घाँटी रेटी महिलाको हत्या



राजविराज, (नेस) ।

सप्तरीमा पुनः एक जनाको हत्या भएको छ । ८१ वर्षीय एक वृद्धको हत्या भएको महिना दिन नबित्दै छिन्नमस्ता गाउँपालिकामै पुनः एक ५० वर्षीया महिलाको हत्या भएको हो ।

आइतबार साँझ घरबाट खरानी बोकेर खेत पुगेकी वडा नम्बर १ बरही वीरपुरकी भुतनीदेवी यादवको घाँटी रेटी हत्या भएको छ । टाउकोमा वियरको बोतल पनि प्रहार गरिएको अवस्थामा यादव मृत अवस्थामा भटिएको हो ।

रातिदेखि नै खोजतलास गर्ने क्रममा सोमबार बिहान खेतमै उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई जानकारी गराइएको मृतकका पति जमाहिर यादवले बताउनुभएको छ । घटनासँगै तालिम प्राप्त कुकुरको सहायतामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका टोलीले सूक्ष्म अनुसन्धान थालेका छन् । घटना हत्या नै रहेको पुष्टि गर्दै सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले सूक्ष्म अनुसन्धान अघि बढाइएको बताउनुभएको छ ।

यसअघि, गत मंसिर ८ गते पनि सोही गाउँपालिका–६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटी हत्या गरिएको थियो । सो हत्या घटना रहस्यमै रहेको अवस्थामा पुनः अर्को सोही प्रकृतिको घटना हुनुले स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्