नयाँ ढंगले कांग्रेसको सदस्यता वितरण गर्न आग्रह



sf7df8f}F, @* ;fpg . g]kfnL sfFu|];sf] s]G›Lo sfo{;ldltsf] laxLaf/ k|wfgdGqL Pj+ kf6L{ ;efklt z]/axfb’/ b]pjf lgjf; a’9flgns07df a;]sf] a}7s . t:jL/ M /f];g ;fksf]6f, /f;;

काठमाडौं ।

नीतिगत बहस नभए पनि उत्साह, एकता र रूपान्तरण भन्ने नाराका साथ सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिको मूल नेतृत्व पुरानै छ । तर, सभापतिमा शेरबहादुर देउवाबाहेक उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीमा नयाँ मात्र हैन जोसिलो अनुहारहरूको वर्चश्व छ । केन्द्रीय सदस्यमा पनि धेरै नयाँ अनुहारको प्रवेश भएको छ ।

कांग्रेसभित्र नेतृत्वको कार्यक्षमताका कारण अघिल्लो आम निर्वाचनमा लज्जाजनक हार व्यहोर्नुपरेको आरोप लगाउनेदेखि आगामी आम निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता जनाउनेसम्म सबैको सम्मिश्रणको कार्यसमिति बनेको छ । अघिल्लो अधिवेशनदेखि साढेपाँच वर्षको कार्यकालमा पार्टीलाई आन्तरिक एकताका साथ उत्साहपूर्वक रूपान्तरित ढंगले अघि बढाउन नसकेको भन्दै आलोचना गर्ने र आलोचित हुने दुवै यो अधिवेशनबाट नेतृत्व तहमा पुगेका छन् ।

अघिल्लो कार्यकालमा सभापति देउवाले गुट–उपगुट र भागबण्डाको राजनीतिलाई मात्र प्रश्रय दिएको र पार्टीलाई विधि विधानअनुसार अघि नबढाएको भनेर चर्को स्वर गर्ने नेताहरू केन्द्रीय कार्यसमितिभित्र महत्वपूर्ण पदमा निर्वाचित भएका छन् । कांग्रेसभित्र शीर्ष नेताहरूको स्थापित गुट मात्र हैन, प्रभावशाली नेताहरूको थप उपगुट पनि छ ।

महाधिवेशनको नारा संस्थापन पक्षले नै ल्याउने गर्छन् । उत्साह, एकता र रूपान्तरण भन्ने यो अधिवेशनको नारा संस्थापन पक्षले नै ल्याएको हो । कांग्रेसभित्र परिवर्तनका पक्षधर नेताहरूको चाहना पनि यही हो । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य भन्नुहुन्छ– ‘महाधिवेशनको नाराले कांग्रेसलाई यथास्थितिबाट रूपान्तरण गर्छु भन्ने संस्थापन पक्षको प्रतिबद्धता देखिएको छ ।’ कांग्रेसको नीति र नेतृत्व दुवै परिवर्तनको नारा दिएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएका आचार्य यो कार्यसमितिलाई अब फेरि आलोचना खाने छुट नभएको बताउनुहुन्छ ।

कांग्रेसभित्र ‘महारोग’ का रूपमा रहेको क्रियाशील सदस्यता विवाद हरेक अधिवेशनको टाउको दुखाइको विषय हो । यो अघिवेशनमा पनि क्रियाशील विवादले अधिवेशन प्रक्रिया नै धेरैपटक अवरुद्ध भयो । क्रियाशील सदस्यता विवाद हटाउन हरेक अधिवेशन अघि सदस्यता वितरण गर्ने कार्य रोक्नुपर्ने भन्दै केन्द्रीय सदस्य आचार्य भन्नुहुन्छ– ‘१४औं महाधिवेशनसम्म कांग्रेसले अपनाएको सदस्यता वितरणको विधि प्रक्रिया हटाएर नयाँ ढंगले सदस्यता वितरण तत्काल शुरू गरिहाल्नुपर्छ ।’ कांग्रेस विधानमा सदस्यता लिएको एक वर्षपछि क्रियाशीलको आवेदन दिन पाउने र एक वर्षमा पार्टीले आयोजना गरेको ८० प्रतिशत कार्यक्रममा सहभागी हुनेलाई मात्र क्रियाशील सदस्यता दिने भन्ने उल्लेख छ । महाधिवेशनको एक वर्षअघि नै क्रियाशील सदस्यता वितरण रोक्नुपर्ने उहाँको तर्क छ ।

अब पार्टी सम्पूर्ण रूपमा विधिबाट चल्नुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य शंकर भण्डारी भन्नुहुन्छ– ‘विधि विधानले जुनजुन काम जुन अवधिमा गर्नुपर्छ भनिएको छ त्यो त्यो काम त्यही अवधिमा सम्पन्न हुनुपर्छ । विभाग गठनदेखि विभिन्न समितिहरू समयमै गठन गर्नुपर्छ । यसरी विभाग र समितिहरू गठन गर्दा मुलुकभरिका नेता–कार्यकर्ताले न्याय पाएको अनुभूति हुनेगरी गठन गर्नुपर्छ ।’

कांग्रेसभित्र भ्रातृ एवं शुभेच्छुक संघसंस्था सबै डामाडोल छन् । सशक्त भ्रातृसंस्थाका रूपमा रहेको तरुणदल, नेविसंघ, महिलासंघलगायत अधिकांशको अधिवेशन हुन सकेको छैन । भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको निश्चित समय तोकेर तत्काल अधिवेशन गर्नुपर्ने आवाज पनि उठिरहेको छ । केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार आम कार्यकर्ताबाट पनि सकेसम्म स्थानीय तहको निर्वाचनअघि नै सबै भ्रातृ संस्थाहरूको अधिवेशन गरेर चलायमान बनाउन नवनिर्वाचित केन्द्रीय समितिलाई सुझाव आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्