अनाथ आश्रमले जुटायो ५० लाखको अक्षय कोष



यमलाल भुसाल, बुटवल  । 

अभिभावक विहीन तथा असहाय बालबालिकाको लागि रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले  ५० लाखको अक्षय कोष स्थापना गरेको छ ।

सडक बालबालिकादेखि अभिभावक विहीन बालबालिकाका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो । बुधवार २५ औं साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन् । अभिभावक विहीन बालबालिकाको नैसर्गिक अधिकारका लागि सबै प्रकारका सहयोग जुटाउने प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले अनाथ बालबालिकाहरूको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भइसकेकाले अब बालबालिकाका हरेक अधिकार र सुविधाप्रति सहयोग पुग्ने उहाँले बताउनु भयो । बालबालिकाहरूको पालनपोषणदेखि शिक्षा, स्वास्थ्य र अन्य अधिकारको विषयमा नगरपालिकाबाट सहयोग हुने उनले बताउनु भयो । आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले आश्रम सबैको सम्पत्ति भएको उल्लेख गर्दै सबैको आर्थिक र भौतिक सहयोगबाट आश्रमले गति लिएको बताउनु भयो ।

अध्यक्ष भण्डारीले आश्रमको अहिले ५० लाख अक्षयकोष रहेको जानकारी गराउँदै कोरोना महामारीका कारण एक करोड पुराउने लक्ष्य पुरा हुन नसकेको र आगामी दिनमा पुर्‍याउने प्रतिबद्धता जनाउनु भयो । आश्रम सञ्चालन र अक्षयकोष पारदर्शी रूपले सञ्चालन भएको बताउँदै आवश्यक अनुसार निगरानी गर्न पनि उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा तिलोत्तमा मिडिया क्लबका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी रमेश पाण्डे, बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, फोरस्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, पत्रकार कृष्ण ढकाल, प्रकृति भट्टराई, सीता बस्ताकोटी लगायतले बोल्दै अनाथ बालबालिकाका लागि आश्रम सञ्चालनमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्