सफलताका लागि सबैभन्दा महत्वपूर्ण कुरा के हो ?



सन् २०२१ मानिसहरूका लागि सहज वर्ष हुन सकेन । यस वर्षमा धेरै मानिसले दुःख पाए । धेरै मानिसको जीवनमा विभिन्न प्रकृतिको परिवर्तन भयो र त्यसमध्ये पनि कतिपय नराम्रो परिवर्तनलाई नै सामना गर्नुपर्यो । कतिपय मानिसहरूले त यो संसारबाटै बिदा लिनुपर्यो । मानिसहरूमा तिनको याद ताजै छ । वास्तवमा के–के मात्रै भएन भन्ने र यो संसारमा ! हेर्ने नै हो भने त यस्ता–यस्ता घटना भए, यस्ता–यस्ता कुराहरू भए कि कुरै नगरौँ !

तथापि, कुनै न कुनै तरिकाबाट यो वर्ष पनि बित्यो । अनि, जब सङ्कटपूर्ण समयले घेर्छ तब सधैँ याद गर्नुपर्ने कुरा त के हो भने, हजारौँ वर्षपहिला भगवान् रामका रूपमा कोही आएका थिए अनि तिनको जीवन कति सङ्कटग्रस्त थियो त ? तथापि, उनले पनि ती सबै सङ्कटलाई कुनै न कुनै रूपमा सहनुपर्यो । सङ्कटको कुनै कमी नै थिएन । हामी त एउटा सङ्कट आउँछ, दोस्रो आउँछ तब आत्तिन थाल्छौँ तर उनले कति धेरै सङ्कटको सामना गर्नुपरेको थियो ।

मेरो भनाइको अर्थ के हो भने, यो संसारमा सङ्कट आइरहन्छ । तथापि, कतै न कतै मानिसमा त्यो सङ्कटलाई सामना गर्न सक्ने क्षमता हुन्छ । यी सङ्कटले घेरिइरहँदा पनि ऊ आफ्नो जीवनमा अघि बढ्न सक्छ । मानिसको मनभित्र धेरै कुरा खेल्छ । कहिले केही कुरा त कहिले केही कुरा । कहिले दाजुभाइको कुरा त कहिले साथीभाइको कुरा । कहिले आमाको कुरा त कहिले बुवाको कुरा । भित्र कोलाहल मच्चिएको जस्तो हुन्छ । कोलाहल केको भने यो यस्तो हुनुपर्छ, त्यो त्यस्तो हुनुपर्छ, यो यस्तो हुनुपर्छ, त्यो त्यस्तो हुनुपर्छ ।

यो दुनियाँलाई एउटा साधन प्राप्त भएको छ । त्यसलाई ‘सामाजिक सञ्जाल’ भनिन्छ । मानिसहरूले आ–आफ्ना तर्कबाज छाँट्ने ठाउँ । कुन कुरालाई अघि राखिरहेका छन् ! ‘कसैले शान्तिको कुरालाई अघि राखेको छ ? कसैले हरेक दिन कसरी जिउने, मानिस भ्रमित नहोओस् भन्नका लागि कहाँबाट शक्ति ग्रहण गर्ने ?’ भन्ने कुरालाई त अघि राखिरहेको छैन । यस्तो–यस्तो कुरालाई प्रदर्शन गरिरहिएको हुन्छ, जसबाट मानिस अझैँ धेरै भ्रमित भइरहेको छ । अनि, यस्तो कहिलेसम्म होला ? थाहा छैन । यी सबै कुरा मानिसलाई मन पर्छन् । जुन चीजलाई मन पराइनुपर्ने हो त्यो त अघि आइरहेको छैन । जुन कुरा प्रदर्शित भइरहेको छ, त्यसले मानिसहरूलाई अझैँ भड्काइरहेको छ अनि त्यही कुरा सबैलाई मन परिरहेको पनि छ । त्यसो भए, यो समस्याबाट कसरी मुक्त हुन सकिन्छ ? सोच्नुपर्ने कुरा हो । बुझ्नुपर्ने कुरा हो ।

मानिसको भनाइ त के छ भने, सन् २०५० सम्ममा धर्तीमा भइरहेको अत्याचार तथा प्रकृतिमा भइरहेको अत्याचारलाई रोक्न सकिन्छ । किन ? आज किन रोक्न सकिँदैन ? अहिले जसले २०५० सम्ममा यो समस्यालाई हल गर्ने भनेर बाचा गरिरहेका छन् तर जब २०५० आउनेछ त्यतिखेर यी मानिसहरू त रहनेछैनन् । नयाँ मानिसहरू आउनेछन् । नयाँ मानिसहरूले के भन्नेछन् भने, हामीले त कहिल्यै भनेकै छैन । त्यसका लागि थप १०० वर्ष अझैँ लाग्ने कुरा गर्लान् । तबसम्म त यहाँ केही पनि बच्नेछैन । किनभने मानिसलाई आफ्नै कदर छैन । जब आफ्नै कदर छैन भने उसले कुन चीजलाई कदर गर्न जान्दछ र ! जब उसले आफ्नै कदर गर्न सक्दैन, आफ्नो परिवारको कदर गर्न सक्दैन, आफ्ना इष्टमित्रको सम्मान गर्न सक्दैन भने कसको इज्जत गर्न सक्छ र ? उसलाई पृथ्वीको पनि कुनै कदर छैन । फोहोर फालिरहेका छन् ।

मानिस पुगेसम्मका स्थानमा सबैलाई दुःख नै दिइरहेको छ । मानिस स्वयम् त दुःखी छँदै छ तर उसले सबै पशुहरूदेखि सारा पन्छीहरूलाई समेत दुःखी तुल्याएको छ ।

यस्तो अवस्थामा कसरी यो भित्रको होहल्लालाई बन्द गर्न सकिएला ? मानिसहरूको भनाइ त के छ भने, यो आवाजका कारणले हामी वास्तविकतालाई बोध गरिरहेका छैनौँ । वास्तवमा यो यति ठूलो आवाज हो, यति ठूलो कोलाहल हो, किनभने यसैका कारणले तपाईँभित्रको साँचो आवाजलाई तपाईँ सुन्न सक्नुहुन्न । तपाईँको हृदयमा भएको आवाजलाई तपाईँ सुन्न पाइरहनुभएको छैन । तपाईँ अन्य चीजको आवाजलाई सुनिरहनुभएको छ । यी सबै आवाजलाई सुनिरहनुभएको छ, तथापि तपाईँले आफ्नै आवाजलाई आजसम्म सुन्नुभएको छैन । त्यो आवाजले एकै चीजका बारेमा प्रार्थना गर्दछ । त्यो प्रार्थना के हो भने, आफ्नो जीवनमा वास्तविक सुख र वास्तविक शान्ति हुनुपर्दछ । नक्कली होइन, वास्तविक शान्ति । कुराहरूको शान्ति होइन, देशहरूका बीचको शान्ति होइन, बाहिरतिरको शान्ति पनि होइन । भित्री हृदयको शान्ति हुनु आवश्यक छ ।

दीपावलीमा मानिसहरूले दियो बाल्छन् । खुशी मनाउँछन् अनि आजको दिनमा पनि मेरो जीवनमा फेरि त्यो सुख, त्यो शान्ति आयो भने यो दिनमा पनि यस्तो दीपावली आउनेछ, यस्तो दीपावली आउनेछ कि कुरै नगरौँ । यो ज्ञानले यही कुरालाई सम्भव तुल्याएको छ । यो ज्ञानद्वारा हरेक दिन मानिसका लागि दीपावली सम्भव हुन्छ, किनभने ऊ आफ्नो घरभित्र पुग्न सक्छ । हृदयभित्रको उसको आफ्नो घरसम्म ऊ स्वयम् पुग्न सकोस् । वास्तविक चीजलाई उसले चिनोस् अनि पहिचान गर्न सकोस् । त्यो होहल्लालाई बन्द गरेर उसले त्यो आवाजलाई सुन्न सकोस्, जुन उसको आफ्नै आवाज हो । त्यसले भनिरहेको छ– तिमी शान्तिलाई स्वीकार गर ! शान्तिको अनुभूति गर । आफ्नो जीवनलाई सफल बनाऊ ।

एकदिन सबैले जानु त छ नै । कोही आज गयो, कोही भोलि जानेछ त कोही जानका लागि तयार छ । कोही जानका लागि तयार नहुन पनि सक्छ तर जान त उसले पनि जानै पर्छ । सबैले जानुपर्छ । यद्यपि हामी त कहिल्यै जानै पर्दैन भनेजसरी जीवन जिइरहेका छौँ ।

यो कानुन कसले बनायो ? या त आफ्नो जीवनमा शान्ति प्राप्त गर्नुहोस् या तपाईँ यो दुनियाँमा सफलता हासिल गर्नुहोस् । वास्तवमा यी दुवै कुरा सम्भव छन् । तपाईँ आफ्नो जीवनमा शान्ति पनि प्राप्त गर्न सक्नुहुन्छ अनि सफलता पनि प्राप्त गर्न सक्नुहुन्छ । तथापि, कसैले कानुन बनाइदिएको छ अनि सबैले यो नै कानुन हो भनेर बुझ्दछन् । अनि, यो कानुन सही कानुन होइन । यो केवल एउटा अफवाहमात्र हो । तपाईँको कानको बीचमा आवाज बजिरहेको छ । त्यसको एउटा हिस्साले के भनिरहेको छ भने, ‘सफलता आवश्यक छ । शान्ति म पछि प्राप्त गरौँला ।’ वास्तवमा दुवै कुरा सम्भव छ । यदि तपाईँका दुवै खुट्टा दुखिरहेका छन् अनि तपाईँलाई भोक पनि लागिरहेको छ भने तपाईँ बसेर खान सक्नुहुन्छ । त्यसपश्चात् खुट्टालाई पनि आराम मिल्छ अनि पेटमा मुसा कुदिरहेको भए त्यो पनि शान्त हुन्छ । यो त सम्भव छ नि ! बसेर पनि खान सकिन्छ या त उभिएर पनि खान सकिन्छ अर्थात् हिँड्दाहिँड्दै पनि खान सकिन्छ । तपाईँले एउटै मात्र काम गर्नुपर्छ भन्ने कानुन त छैन । तपाईँ दुवै कुरा गर्न सक्नुहुन्छ । हो, यस्तै तवरले शान्ति पनि सम्भव छ अनि सफलता पनि यस संसारमा सम्भव छ । सबैभन्दा बढी कुन कुरालाई जोड दिनुपर्ला ? सफलताका पछि लाग्नुभयो भने व्याकुलता प्राप्त हुन्छ । शान्तितर्फत मोडिनुभयो भने शान्ति नै प्राप्त हुन्छ । सफलताका पछि लाग्नुभयो भने सबै कुरा हुन थाल्छ, किनभने यदि सफलता प्राप्त भएन र गोडा चिप्लियो भने कष्ट सहनुपर्छ । मानिसहरूले के भन्ने होलान् भन्ने मानसिक चिन्ता पनि हुन थाल्छ । यदि शान्तिलाई चुन्नुभयो भने त्यसबाट आनन्द प्राप्त हुनेछ ।

यदि तपाईँलाई आफ्नो जीवनमा सत्यको आवश्यकता छ भने त्यो सत्य पनि तपाईँभित्रै छ । यो आवाज, यो कोलाहल पनि तपाईँभित्रै छ । यसको कारण पनि तपाईँभित्रै छ । वास्तवमा आफ्नो हृदयको दियोलाई बाल्नु आवश्यक छ । ती रामलाई, ती तपाईँको हृदयमा बास गर्ने सृष्टिकर्तालाई स्वागत गर्नुहोस् । आज मात्रै होइन भोलि पनि । पर्सि पनि । अनि, जबसम्म यो श्वास आइरहेको छ र गइरहेको छ तबसम्म उनलाई स्वागत गर्नुहोस् अनि आफ्नो जीवनमा आनन्द लिनुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल)

प्रतिक्रिया दिनुहोस्