डोटीको राष्ट्रिय सभा मतदान केन्द्र कैलाली पुग्यो



डोटी ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र डोटीबाट हटाएर कैलाली जिल्लामा तोकिएको छ । यसअघिका दुईवटा राष्ट्रिय सभा निर्वाचन जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भए पनि अहिले आएर एकाएक मतदान केन्द्र सारिएको हो ।

उच्च अदालत रहेको ठाउँमा नै राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र तोकिँदै आएको भए पनि दिपायल राजपुरमा उच्च अदालत कायमै रहँदा पनि यसपटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलालीमा तोकिएपछि नागरिक अक्रोशित बनेका उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । ‘उच्च अदालत भएका ठाउँमा राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र राखिने प्रस्ट उल्लेख छ, तर हाम्रो जिल्लाबाट मतदान केन्द्र सारियो, हामीलाई मान्य छैन ।’ –उहाँले भन्नुभयो ।

निर्वाचन आयोग नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली र मतदान स्थल, केन्द्र स्वीकृत सम्बन्धमा एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मतदान केन्द्र कैलाली रहेको जानकारी दिएपछि यहाँका नागरिक आक्रोसित बनेका हुन् । पुरानो क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलमा अस्थायी राजधानी कैलाली तोकिएपछि निरास बनेका यहाँका नागरिक पुनः राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र सारिएपछि झनै आक्रोशित बनेका दिपायल राजपुरका स्थानीयवासी नरेन्द्र शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘विभिन्न बाहनामा कहिले राजधानी त कहिले मतदान केन्द्र सारिँदै छ, के दिपायलमा कुनै कार्यालय केन्द्र राख्ने ठाउँ छैन र ? हामी नेपाली नागरिक होइनौं र ?’ पटक–पटक विभिन्न कार्यालय तथा मतदान केन्द्र सारिने कुराले उच्च अदालत पनि दिपायलबाट अन्यत्र लैजाने सड्यन्त्र भएको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्