प्रदेशमा केन्द्रकै सिको : एमालेद्वारा संसद् लगातार अवरुद्ध

एमालेको विरोध गर्ने दलहरू एमालेसँगै



हेटौंडा ।

केन्द्रकै सिको गर्दै प्रतिपक्षी नेकपा एमालेले वागमती प्रदेशको प्रदेशसभा बैठक बिहीबार पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले पुनः बैठक अवरुद्ध गरेको हो ।

बैठक शुरु भएलगत्तै नेकपा एमालेका सांसद्हरु उठेर विरोध जनाएका थिए । बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधबार उठाएका प्रश्नहरुको जवाफ नदिएसम्म संसद् चल्न नसक्ने बताउनुभयो । एमालेले हेटौंडा–काठमाडौं सुरुङमार्ग र विद्युतीय बस सञ्चालन प्रक्रिया रोकिएको तथा मन्त्रालयको संख्या वृद्धि गरिएको प्रति आपत्ति जनाएको हो । विपक्षीले लगातार संसद् अवरुद्ध गरिरहँदा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको बताउनुभयो । प्रदेशसभाको बिहीबार बसेको बैठकमा उहाँले प्रश्न उठाएर एमालेका सांसद संसद्मा उपस्थित नभएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान नचाहिने र संसद्को मूल्यमान्यता कार्यान्वयन गर्न सक्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गर्नुभयो । ‘आफैं प्रश्न गर्ने अनि आफैं बैठक छाडेर हिँड्ने ।’ उहाँको प्रश्न थियो ।

मुख्यमन्त्रीमाथि लाञ्छना बोकेर हिँड्नु राम्रो नभएकाले आफ्नो प्रष्टीकरण दिन पाउनुपर्ने बताउँदै आफूले जवाफ दिने कार्यसूची हटाएकोमा उहाँले प्रश्न गर्नुभयो । उहाँले हेटौंडा–काठमाडौं सुरुङमार्ग बजेट अभावले स्थगित गरिएको तर बजेट नहटाइएको स्पष्ट पार्नुभयो । विद्युतीय बस चार्जिङस्टेसन र राम्रो सडक पूर्वाधार नभएसम्म सञ्चालन गर्न नसकिने उहाँको दाबी छ । सरकारले सुरुङमार्ग र विद्युतीय बस सञ्चालनबारे अघिल्लो सरकारको निर्णय हाललाई कार्यान्वयन नगरिने जनाएपछि एमालेका सांसद्हरु आक्रोशित भएका हुन् ।

१ हजार २ सय ९० दिन मुख्यमन्त्री हुने एमालेका डोरमणि पौडेलले ५६ दिन मुख्यमन्त्री बनेको आफूलाई काम गरेन भनेर प्रश्न गर्नु हास्यास्पद भएको उहाँको तर्क छ । उहाँले एमालेकै अष्टलक्ष्मी शाक्यको पालामा १२ मन्त्री रहेको भन्दै एमालेका प्रमुख सचेतक दीपक निरौला नेतृत्वको कार्यदलले मन्त्रालयको संख्याबारे निक्र्यौल गरेको उहाँले बताउनुभयो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बिहीबार प्रदेश उच्चशिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूची रहेको जानकारी गराउनुभएको थियो ।

तर, एमालेले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री पाण्डेले नदिएसम्म संसद् अवरुद्ध जारी रहने सांसद्हरुले बताएका थिए । सभामुख श्रेष्ठले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

एमालेको विरोध गर्ने दलहरू एमालेसँगै
त्यति बेला प्रतिपक्षमा रहेका दलहरुसँगै एमालेले सुरुङमार्ग र विद्युतीय बसको योजना ल्याएको भन्दै विरोध जनाएका दलहरु हाल फेरि प्रतिपक्षमा रहेको एमालेसँग रद्ध गरिएको विरोधमा उभिएका छन् ।

‘बनाउनै नसक्ने’ सुरुङमार्गका लागि बजेट विनियोजन गर्नु र पूर्वाधारबिना विद्युतीय बस खरिद कार्य शुरु गर्नुले सरकार कमिसनको खेलमा फसेको हुन सक्ने भन्दै त्यति बेला एमालेको विरोधमा उत्रिएका प्रदेशसभाका साना दलहरु यति बेला एमालेसँगै बसेर ती योजना रद्ध गरिएको विरुद्ध उभिएका हुन् ।

प्रदेशसभा स्थापनाकालदेखि हालसम्म विवेकशील साझा, राप्रपा र नेमकिपाले मात्र निरन्तर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्