जोखिमपूर्ण यात्रामा सुर्खेत अगाडि



बाँके ।

मानव बेचविखन तथा ओसार–पसारका लागि हुने जोखिमपूर्ण यात्रामा सुर्खेत जिल्ला अगाडि देखिएको छ । माइती नेपाल नेपालगन्जले नेपालगन्ज नाकाबाट फिर्ता गरेको र खोजतलासका लागि परेको निवेदनलाई आधार मान्दा सन् २०२१ मा जोखिमपूर्ण यात्रामा सुर्खेत अगाडि देखिएको हो ।

विगतका वर्षहरुमा बाँके, बर्दिया र दाङ जिल्ला अगाडि रहँदै आएकोमा यो वर्ष सुर्खेत अगाडि आएको छ । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार जोखिमपूर्ण यात्रामा निस्केका ४ सय ३४ जनालाई नेपालगन्ज नाकाबाट घर फिर्ता पठाइएको छ । नेपालगन्ज नाकाबाट घर फिर्ता हुनेमा सुर्खेतका ६५ जना छन् । दाङका ६१, बाँकेका ५६, बर्दियाका ४६, दैलेखका ३२ र सल्यानका २३ जना रहेका छन् । माइती नेपालले प्रहरीसँग मिलेर नेपालगन्ज नाकामा शंकास्पद यात्रामा निस्केका महिला तथा बालबालिकालाई घर फिर्ता गर्ने गर्दछ । नेपालगन्ज नाकाबाट घर फर्किने दैलेख र सल्यानका पनि बढेका छन् । जोखिमपूर्ण यात्रामा गइसकेकाहरुका आफन्तीले खोजतलासका लागि निवेदन दिने गर्दछन् । आफन्तीको खोजतलासका लागि ५ सय २५ जनाले निवेदन दिएका छन् । त्यसमा २ सय ३ जना फेला परेका छन् । अरू कहाँ गए थाहा हुन सकेको छैन ।

खोजतलासको निवेदनमा पनि सुर्खेत नै अगाडि देखिन्छ । सुर्खेतबाट ८७ जनाले खोजतलासका लागि निवेदन दिएका छन् । त्यस्तै, बाँकेबाट ८७, दाङबाट ८४, बर्दियाबाट ६७, दैलेखबाट ४७ र सल्यानबाट २८ जनाको खोजतलासको निवेदन परेको छ । नेपालगनज नाका हुँदै भारततर्फ लागेका महिला तथा बालबालिकाका आफन्तले केही वर्षसम्म आफन्ती सम्पर्कमा नआएपछि वा जोखिमपूर्ण काममा परेपछि खोजतलास र उद्धारका लागि निवेदन दिने गर्दछन् । ५ सय २५ जनामध्ये फेला परेका २ सय ३ जनाको भारतबाट उद्धार गरिएको माइती नेपाल नेपालगनजका संयोजक कोइरालाले जानकारी दिनुभयो । ‘अरूको हामीले खोजतलास गरिरहेका छौं । फेला परेको छैन ।’ –उहाँले भन्नुभयो । भारत तथा तेस्रो मुलुकबाट उद्धार गर्न धेरै गाह्रो छ । राज्यस्तरमा उद्धारको संयन्त्र छैन । संघ–संस्थाले उताका संघ–संस्थासँग मिलेर उद्धार गरिरहेका छन् ।

विगतमा नाकाबाट उद्धार गर्ने बढी र खोजतलासको निवेदन कम पर्ने गरेकोमा यो वर्ष त्यसको विपरीत भएको छ । कोभिडका कारणले गर्दा यस्तो भएको कोइरालाको भनाइ छ । माइती नेपालमा महिला तथा बालबालिका सम्पर्कविहीन भएको भन्दै खोजतलासको निवेदन पर्ने गरेकोमा यो वर्ष तीन जना पुरुष भारतमा बन्धक भएकाले उद्धारका लागि निवेदन परेको छ । यो वर्ष गर्भाशय बेचविखनको घटना पनि बाहिर आएको छ । यस विषयमा बुझ्ने काम भइरहेको कोइरालाले बताउनुभयो ।

रोजगारीका लागि भन्दै फकाइफुलाई भारतमा पुर्याई एउटा भवनमा राखेर जबरजस्ती गर्भाशय बेचविखन गरेको घटना बाहिर आएको र त्यसलाई परामर्श र कानुनी उपचार आफूहरुले दिइरहेको कोइरालाले बताउनुभयो । यस्ता घटनाहरु अरू पनि भएका आशंका रहेको बताउँदै पहिलोपटक आएको यो घटनामार्फत अरू पनि बुझ्ने काम भइरहेको उहाँको कथन छ । गर्भाशयको बेचविखन स्वेच्छिक, मोटो रकम दिएर वा बन्धक बनाएर हुने गरेको पाइन्छ ।

यो वर्ष खोजतलासको निवेदनमा धेरैजसो सामाजिक सञ्जालको प्रयोगबाट जोडिएको पाइएको छ । पछिल्लोपटक दलालको कार्य क्षेत्र पहाडी जिल्लातिर सरेको तथ्यांकले देखाएको छ । राम्रो काम र दाम पाइने भन्दै कोहीमार्फत भेटेर वा सामाजिक सञ्जालबाट जोडिएर युवतीलाई जोखिमपूर्ण यात्रामा लैजाने गरेको घटनाहरुले देखाएको छ । जोखिमपूर्ण यात्रामा गरिब, अशिक्षित मात्रै नभई शिक्षित परिवारका युवती पनि फसेका छन् । शिक्षिक परिवारका युवतीहरु विवाह वा घुम्न जाने नाममा जोखिमपूर्ण यात्रामा निस्किने गरेका छन् ।

जोखिमपूर्ण यात्रामा निस्किने महिला तथा बालबालिकालाई रोक्नका लागि नेपालगन्ज नाकामा आधा दर्जन बढी संघ–संस्था क्रियाशील रहेका छन् । त्यसका बाबजुद महिला तथा बालबालिका भारत तथा तेस्रो मुलुक पुगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्