद्यालय भवन मर्मत गर्नमा कसैको ध्यान नगएको महादेव आधारभूत विद्यालयका शिक्षक धनबहादुर डाँगी बताउनुहुन्छ ।

विद्यालयमा अनुदान र लगानी बढे पनि सल्यानका अधिकांश विद्यालयमा भौतिक पूर्वाधार नै गतिलो नभएको शिक्षा विकास समन्वय एकाइका एकाइ प्रमुख लालबहादुर घर्तीले बताउनुभयो । सल्यानमा ४ सय ४३ प्राथमिक सामुदायिक विद्यालय र ५१ संस्थागत विद्यालय छन् भने ८९ वटा माध्यमिक विद्यालय छन् । साविकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका काम कारबाही अहिले सबै जिम्मेवारी स्थानीय तहमा गएकाले कार्यालयले केही गर्न नसकेको उहाँको कथन छ । ‘जिल्लाका कतिपय विद्यालयमा शिक्षक छन् विद्यार्थी छैनन्, कतै विद्यार्थी छन् शिक्षक छैनन्’, एकाइ प्रमुख घर्ती भन्नुहुन्छ– ‘विद्यार्थी र शिक्षक भएको विद्यालयमा भौतिक संरचना अभावले पढाइ प्रभावित भएको छ ।’

शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई आए पनि बजेट अभावका कारण विद्यालयको पूर्वाधारलाई जोड दिन नसकेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो । स्थानीय तहले वर्षेनी लाखौं रुपियाँ शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएका र स्तरीय भवन निर्माण, ई–हाजिरी, सीसी क्यामरा जडान तथा विद्यालयहरुमा ल्याप्टप वितरण गर्दै आएको उहाँले बताउनुभयो । बाँकी रहेका सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्