पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठनमा समस्या



बैतडी ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भइरहेको छ । गत असोज पहिलो साता परेको अविरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको थियो ।

विद्यालय भवन भत्किएपछि गएको ३ महिनादेखि खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएको विद्यालयकी प्रधानाध्यापक निर्मला चन्दले बताउनुभयो । विद्यालयको ७ कोठे भवन पहिरोले भत्काएपछि निकै समस्या भइरहेको कथन छ । ५ कक्षासम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय भत्केको ठाउँमा चौरसमेत नभएकाले झण्डै १ किलोमिटर टाढाको खोलाकिनारको चौरमा पठनपाठन भइरहेको हो ।

बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्दा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको छ । प्रधानाध्यापक चन्दले भन्नुभयो– ‘विद्यार्थीलाई पढाउनका लागि ह्वाइट बोर्ड राख्ने ठाउँ छैन, घाम–पानी परेका बेला ओत लाग्ने ठाउँ छैन, विद्यालयमा भएका सबै फर्निचरलगायतका सामग्री पनि पहिरोले नष्ट भएका छन् ।’ घाम नलाग्ने ठाउँमा राख्दा पनि चिसो हुने गरेको उहाँ बताउनुहुन्छ ।

पहिरोले विद्यालयको ७ कोठे भवन भत्काएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा पत्राचार गरेर विवरण बुझाएको भए पनि तीन महिनासम्म पनि केही पहल नभएको प्राधानाध्यापक चन्दको गुनासो छ ।

यता, पञ्चेश्वर गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइले भने विद्यालय पुनर्निर्माणका लागि पहल भइरहेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष बिना भट्टले विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको र छिट्टै विद्यालय भवन निर्माण थालिने बताउनुभयो । ‘विद्यालय भवन भत्किँदा समस्या भएकाबारे हामीलाई जानकारी आएको छैन, गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले प्रदेश र संघ सरकारसँग माग गरेका छौं ।’ –उहाँले भन्नुभयो ।

यस्तै, शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले पनि क्षतिको विवरणबारे माथिल्लो निकायमा जानकारी गराइसकेकाले छिटै काम हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्