गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनको तयारी



बैतडी ।

करिब ३ दशकदेखि बन्द अवस्थामा रहेको बैतडी–दार्चुलाको सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनः निर्माणको काम थालिएको छ । ३ करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनः निर्माणको काम थालिएको हो । के.एस. कन्सट्रक्सन प्रालि धनगढीले विमानस्थल पुनः निर्माण गरिरहेको छ ।

विमानस्थलमा स्काभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामग्री ढुवानी गर्ने काम भइरहेको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) को काम भइरहेको छ, एक वर्षमा फिलिङ र ग्याबिनको काम सम्पन्न हुनेछ ।’

गोकुलेश्वरमा रहेको विमानस्थल पुनः सञ्चालनमा आए यहाँको पर्यटन विकासका साथै यातायात सेवामा सहज हुने स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकले समेत सेवा पाउनेछन् । उहाँले भन्नुभयो– ‘विमानस्थलले विकट क्षेत्रमा रूपमा रहेको दार्चुलाको यातायात सेवामा सहजता ल्याउनेछ यसका साथै समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसिर २२ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झन्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । यसका साथै आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।

विमानस्थल बन्द हुँदा यसअघि गौचरन र खेलमैदानका रूपमा परिणत भएको थियो । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइड अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुन सकेको छैन । द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।

बन्द रहेको विमानस्थल नेताहरूको सभा, सम्मेलन गर्ने थलो, स्थानीयका लागि खेलमैदान तथा बस्तुभाउको चरन क्षेत्रका रूपमा परिणत भएको दार्चुलाको एक मात्र गोकुलेश्वर विमानस्थलमा अहिले प्रारम्भिक चरणअन्तर्गत फिलिङ र ग्याबिनको कार्य भइरहेको हो । विमानस्थल सञ्चालनका लागि तयारी थालिनुले खुशी लागेको स्थानीयबासी जिज्ञासु खत्रीको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याउन सकेमा जिल्लाको व्यापारिक, सामाजिक एवं रोजगारीका हिसाबले सम्भावना बढ्ने कुरा त छँदैछन्, सँगसँगै दार्चुलाका धार्मिक एवं पर्यटकीय अपी बेस क्याम्प, मालिकार्जुनको शैल्यशिखरधाम, व्यास गुफा, छाङ्गरू, तिंकर भञ्ज्याङ, दुँहुमा निर्माण भइरहेको बन्जीजम्पिङसहित पासा दह, सिद्धटोपी, उकुको महल जस्ता गन्तव्यको प्रवद्र्धन एवं बिस्तारमा निश्चय नै यस विमानस्थलको सञ्चालनले थप टेवा पुग्ने र देशभित्रका तथा बाह्य पर्यटकहरूका लागि समेत दार्चुला नेपालको उत्कृष्ट गन्तव्य बन्न सक्ने कुरामा म ढुक्क छु ।’

विमानस्थल सञ्चालनमा आएमा यहाँको आर्थिक अवस्था सुधार हुने गोकुलेश्वरका व्यापारी हेम विष्टको विश्वास रहेको छ । पर्यटन क्षेत्रको विकासका लागि टेवा पुग्ने होटेल व्यवसायी भुवन भण्डारीको भनाइ रहेको छ । यहाँ थुप्रै पर्यटनको सम्भावना रहेको विमानस्थल सञ्चालनमा आए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनेछ ।

कुमारी बैंक, डिलाशैनी शाखाका प्रबन्धक निरज खरेलले विमानस्थल सञ्चालनमा आउनु आवश्यक रहेको सञ्चालनमा आए सुविधा हुने बताउनुभयो । विमानस्थल पुनः निर्माणको शुरू भएपछि समयमै काम सम्पन्न हुनेमा स्थानीय बासिन्दा आशावादी रहेका छन् । स्थानीय सुरेश श्रेष्ठले भन्नुभयो– ‘काम समयमै पूरा होस्, बजेट थोरै भयो, थप बजेट विनियोजन गरेर काम सन्तोषजनक गर्नु आवश्यक छ, अनुगमनकारी निकायले समय समयमा अनुगमन पनि गरोस् ।’

प्रतिक्रिया दिनुहोस्