नाकामा विशेष निगरानी, मलेरियाको जाँच



बाँके, (नेस) ।

भारतका आधा दर्जन शहरबाट आएका नेपालीलाई नेपालगञ्ज नाकामा विशेष निगरानी राख्दै मलेरिया जाँच गर्ने गरिएको छ । भारतबाट आएका तीन जनामा मलेरिया देखा परेपछि नाकामा मलेरिया जाँचलाई कडाइ गरिएको हो । नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले साउन, भदौ र कात्तिकमा भारतबाट आएका तीन जनालाई मलेरिया देखिएपछि भारतको पञ्जाव, चण्डीगढ, गुजरात, मुम्बई र दिल्लीबाट आएका नेपालीलाई मलेरिया जाँच गर्ने गरिएको बताउनुभयो ।

नेपालगञ्ज नाकामा कोभिडसँगै मलेरिया जाँच गर्ने गरिएको छ । चैत्रदेखि नै यो क्रम चलिरहेको छ । ल्याब टेक्निसियन ज्ञवालीका अनुसार, बाँके, बर्दिया र कैलालीका एक÷एक जनालाई मलेरिया देखिएको छ । बाँकेकालाई पीभी (प्लाज्मोडिएम भाइभेक्स), बर्दिया र कैलालीका व्यक्तिलाई पीएफ (प्लाज्मोडिएम फाल्सीफरम) देखिएको थियो । मलेरिया देखिएका व्यक्ति र उसका घरपरिवारका सदस्यलाई नै उपचार र सर्वे गरिएको छ ।

नेपालगञ्ज नाकाबाट धेरै मानिस कालापहाड, सिमला, प्रयाग जाने गर्दछन् । कर्णाली प्रदेशका पहाडी जिल्लाका धेरैजसो मानिस यी शहरमा जाने गर्दछन् । यी ठाउँबाट आएका व्यक्तिलाई मलेरिया देखा परेको छैन । मलेरियामा लामखुट्टे पाइने ठाउँमा देखिन्छ । ल्याब टेक्निसियन ज्ञवालीले सिमलाबाट आएका धेरै मानिसलाई जाँच गर्दा मलेरिया नदेखिएपछि अहिले सिमलाबाट आएकालाई जाँच्न छोडिएको जानकारी दिनुभयो । ज्ञवालीले भन्नुभयो – ‘हाम्रो फोकस पञ्जाव, चण्डीगढ, गुजरात, मुम्बई र दिल्लीबाट आएका व्यक्तिमा छ । यी शहरबाट आएका नेपालीलाई हामीले सोधीसोधी मलेरिया जाँच गर्ने गरेका छौं ।’

बाँकेमा भारतबाट आएका १३ हजार मानिसलाई मलेरिया आरडीटी जाँच गरिएको छ । गर्मी बढी हुने र लामखुट्टे लाग्ने भएकाले बाँकेमा मलेरियाका बिरामी देखिने गर्दछ । गतवर्ष बाँकेमा मलेरियाका ४२ जना बिरामी थिए ।

नेपालगञ्ज नाकामा कोभिडसँगै मलेरियाको जाँच हुने गर्दछ । यो नाकाबाट क्षयरोगको पनि जाँच हुने गर्दछ । ल्याब टेक्निसियन ज्ञवालीले ५ सय २६ जनालाई जाँच गर्दा ६ जनामा क्षयरोग देखिएको बताउनुभयो । भारतबाट आउने मानिसलाई अहिलेसम्म डेंगु र कालाजारको जाँच हुन सकेको छैन । मलेरिया, डेंगु, कालाजार, क्षयरोग भारतमा काम गरेर फर्किने नेपालीमा देखिने गर्दछ । कोभिडसँगै यी सबैको जाँच गर्ने भनिए पनि अझै नाकामा सबैको जाँच हुन सकेको छैन । जाडो महिना शुरू भइसकेकाले तत्काललाई भने गर्मी र लामखुट्टेका कारण हुने संक्रमणको डर कम भएको छ । यद्यपि, बाँकेमा तीन÷चार महिनामात्रै लामखुट्टे देखिँदैन । मंसीरदेखि फाल्गुनसम्म यहाँ लामखुट्टे लाग्दैन । अति गर्मी हुने जेठमा पनि लामखुट्टे देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्