विद्यालय तहमै खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम



काभ्रे ।

बालबालिकालाई विद्यालयस्तरमै कोभिडविरुद्धको खोप लगाउने गरी स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहका खोप कार्यकर्ता तथा स्वास्थ्यकर्मीहरूलाई एकदिने तालिम दिइरहेको छ । पुस ८ गतेदेखि शुरू भएको तालिम १४ गते समापन हुनेछ ।

हरेक पालिकाबाट सहभागीहरुलाई दिनभर खोपका बारेमा जानकारी गराउँदै तयारी अवस्थामा रहन अनुरोध गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईंले जानकारी दिनुभयो । ‘बालबालिकालाई सुरक्षित तरिकाले खोप लगाउन, खोपबाट हुन सक्ने सम्भावित जोखिम र अवस्थाको मूल्यांकन गरी तयारी अवस्थामा रहने, खोपका बारेमा सचेत गराउँदै खोप अभियान सम्पन्न गर्ने गरी तयारी गरेका हौं’, उहाँ भन्नुहुन्छ– ‘७ दिनसम्म सबै पालिकाका स्वास्थ्यकर्मी र खोप कार्यकर्ताहलाई विद्यालय तहमा पठाउने गरी तयारी गरेका छौं ।’ यसअघि धुलिखेल अस्पतालमा ३ हजार बालबालिकालाई चिकित्सकको निगरानीमा खोप लगाइसकिएको छ ।

बालबालिकालाई खोप लगाउन पुस १३ गतेसम्म तथ्याङ्क संकलन गर्ने गरी काम भइरहेको डा. सेढाईंले बताउनुभयो । १२–१७ उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन स्थानीय तहसँग समन्वय भइरहेको छ । दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ । बालबालिकाहरुलाई खोप लगाइसकेपछि कसैकसैमा सामान्य ज्वरो आउने, केही दिनमै आफैं ठीक हुने, खोप लगाएको स्थानमा सामान्य दुख्ने गरे पनि नआत्तिकन ढुक्क भएर खोप लगाउन अनुरोध गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम पुडासैनीले बताउनुभयो ।

२१ दिनको फरकमा दोस्रो डोज लगाउने गरी तयारी अवस्थामा कार्यालयले व्यवस्थापन गरेको छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई कोभिडविरुद्धको खोपले थप सहजता प्रदान गर्नेछ । सरकारले ६० वर्षभन्दा माथि उमेर समूहकालाई बुस्टर डोज लगाउने तयारी गरेसँगै स्वास्थ्य कार्यालय काभ्रेले तथ्यांक अपडेट गरिरहेको छ ।

जिल्लामा १ लाख ९१ हजार १ सय ५७ जनाले पूर्ण खोप लगाएका छन् भने १ लाख ९९ हजार ५ सय ७२ जनाले पहिलो मात्राको खोप लगाएका छन् । फाइजर खोप लगाउनेको संख्या ३ हजार छ । जिल्लामा कोभिडबाट १ सय ९३ जनाले ज्यान गुमाएका छन् । १४ हजार ७ सय ८० संक्रमित हुँदा अझै २५ सक्रिय संक्रमित छन् । १४ हजार ५ सय ६२ जना निको भएका छन् । संक्रमित हुनेमा महिला ६ हजार ७ सय १ जना र पुरुष ८ हजार ७९ जना रहेको डा. पुडासैनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्